पोखरा/गण्डकी प्रदेश खेलकुदको प्रतिष्ठाको रुपमा रहेको पोखरा स्पोट्र्स अवार्डको दशौं संस्करणको मिति सरेको छ ।
गण्डकी प्रदेशको खेलकुदको क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको अवार्डको मिति सरेको हो । यसअघि वैशाख १८ गते आयोजना हुने गरि मिति तय भएकोमा वैशाख ३१ गते आयोजना गर्ने निर्णय भएको खेलकुद पत्रकार मञ्च गण्डकीले बुधवार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
२०५७ सालमा कास्कीबाट स्थापना भई हाल गण्डकी प्रदेशस्तरमा विस्तार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि नियमित रूपमा पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ । मञ्चले खेलाडीहरूको मनोबल उच्च राख्न र खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पु¥याउन यस्तो अवार्ड कार्यक्रमलाई निरन्तरता दिएको अध्यक्ष मानबहादुर घर्तीले जानकारी दिए ।
दशौं संस्करणमा २ विधा थप भएको छ । उनका अनुसार पिपल्स च्वाइस अवार्ड र स्पेसल अवार्ड थप गरिएको हो । संस्थाका महासचिव परशुराम शर्माका अनुसार वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ÷संस्था वा क्लब, स्पेशल अवार्ड र उत्कृष्ट खेल पत्रकार विधा समावेश छन्् ।
अवार्डलाई सम्पन्न गराउनका लागि आवश्यक तयारी गरिरहेको मञ्चका उपाध्यक्ष राजाराम पौडेलले बताए ।
अवार्डको मुख्य प्रायोजक हिम श्री फूड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ ले गरेको छ । यस्तै पिपल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर र स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेको छ ।
मञ्चले यस अघि पिपल्स च्वाइस विधामा मनोनित खेलाडीहरु सार्वजानिक गरिसकेको छ । मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई तथा आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा रहेका छन । उनीहरुलाई खल्ती एप मार्फत भोट गर्न सकिनेछ ।





