पोखरा/ पोखरामा गत माघमा सम्पन्न एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १ करोड ६० लाख ७ हजार ७२५ रुपैयाँ आम्दानी भएको छ ।
पोखरा रंगशालामा आयोजित सो प्रतियोगितामा सबै खर्च कटाएर २२ लाख ६५ हजार १ सय ६ रुपैयाँ बचत भएको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
आम्दानीको मुख्य स्रोतका रुपमा सुश्री मिडिया प्रालीबाट ३० लाख, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाबाट १०१० लाख, टिम प्रवेश शुल्कबाट १ लाख ३५ हजार, सिजनल टिकटबाट ८० हजार, प्रवेश शुल्कबाट ५९ लाख ४९ हजार २ सय ८२ रुपैयाँ र स्वदेश तथा विदेशका विभिन्न संघसंस्था एवं व्यक्तिहरुबाट ४८ लाख ४३ हजार ४ सय ४३ रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत सहभागी टिमको आवास तथा यातायातमा सबैभन्दा बढी ४४ लाख ५७ हजार ६ सय ९८ रुपैयाँ खर्च भएको छ । खेलाडीलाई प्रदान गरिएको पुरस्कार तथा प्रोत्साहनमा २६ लाख ७३ हजार ३ सय २० रुपैयाँ, अतिथि स्वागत सत्कारमा ६ लाख ३२ हजार २ सय ९५ रुपैयाँ, प्रचारप्रसार तथा विज्ञापनमा ४ लाख २५ हजार रुपैयाँ र खेल मैदान व्यवस्थापनमा ३ लाख ६६ हजार रुपैयाँ खर्च भएको कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए ।
अन्य खर्चहरुमा भोजन तथा खाजा खर्च १० लाख ९५ हजार ४ सय ६० रुपैयाँ र विभिन्न सामग्री तथा स्टेशनरी खरिदमा ३ लाख ७ हजार ५ सय ५९ रुपैयाँ खर्च भएको छ । यस्तै सोभिनियर/मायाको चिनोमा ३ लाख ७५ हजार, प्रतियोगिता समारोह व्यवस्थापनमा २ लाख १६ हजार ३ सय ९२, कार्यालय व्यवस्थापनमा २ लाख १६ हजार ४ सय ७०, अस्थाही प्याराफिट मञ्च, टेन्ट र साउण्ड सिस्टममा १९ लाख ३२ हजार ४ सय ७०, खेल मैदान व्यवस्थापनमा ३ लाख ६६ हजार ४६ रुपैयाँ खर्च भएको छ ।
यस्तै स्वयमसेवक परिचालनमा २ लाख ९५ हजार, खेल सामग्री तथा स्टेशनरीमा ३ लाख ५ हजार ५ सय ५९, ट्रफी, मेडल तथा प्रमाणपत्रमा २ लाख १२ हजार ४ सय ८०, बिमा, प्राथमिक उपचार तथा खानेपानीमा १ लाख ६३ हजार ७ सय ७७, जुरी तथा रेफ्रीमा १० लाख १५ हजार ४ सय ६० र खेलाडी सम्मानमा १ लाख ५ हजार ८ सय ७२ रुपैयाँ खर्च भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले सातौं संस्करणको टाइगर कपको मिति छिटै सार्वजनिक गर्ने बताए । ‘काठमाडौंमा यही १० गतेदेखि एनभिए भलिबल हुँदै छ, नेपाल भलिबल संघको सिफारिसमा नै सातौं संस्करणको मिति तय छौं’, अध्यक्ष शर्माले भने, ‘यस पटक प्रतियोगिताको मिति पनि केही अगाडि सर्न सक्छ, विदेशी लिगसँग मिति नजुध्ने गरी उत्कृष्ट टिम ल्याउन लागि पछौं ।’
एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब प्रथम, नेपाल पुलिस क्लब दोस्रो र थाइल्याण्डको किभान्स तेस्रो भएका थिए ।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ प्रथम, नेपाल पुलिस क्लब दोस्रो र पर्वत जिल्ला भलिबल संघ तेस्रो भएका थिए ।




