पोखरा/पाँचौँ मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ आजबाट पोखरामा सुरु हुदैँ छ । जुनियर टेनिस मेलाको रुपमा हुन लागेको प्रतियोगिताको तयार सबै पुरा भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा आजबाट प्रतियोगिता हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका पुरुष तथा महिला एकल र सामूहिक गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता संयोजक लोकबहादुर गुरुङका अनुसार प्रतियोगितामा कास्कीका १५ जना खेलाडी सहित करिब ९० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताको तयारी पुरा भएसँगै स्थानिय खेलाडीहरुले यो प्रतियोगितालाई अवसरको रुपमा लिएको बताउँदै यहाँबाट उत्पादित खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको उनले जनाए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ खर्च लाग्ने संघका कोषाध्यक्ष विष्णुबहादुर थापाले जानकारी दिए । उनका अनुसार पोखरामा खेल पर्यटन प्रवद्र्धनका लागि पनि प्रतियोगिता महत्वपूर्ण हुनेछ । विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । साथै, प्रतियोगिताले खेलाडीहरुको जुनियर वरियतामा सुधार ल्याउन समेत सहयोग पुग्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन् । उनले आफ्ना नाति–नातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्ष देखि प्रायोजन गर्दै आएका संघका सचिव भिष्मराज पौडेलले जानकारी दिए ।
प्रतियोगितामा पोखरासहित काठमाडौं, चितवन र बुटवलका खेलाडीहरुको सहभागिता रहने संघका कार्यवाहक अध्यक्ष नविन चालिसेले बताए । प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडीहरुको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पु¥याउने उनको भनाई थियो ।





