म्याग्दी/ खादा स्वादिलो हुने मह सम्झदा जति आनन्द हुन्छ, त्यो भन्दा कयौं गुणा धेरै कहालीलाग्दो हुन्छ त्यसको सिकार गर्न ।
हिमाली जिल्ला म्याग्दीका अग्ला र अप्ठ्यारा भीरहरूमा हुने भीर माहुरीको मह सिकार गर्ने सिजन अहिले शुरु भएको छ । सानो गल्ती वा कमजोरीले जिन्दगी सकिने उक्त मह सिकार उच्च पहाडी क्षेत्रका तल्लो भेकमा गर्ने समय शुरु भएको भए पनि माथिल्लो भेकमा भने अझै शुरु भएको छैन । अग्ला भीर र पहाडमा डोरीको सहारामा झुन्डिएर माहुरीको चाकासम्म पुग्ने प्रयास गर्दा जीवन मृत्युको दोसाँधमा पुगिन्छ ।
महसिकार जोखिमयुक्त भए पनि परम्पराको अद्भुत कथा पनि हो । यो जोखिमपूर्ण काम अहिले पनि म्याग्दीका उच्च पहाडी क्षेत्रमा जिउँदो छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङको खोरियाका ६३ वर्षीय मोतीप्रसाद पाइजा यो महसिकारका कमाण्डर हुन । उनकै अगुवाईमा सयौं मिटर अग्ला भीरमा डोरी बाँधेर झुन्डिँदै माहुरीको घारबाट मह निकाल्ने काम हुन्छ । तल अथाह गहिराइ र माथि चट्टानी भीरबीच उनी बाँसको चोयाँबाट बनाइएको परम्परागत पराङ (भ¥याङ) मा झुण्डीदै अडिएर घण्टौँसम्म मह काढ्ने काम हुन्छ । यो केवल पेशा होइन, उनले चार दशकभन्दा बढी समयदेखि जोगाइरहेको पुख्र्यौली परम्परागत पेशा पनि हो ।
‘म अहिले ६३ वर्षको भएँ त्यस्तै बिसबाइस बर्षको उमेरदेखि निरन्तर भिर चहार्दै आएको छु’ उनले भने । जोखिम अब दैनिकी बनिसकेको छ, तर सुरुका दिनहरू सजिला थिएनन् । उनी सम्झन्छन्, ‘२३ वर्षको उमेरमा पहिलोपटक भीरमा झुन्डिँदा ज्यानै गुम्ने डरले शरीर थर्थराएको अहिले पनि याद आउँछ । तर अहिले भने अनुभवले डरलाई जितेको छ र ढुक्क हुन्छु ।’ हत्केलामा ज्यान राखेर डोरीमा झुन्डिनुपर्ने र सानो गल्तीले पनि जिन्दगी सिद्धिने अवस्था रहेको भन्दै उनले धेरैपटक मृत्युको मुखसम्म पुगेर फर्किएको अनुभव सुनाए ।

मह सिकार व्यक्तिगत साहस मात्र नभई सामूहिक प्रयास पनि हो । मोतीप्रसादलाई सहयोग गर्ने १० देखि १५ जनाको टोली हुन्छ र त्यो टोलीले भीरको माथिबाट डोरी सम्हाल्ने, तलबाट मह थाप्ने र व्यवस्थापन गर्ने काम गर्छ । मह निकाल्नुअघि हरियो घाँसको धुवाँ मौरीको घारतर्फ पठाइन्छ । धुवाँले मौरीलाई केहीबेर निस्क्रिय बनाउँछ र त्यसपछि मात्रै सिकारी घार नजिक पुगेर मह निकाल्न सक्छन् । एउटा भीरमा दिनभर मेहनत गर्नुपर्ने हुन्छ, तर त्यसको प्रतिफल पनि उत्तिकै आकर्षक हुन्छ । एकै भीरबाट एक सय लिटरसम्म मह निकाल्न सकिने र बजारमा यसको मूल्य प्रतिलिटर तीन हजार रुपैयाँसम्म हुने गरेको छ । यस पटकको महसिकारमा पनि झण्डै ५० लिटर जति मह निकालीएको मोतीप्रसादको भनाई छ । महसिकार गर्न जाने भनेपछि यसपटक झण्डै ५० जना टोलीमा समावेस भएको र मोतीप्रसादलाई दुई लिटर र अन्य सबैले जनही एकएक लिटर बाँडेर लिएका थिए ।
मोतीप्रसादजस्तै मालिका गाउँपालिका–५, देविस्थानका ५४ वर्षीय खिमबहादुर घर्ती पनि भिर मह सिकारका अनुभवी नाम हो । सिजन सुरु भएसँगै गाउँका युवाहरूलाई समेटेर टोली बनाउँछन् र भीर उक्लिन्छन् महसिकारीहरु । उनीहरुको नेतृत्वमा दुई समूह बनाएर काम गरिन्छ एउटा समूह भीरको माथिबाट डोरी झार्ने र अर्को समूह तलबाट मह संकलन गर्ने ।
म्याग्दीका विभिन्न स्थानहरू—गुर्जा, लुलाङ, कुइनेमंगले, चिमखोला, दग्नाम, दोवा, दाना, शिख र हिस्तान—भिर महसिकारका लागि चिनिन्छन् । स्वाद र गुणका कारण यहाँको मह अन्तर्राष्ट्रिय बजारसम्म पुगिसकेको छ । स्थानीय विश्वास अनुसार यो मह शक्तिवर्धक तथा हाडजोर्नीका समस्या समाधानमा उपयोगी रहने विश्वास गरिन्छ ।

वनजंगलमा बढ्दो डढेलोले मौरीको वासस्थानमा असर पु¥याएको छ भने धुवाँका कारण भिरमा काम गर्दा थप जोखिम बढेको छ । यसलाई मध्यनजर गर्दै सिकारीहरूले अहिले चाका पूर्ण रूपमा नष्ट नगरी संरक्षण गर्ने अभ्यास अपनाउन थालेका छन्, जसले मौरीलाई पुनः बसोबास गर्न सहयोग पुगोस् भन्ने उद्देश्य राखिएको छ । सामुदायिक वनको अनुमति लिएर मात्र मह सिकार गर्ने व्यवस्था पनि गरिएको छ ।
स्थानीय तहले समेत यो पेशाको संरक्षण र सुरक्षामा ध्यान दिन थालेको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले बताए । आवश्यक सुरक्षा सामग्रीको व्यवस्था र सचेतना कार्यक्रममार्फत भिर मह सिकारलाई सुरक्षित बनाउने प्रयास भइरहेको उहाँको भनाई छ । साथै, यो अद्भुत परम्परालाई पर्यटनसँग जोडेर म्याग्दीलाई ‘हनी हन्टिङ’ गन्तव्यका रूपमा चिनाउने पहल पनि अघि बढिरहेको भए पनि सफलता प्राप्त हुन नसकेको गाउँपालिकाको भनाई छ ।
ज्यानको बाजी लगाएर भीरमा झुन्डिने यी मह सिकारीहरू केवल जीविकोपार्जनमा सीमित छैनन्, उनीहरू हिमाली जीवनशैली, साहस र प्रकृतिसँगको सहअस्तित्वको जीवित उदाहरण रहेको धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद शर्माको भनाई छ ।





