पोखरा/नेपाली ह्याण्डबल खेलको प्राविधिक विकास र दक्ष रेफ्री उत्पादन गर्ने उद्देश्यसहित आयोजित पाँचदिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण आयोजना गरेको छ ।
नेपाल ह्याण्डबल संघको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम आइतबार औपचारिक रूपमा सम्पन्न भएको हो ।
प्रशिक्षण कार्यक्रममा पाँच प्रदेश तथा विभागीय टोलीका गरी २५ जना रेफ्रीहरूको सहभागिता रहेको थियो । प्रशिक्षण अवधिमा खेलका नवीन नियम,रेफ्रीको भूमिका, खेल सञ्चालनका प्राविधिक पक्ष तथा व्यवहारिक अभ्यासहरू समेटिएको थियो ।
प्रशिक्षणले नेपाली ह्याण्डबलमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै खेलको स्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने नेपाल ह्याण्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिनाले बताए ।
पोखरा ह्याण्डबल एकेडेमीमा आयोजित समापन कार्यक्रममा राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले सहभागी प्रशिक्षार्थीहरूलाई दीक्षित भएको प्रमाणपत्र वितरण गरेका थिए । उनले नेपाली ह्याण्डबलको विकाससँगै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि यस्ता प्रशिक्षण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए ।
विशेष अतिथिका रूपमा सहभागी भारतका ह्याण्डबल मुख्य प्रशिक्षक अनुपसिंह काश्वानले नेपाल–भारतबीच ह्याण्डबल खेलको विकासका लागि सहकार्यका नयाँ आयामहरू खोल्न आफू सदैव सकारात्मक रहेको बताए ।
नेपाल ह्याण्डबल संघका महासचिव तथा गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठक, भारतका प्रशिक्षक तेजवीर सिंहलगायतले पनि ह्याण्डबलको उज्ज्वल भविष्यका लागि सामूहिक सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।





