बागलुङ/प्रथम साविक धौलागिरी अञ्चल स्तरीय खुल्ला स्नुकर प्रतियोगिताको उपाधि साजन रुचालले जितेका छन् । आइतबार सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी भीम रसाइलीलाई पराजित गर्दै रुचालले उपाधि जितेका हुन् ।
उपाधि विजेता रुचालले नगद ५० हजार ५ सय ५५ रुपियाँ, ट्रफी र मेडल प्राप्त गर्दा उपविजेतामा सिमित रसाइलीले २५ हजार ५ सय ५५ रुपियाँमा चित्त बुझाएका छन् ।
यस्तै प्रतियोगितामा सेमीफाइनलमा पुग्न सफल दीपु थापा र प्रकाश खड्कालाई जनही ५÷५ हजार रुपियाँ प्रदान गरिएको आयोजक गुठी युवा क्लबका सचिव सुवास रुचालले जानकारी दिए । सर्वाेत्कृष्ट खेलाडि पुरस्कार भने सुन्दर श्रेष्ठले जितेका छन् । श्रेष्ठलाई पुरस्कार स्वरुप लोकल भाले र स्नुकर स्टीक प्रदान गरिएको थियो ।
विजयी खेलाडिलाई पुरस्कार वितरण गर्दै बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले खेलकदका गतिविधिले समाजको उचाई बढाउँदै युवाहरुलाई संगठित, अनुशासित र मर्यादित बनाउन महत्वपूर्ण भुमिका खेलेको बताए ।
क्लबका अध्यक्ष उमेशलाल मिजारको अध्यक्षता, शिक्षक नवीन शर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सनि केसी र युवा व्यवसायी विराज हरिजनको उपस्थिती रहेको थियो ।





