बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भकुण्डेको मितिनी गाउँ ‘सिरुवारी’को यात्रा

भकुण्डेको मितिनी गाउँ ‘सिरुवारी’को यात्रा


  • याम बहादुर थापा मगर
  • बैशाख १४ २०८३, सोमबार

आलेखको आरम्भ
फुर्सदको समयमा घुम्ने रहर मनमा योजनाबद्ध तरिकाले आउँछ । तर जिवनसंगिनी रुपकदेवी थापा मगरको कम घुम्ने बानीेले एक्लै नयाँ नयाँ गाउँ र शहरहरु भम्रण गर्ने रहर खाली रहरमा मात्र सिमित भएको छ । तर पनि नयाँ स्थानहरुमा आफु नगएको छ भने घुम्न बाँकी स्थलहरुको नामावलीमा खाली डायरीका पानाहरुमा र मोबाइलको नोटमा टाइप गरेर गुगलमा जाने बाटो खोज्न थाल्छु । बागलुङ भकुण्डे गाउँघरमा भएका गरेका कला संस्कृतिहरुका बारेमा अनुसन्धानमुलक लेख तयार गर्ने, कविता लेख्ने, लेख र निबन्धहरु लेखेर प्रकाशित गर्ने सोच र योजना बुन्दै आगामी दिनमा किताब प्रकाशन गर्ने, डिजिटल प्रविधिको प्रयोग गरी सङग्रहका रुपमा अमर कृति बनाउने सोच बनेको छ । नयाँ स्थानहरु भम्रण गर्ने र ज्ञान शिप तथा कला संस्कृतिहरु सिकेर अनुभवी बन्ने बारेमा सधैं चासो र चिन्ता रहन्छ । नयाँ नयाँ अध्ययन गर्ने पुस्तकहरु बाहेक नयाँ र नौला साथीहरु बनाउने नियमित कार्यजस्तो बनेको छ । मैले सिरुवारी सामुदायिक होमस्टे सञ्चालक उर्मिला गुरुङको मोबाइल नम्बर भकुण्डे सामुदायिक अतिथि होमस्टेका सञ्चालक खिमबहादुर थापामार्फत हात पारे । सुनिता गुरुङको मोबाइलमा सिधैं ह्रवाटस् एपमा म्यासेज पठाए कि म र मेरो जिवनसाथी रुपकदेवी थापा मगर पर्वत फलेवास हुँदै कार्कीनेटा–सिरुवारी घुम्न आउने खालको योजनाको जानकारीमुलक खबर पठाएको तीन÷चार दिनपछि उर्मिला गुरुङले फोन गर्नुभयो । फोनमा कुराकानी हुँदा आफु चितवन नारायणगढ भएको तर फलेवास पर्वतबाट आउन सकिने भन्ने जानकारी दिनुभयो । मिति २०८२ साल चैत्र ४ गते शुक्रबार सिरुवारी जाने योजना मुताविक फेरी दोश्रो पटक फोन मैले गरे । कार्कीनेटा पर्वतमा भकुण्डेबाट विवाह भै जानु भएका नेवार समुदायका दिदीहरु हुनुुहुन्थ्यो । ति दिदीहरुलाई भेटघाट गरेर जाने योजना बमोजिम सतिश कुमार श्रेष्ठलाई फोन गरे । सो भन्दा पहिला सरिता श्रेष्ठ थापा बहिनीसँग कार्कीनेटा दिदीहरुको नाम र मोबाइल नम्बर म्यासेन्जरमा माग गर्दा किन हो र भन्दै प्रश्न आएपछि कार्कीनेटा हुँदै सिरुवारी जाने हो भनेपछि मात्र एक जना दिदीको मोबाइल नम्बर पठाएका थिए । फोन वार्ताले फलेवासको बाटो नभई सिधैं ठुलीपोखरीको बाटो हुँदै छोटो बाटो जाने तयारी भयो । वि.स. २०८२ साल चैत्र ५ गते बागलुङ समाज पोखराको पोखरामा साधारण सभा तथा अधिवेशनमा सहभागी हुन जाने योजना समेत थियो ।

