बागलुङ/नेपाल हाप्किडो संघ गण्डकी प्रदेश तथा बागलुङ जिल्ला हाप्किडो संघको आयोजनामा देशको सातै प्रदेशका खेलाडीबीच खुला प्रतिस्पर्धा तथा प्रशिक्षण शिविर संचालन भएको छ । यो मार्सल आर्ट खेलको एक प्रकार हो ।
बिहिबारदेखि शुरु भएको प्रतियोगिता र शिविरमा सात प्रदेशका १ सय खेलाडी र अफिसियल समेत गरी १ सय २० जना सहभागि छन् । खेल पर्यटनको विकास गर्ने, मार्सल आर्टको प्रशिक्षण संचालन गर्ने र खेलाडीलाई प्रोत्साहन गर्न ढोरपाटनमा उक्त खेल संचालन गरिएको हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले बताए ।
उक्त अवसरमा उपाध्यक्ष तारामाया थापा, स्थानीय शिक्षक चक्रबहादुर अदै, प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य सीता गुरुङ र खेम पुनले शुभकामना दिए ।
गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले बिहिबार उक्त शिविरको उद्घाटन गरिन् । उनले खेलको विकासले युवाक्षेत्रलाई सही मार्गमा हिंडाउने, खेलले देश र विदेशमा चिनाउन सकिने र व्यवसायिक खेलले युवाहरुको रोजगार समेत बढ्ने बताइन् । उनले प्रदेश सरकारले पनि यस्ता खेलको विकासमा योगदान गर्ने जानकारी दिइन् । शिविर शनिबारसम्म सञ्चालन हुने बताइएको छ ।
ढोरपाटनलाई हाइ अल्टिच्युड स्पोटर्स टे«निङ सेन्टर र खेल हबको रुपमा विकास गर्ने संभावनालाई सहभागिले बताएका थिए । सिकार आरक्षको अनुमति लिनुपर्ने प्रावधान र राज्यको लगानीको अभावले ढोरपाटनमा बनेका कतिपय योजना अझै सम्पन्न भएका छैनन् । यसअघि ढोरपाटनमा फुटबलको पनि प्रशिक्षण केन्द्र बनाउने प्रयास भएकोमा अनुमति अभावले बजेट फिर्ता भएको थियो । शितकालिन ओलम्पिकको तयारी खेलका लागि पनि हाइअल्टिच्युट खेल मैदानको महत्व रहेको खेलाडीहरुले बताए ।





