बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घृणा, आक्रोश र संवेदनाहीनताको कोलाहलको अन्त्य होस्

घृणा, आक्रोश र संवेदनाहीनताको कोलाहलको अन्त्य होस्

देखिँदा ठीकठाक तर मानसिक रुपले विक्षिप्तहरुको जमात बढ्दा स्वभाविक रुपले समाज अशान्त बन्न पुगेको हो । यो समस्याबाट मुक्तिका निम्ति तत्काल मनोपरामर्श तथा अन्य कार्यक्रम अगाडि बढाउनु अहिलेको अपरिहार्यता भएको छ ।


  • Dhorpatan News
  • बैशाख १४ २०८३, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मिलित भोजमा एक व्यक्तिले गोली चलाएको घटनाले विश्व तरंगित छ । गोली चलाउने व्यक्ति कम्प्युटर इञ्जिनियर रहेको खुलेको छ भने उनलाई अमेरिकी सुरक्षा दस्ताले नियन्त्रणमा लिएको छ । गोली दागिएका सुरक्षाकर्मी बुलेटफ्रुप ज्याकेटका कारण बाँच्न सफल भएका छन् । भागाभाग भए पनि अमेरिकी राष्ट्रपतिसहितका पत्रकारहरु सो घटनामा सुरक्षित रहन सफल भए । अमेरिकी राष्ट्रपति सम्मिलित कार्यक्रममा कसरी बन्दुकधारीको प्रवेश सम्भव भयो र उनले किन सुरक्षाकर्मीमाथि गोली चलाए भन्ने विषयमा नयाँ जानकारीहरु बाहिरिने क्रम जारी छ । राष्ट्रपति ट्रम्पले ती आक्रमणकारीलाई ‘गम्भीर मानसिक समस्याग्रस्त व्यक्ति’ बताएका छन् । अमेरिकी राष्ट्रपतिको यो टिप्पणील मानसिक समस्याले निम्त्याउने आक्रोश,घृणा र अपराध कर्मको विषयहरु पुनः सतहमा ल्याइदिएको छ ।

मानवीय संवेदनाले नछुने ढुंगाजस्तो मन हुनेको संख्या बढ्दै गएको तथ्य त नेपालकै केही घटनाहरुले पनि पुष्टि गर्न थालेका छन् । अशिष्ट गाली,अर्काको दुःखमा रमाउने, घृणा ओकल्ने र आक्रमणमै उत्रने यो मनोवृत्तिबाट हाम्रो राजनीतिक नेतृत्व पनि अछुतो छैन । त्यसो त, अमेरिकी राष्ट्रपति ट्रम्प स्वयं पनि वचनबाण प्रयोगमा कम्ता छैनन् । आखिर यस्तो किन भइरहेको छ ? मान्छेहरु कसैमाथि छुद्र टिप्पणी गर्दा किन खुसी देखिएको छ ? कसैमाथि गोली चल्दा, युद्धले बालबालिका र एउटा समूहको कत्लेआम हुँदा, घरबारविहीनहरुलाई अझ पीडा दिइँदा, बलात्कार अनि हत्याका घटनामा बढोत्तरी हुँदा पनि मान्छेले किन त्यसविरुद्ध चुइँक्क गरेको छैन ? यो प्रश्नको उत्तर खोज्न बदलिँदो मानसिकताकै अध्ययन गर्नुपर्ने हुन्छ । पछिल्लो विश्व भागदौडमा रुमल्लिएको छ । महत्वाकांक्षाको यो भागदौडमा सामेल भएकाहरुसँग आफूलाई केन्द्रमा राख्ने र आफूबाहेक कसैको पनि मतलव नगर्ने प्रवृत्ति बढेको छ । सामाजिक संजालको प्रयोगले यो मानसिकतालाई अझ आत्मकेन्द्रित बनाइदिँदा मानिस मेसिन बनेको छ र उसले मानवीय भावनाहरु बिर्सेकोजस्तो देखिएको छ । नैतिक मूल्य र मान्यताहरुले काम गर्न छाडेका छन् । सामाजिक, धार्मिक बन्धनहरु कमजोर बनेका छन् । ‘मै खाऊँ, मै लाऊँ’ मनोवृत्तिको व्यापक बढोत्तरी हुँदा मान्छे हिंश्रक बन्न पुगेको छ । देखिँदा ठीकठाक तर मानसिक रुपले विक्षिप्तहरुको जमात बढ्दा स्वभाविक रुपले समाज अशान्त बन्न पुगेको हो । यो समस्याबाट मुक्तिका निम्ति तत्काल मनोपरामर्श तथा अन्य कार्यक्रम अगाडि बढाउनु अहिलेको अपरिहार्यता भएको छ । मानिसलाई घृणा हैन प्रेम,आक्रोश हैन कोमलताको मार्गमा प्रविष्ठ गराउन नैतिक शिक्षा, योग–ध्यानजस्ता गतिविधिमा सामेल गराउन ढिला भइसकेको छ । बिग्रिएको सामाजिक संरचनालाई पुनः नदेखिने र नकोरिएका नैतिक बन्धनमा बाँध्दै यो कोलाहलबाट मानवमात्रलाई बाहिर निकाल्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->