सिरुवारीको यात्रासंगै पानीको वर्षा
हामी दुई जना दिउँसो बागलुङ बजारदेखि कुश्मा हुँदै दोबिल्ला चोकबाट पर्वतको फलेवास, ठुलीपोखरी जाने मोटरबाटोमा लाग्यौं । हामी फलेवासतिर नगई उकालो मोटरबाटो ठुलीपोखरीतिर लाग्यौं । बाटो ठाडो उकालो भएपनि पक्की सडक र ग्रावेल सडक भएका कारणले यात्रामा सहजता थियो । तर बिचमा ठुलीपोखरी आउनुभन्दा केही अगाडीबाट पानी आउन थाल्यो । हामीले चिया र खाजा ठुलीपोखरीको बजारमा खायौं । प्लाष्टिक किनेर रेनकोट बनाएर अगाडी बढ्ने काम भयो । ठुलीपोखरीको बसाइमा केही जानकारीहरु लिने काम भयो । त्यसभन्दा अगाडी कार्कीनेटा बजारमा जाने नजिकको बाटो रहेछ । सतिश कुमार श्रेष्ठ भाईलाई फोन गरे । मैले बालापनबाट सुन्दै आएको बजार कार्कीनेटा, पुत्लीखेत, बटौली बजार ऐतिहासिक खाद्यान्न र नुनतेलका लागि प्रख्यात थिए । सिमसिम पानी आएको थियो । भिनाजु गोपीलाल श्रेष्ठ, जेठी दिदी गौ कुमारी श्रेष्ठ, साइली दिदी वेल कुमारी श्रेष्ठ, साइली भिनाजु शिक्षक विनोद श्रेष्ठ, काइली दिदी लछीमा श्रेष्ठ दिदी लगायतसँग छोटो चिनजान नविकरण, भलाकुसारी पश्चात कार्कीनेटामा नै बस्ने हार्दिकतापुर्वकको स्वागतलाई पन्छाउँदै अगाडी सिरुवारीमा पाइला अगाडी बढायौं । हामीले सिरुवारीमा साँझ बस्न आउने बारेमा जानकारी गराइ सकेका थियौं । कार्कीनेटा बजारमा अन्नपुर्ण माध्यमिक विद्यालयको चहलपहलले बजारलाई समेत टेवा पुगेको पायौं । कार्कीनेटा बजारमा फोटोसेसन गर्र्ने अवसरी अविरल पानी परेका कारणले मौका मिलेन । कार्कीनेटाबाट कच्ची मोटरबाटो हुँदै वनैवन भित्रको बाटोबाट चौबाटोमा सोध्दै अगाडी बढदै झिसमिसे साँझमा पटक पटक फोन गर्दै सोध्दै पुग्ने काम भयो । डहरे देउराली डाँडामा पुग्ने बाटोमा हाम्रो पाइला अगाडी बढ्न सकेन । सिरुवारीमा पुग्दा त फोन सम्पर्क र सामुदायिक होमस्टेमा सम्पर्क नगरी आउनेहरुलाई बास पाउन गाह्रो हुन्छ । सधैं सबै सामुदायिक होमस्टेहरु प्याक हुन्छ रे । सिरुवारी सामुदायिक होमस्टेका सचालक समितिका पदाधिकारीसँग सम्पर्क तथा समन्वय गरेर आएमा राम्रो हुने जानकारी दिनुभयो ।

