अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बितेको दशकमा नेपालको आर्थिक र सामाजिक क्षेत्रमा उल्लेखनीय सुधिार भएको स्वीकार्दै नेपाली अर्थतन्त्रलाई पुनर्संरचना र स्तरोन्नति गर्नुपर्ने बताएका छन् । सोमबार अर्थमन्त्रालयले स्वार्वजनिक गरेको श्वेतपत्रमा विगतमा अवलम्बन गरिएका नीतिहरु र कार्यान्वनयमा देखिएको फितलोपनमा सुधार गर्नुपर्ने आत्मवोध पनि गरेका छन् ।
अर्थमन्त्री डा.वाग्लेले भनेजस्तो विगतको दशकमा नेपालमा भौतिक र सामाजिक विकास नभएको हैन । नागरिकको जीवनस्तरमा सुधार भएकै हो । तर, तुलनात्मक लाभका क्षेत्रहरु जस्तै,पर्यटन,कृषिको आधुनिकीकरण,नवप्रर्वतनसहित भएका स्रोत–साधनको उपयोग हुन नसक्दा पर्याप्त रोजगारीको अवसर सिर्जना भएनन् । देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर बन्न पुग्यो । १७ लाख नागरिकले विदेशमा बगाएको पसिनाबाट आर्जित रकमले देशभित्र उपभोक्तावादी संस्कृति ह्वात्तै बढ्यो । त्यो प्रवृत्तिको पूर्तिका निम्ति आयातलाई प्रमुख साधन बनाइयो । देशभित्र उत्पादन गर्न सकिने बस्तुहरु पनि विदेशबाटै आयात हुँदा गाउँका मलिला फाँटहरु बाँझो रहन पुगे । यताको वनका काठ कुहिएर जाँदा विदेशबाट फर्निचर आयात गर्ने अवस्था बन्यो । यतिबेला अर्थतन्त्र दवाबमा छ । पश्चिम एसियामा फैलिएको द्वन्द्व र घट्दो विप्रेषण, आफूलाई केन्द्रमा राख्दै शक्तिराष्ट्रहरुले अनुदानमा गरको कटौती,आन्तरिक स्रोतको अभाव र बढ्दो बाह्य ऋणले आर्थिक बृद्धिदर अझ खस्किने अनुमान गरिएको छ । तर, अर्थमन्त्रीले आउँदो ५ वर्षभित्र वर्षमा १ सय अर्ब डलरको अर्थतन्त्र निर्माण र ७ प्रतिशतमाथिको आर्थिक वृद्धिदर सम्भव रहेको जिकिर गरेका छन् । अहिले कायम रहेको ३.८३ प्रतिशतको बृद्धिदरलाई ७ पु¥याउन सामान्य सुधारबाटमात्र सम्भव छैन । यसका निम्ति सुशासनको आधारभूत सर्तसहित अर्थतन्त्रका सबै अवयवहरुलाई एकैचोटी जगाउन सक्नुपर्छ । कृषिबाट सेवा क्षेत्रमा निर्भर रहेको अर्थतन्त्रलाई उद्योगतर्फ डोहो¥याउनै पर्छ ।
गएको फागुन २१ गतेको चुनावबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुअघि डा.वाग्ले नेपाली कांग्रेसको तर्फबाट योजना बनाउने ठाउँमै थिए । योजना आयोगको सदस्य र उपाध्यक्षको रुपमा आफैले तय गरेका कार्यक्रमले कति प्रतिफल दियो र त्यसमा कहाँ के कुरा सुधार गर्नुपर्छ भन्नेबारे उनले पनि आत्मसमीक्षा गरून् । किन लगानी घटेको छ ? निजी क्षेत्रले हात बाँधेर बस्ने अवस्था किन आयो ? राजश्वको औषत बृद्धि कसरी बढाउने ? कृषि र पर्यटन उद्योगलाई कसरी मुलधारमा ल्याउने ? किन नेपालको रोजगारी सम्मानित हुन सकेन ? हरेक वर्ष उच्च तहमै काम गरेका व्यक्तिको पलायनको कारण के हो ? भन्ने प्रश्नहरुको उत्तर खोज्दा पक्कै पनि आगामी बाटो पत्ता लाग्ने छ । उत्पादकत्व र रोजगारी बृद्धिबीच नङ र मासुको सम्बन्ध हुन्छ । वैदेशिक अनुदानको मात्रा घट्दै गएको,वैदेशिक रोजगारी अनिश्चित र जोखिमपूर्ण बनिरहेको परिपेक्ष्यमा देशभित्रै सम्मनित रोजगारी सिर्जनालाई सरकारले मुख्य लक्ष्य बनाउने गरी अर्थतन्त्रको पुनर्संरचना गरिनुपर्छ ।