सिरुवारी गाउँमा बसाइ र घुमघाम
साँझ सिरुवारी सामुदायिक होमस्टे नम्बर २३ मा हाम्रो बसोबास गर्ने घर रहेछ । होमस्टेमा जाने बित्तिकै आज त पाहुनाको त्यति चाप छैन भन्दा पनि सो गाउँमा साठी जनाभन्दा बढी पाहुनाहरु आइसकेका थिए । साँझ सामुदायिक होमस्टेमा खाना खाएर साढे आठ बजेबाट सुरु हुने समाज घरको साँस्कृतिक कार्यक्रममा सहभागी हुन जाँदा त हलभरि मानिसहरु जम्मा भईसकेका रहेछन् । पाहुनाहरुको चिनजान तथा परिचय कार्यक्रमपछि हामीलाई सिरुवारी गाउँको मितिनी गाउँ वा भगिनी सम्बन्ध कायम भएको बागलुङ भकुण्डेका पाहुना भनेर सोको गाउँका बारेमा परिचय गराउनु भयो । खादा र मालाले स्वागत पश्चात स्वागत गीतसहित सालैजो गीत, दोहोरी गीत, नाचगान कार्यक्रम, पन्चेबाजा गरेर बालबालिकादेखि वृद्धसम्मका मानिसहरुले भव्य रमाइलो गर्नुभयो । सिरुवारीको साँझको सांस्कृतिक कार्यक्रममा विवेक गुरुङ, विनोद गुरुङ, अदिप गुरुङ, सुनिल गुरुङ, भुतपुर्व भारतिय सैनिक रत्न बहादुर गुरुङ, भुतपुर्व सैनिक चन्द्र बहादुर गुरुङ, बालकृष्ण अधिकारी, सारु मगर, पुर्णिमा गुरुङ, उर्मिला गुरुङ, मुना गुरुङ, किरण गुरुङ, तिलु गुरुङ, हेमा गुरुङ, ममता गुरुङ, सचिन गुरुङ, रेनु गुरुङ, बुनु गुरुङ, गिता गुरुङ, सुनिता गुरुङ, सुनिता परियार, हरिमाया परियार, छलु परियार, विष्णु परियार (मादल), काली परियार, श्रेया गुरुङ, सोनिका सापकोटा, रमिला गुरुङ, माया गुरुङ, डम्मर बहादुर गुरुङ, सन्तोष गुरुङ र सपना गुरुङहरुको समुहको भव्य र सभ्य राती दश बजेसम्म साँस्कृतिक कार्यक्रम हुने रहेछ । मैले परिचय दिने बेलामा समाज घरमा उपस्थित सबैलाई अभिवादन गर्दै चुल्है निम्तोे सिरुवारीको मितिनी गाउँ बागलुङको भकुण्डेमा भनेर निमन्त्रणा गरे । कसै कसैले त हामी आउने हो भन्दै ताली बजाएका थिए । मलाई भकुण्डे गाउँमा पर्यटकको रुची र मितिनी गाउँको प्रचार प्रसार भएकोमा खुशी लाग्यो । भोलिपल्ट बिहान उठ्दा पानी परेको थियो । हामी कोशेली घरमा गएर गुरुङ पोशाक लगाएर फोटो खिच्ने काममा व्यस्त भइयो । एशियाका होमस्टेका पिता स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको घरमा बुहारी उर्मिला गुरुङको घरमा चियापान गर्यौ । स्थानीय गाइडले स्वर्गीय रुद्रमान गुरुङको शालिक भएको स्थान लगेपछि सिमसिमे पानीमा फोटो खिचेर अगाडी बढ्ने काम भयो । मितिनी गाउँ भकुण्डेमा आएका पुर्व शिक्षिका सावित्रा गुरुङको घरमा गएर चियापान समेत गरेर सामुदायिक होमस्टे नम्बर २३ मा आइपुग्दा नौ बजेको थियो । बिहानको खाजा खानपान हामीलाई बिहान आठ बजेभित्र खाजा खाइसक्नुपर्ने नियम रहेछ । तर, सो नियम जानकारी नभएकोले अलि ढिला खाजा खाने काम भयो । नजिकैमा रहेको बुद्ध गुम्बा समेत अवलोकन गर्नै काम भयो । हामी डाँडाको भ्युटावर र सिरुवारी सेतो रंग अग्रेजीमा लेखेको हेर्ने डाँडामा जान सकिएन र अझै अग्लो डहरे देउरालीको डाँडामा जाने तयारी त झन् टाढाको गन्तव्य र विषय भयो ।

खाना र खाजाको हिसाबकिताव कति भयो होला भनेर सोध्दा त एकमुष्ट सामुदायिक होमस्टेको कोषमा जम्मा हुने जानकारी भएपछि हामीलाई घरधनी हेमा गुरुङले समाज घर अर्थात् सभाहलमा लैजानुभयो । उपस्थित सहभागी साथीहरुले त एक स्वरमा तपाई मितिनी गाउँको पाहुना भएकोले दुई जनाको खाना खर्च निःशुल्क भयो । फेरी फेरी आदानप्रदान हुँदा राम्रो हुन्छ भन्दै खुशी हुँदै अर्को पटक पनि सपरिवार आउने भन्दै फुलको माला घरबेटी आमा मनदेवी गुरुङ र बाबा पुर्ण बहादुर गुरुङको न्यानो मायासहित गालामा माला पहिरिदै सिरुवारी गाउँबाट पोखरातिर यात्रामा निस्कने काम भयो । सिरुवारी गाउँमा सफा वातावरण र उज्यालो दिनमा फोटो सेसन गर्ने धोका बाँकी नै रहयो ।

बागलुङ भकुण्डेको धौलेचउरमा १० रोपनी जग्गामा ग्रामीण पर्यटनका नायक, सांसद तथा क्याप्टेन स्व. रुद्रमान गुरुङको स्मृति पार्क रहेको छ । जिल्ला पर्यटन विकास समिति स्याङजाले वि.स. २०६७ साल मसिंरमा ग्रामिण पर्यटनका नायक उपाधीले सम्मानित गरेको रहेछ । नेपालको पहिलो तथा दक्षिण एसियाको नै पहिलो सामुदायिक होमस्टे गाउँ सिरुवारी रहेको छ । सो गाउँ प्यासिफिक एशिया ट्राभल एशोसियसनले प्रदान गर्ने ‘पाटा गोल्ड अवार्ड २००१’ बाट सिरुवारी सम्मानित भएको छ ।

सिरुवारी पोखरासम्मको यात्रा
हामी पोखरामा एघार बजेसम्म आइपुग्ने कार्यक्रम थियो । तर सिरुवारीबाट हिंड्ने समयबाट सिमसिमे पानी परेको थियो । बाटोमा पर्ने मनोरम स्थल र प्राकृतिक दृश्यहरु मोबाइलमा कैद गरेर आउने योजनामा सिमसिम पानीले नराम्रोसँग बिथोलिदियो । एकनाशको पानी परिरहेको थियो । यात्रामा नौलो र नयाँ बाटो भएकोले चौबाटोमा कुन बाटो पोखरामा जाने हो भन्दै सोध्दै पोखरामा हामी बाह्र बजेतिर आइपुग्दा बागलुङ समाज पोखराको साधारण सभा तथा अधिवेशन भर्खर सुरुवात भएको थियो ।

अन्तमा
सिरुवारी गाऊँमा भकुण्डेबाट विगतमा थुप्रै साथीहरु अतिथि होमस्टेको व्यवसाय प्रवद्र्धन र क्षमता विकासको अध्ययन अवलोकनमा जानुभएको थियो । उनीहरुको फेसबुकका फोटोहरु देखेपछि ममा पनि सिरुवारी गाउँ भ्रमण गर्न जाने सोच पलाएको थियो । तर तुरुन्तै जाने अवसर मिलेको थिएन । विगतको सिरुवारी भ्रमण टोलीमा सहभागी हुने अवसर पाएको थिएन । भकुण्डेमा हाम्रो घरमा सामुदायिक होमस्टे सञ्चालन नभएको कारणले हुन सक्छ । मेरो रुचि र चाहना एक वर्षमा स्वदेश वा विदेश जुन स्थानमा भएपनि दश पन्ध्र दिन भ्रमण गर्ने योजना बनाउन मन लाग्छ । जुन स्थानमा म कहिल्यै पनि नगएको स्थान होओस् । सिरुवारी ग्रामीण पर्यटनको पाठशाला भएकोले नाउँडाँडा सेतीदोभान, बेजाङ, सिरुवारी तथा नाउँडाँडा बाडखोला, सतौ दरौ, सिरुवारी तथा नाउँडाँडा, जुग्ले, कार्कीनेटा, सिरुवारी तथा स्याङ्जा बजार, हेलु, अर्जुनचौपारी, सिरुवारीको बाटो जान सकिन्छ । जति संख्यामा सिरुवारीमा पर्यटक आउँछन् । ती मध्ये ५० प्रतिशत जति मितिनी गाउँ भकुण्डेमा आउने वातावरण तयार गर्न सकेकामा पक्कै मितिनी गाउँ बनेको सार्थकता पाउने थियो । फेरी पनि सपरिवार जाने योजना बुन्दै नयाँ गन्तव्य स्थानहरुमा पाइला टेक्ने अविचलित हुने सोच बुन्दैछु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->