शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रारा पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

रारा पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा जुडोका विज्ञान टी खत्री, टेनिसका प्रदीप खड्का र भलिबलका सन्जु विक्रम शाह परेका छन् । त्यसैगरी, वर्ष उत्कृष्ट महिला खेलाडी विधामा आर्चरीकी मोनिका रानामगर, एथलेटिक्सकी नारायणी भण्डारी र जुडोकी मनिषा तामाङबीच प्रतिस्पर्धा हुने ।


  • ढाेरपाटन संवाददाता
  • बैशाख २४ २०८३, बिहिबार

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औँ रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयन सार्वजनिक गरेको छ ।

मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी अवार्डका लागि खेलाडी, प्रशिक्षक र संस्थाको नामावली सार्वजनिक गरेको हो । हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले १० औँ रारा पोखरा स्पोर्टस् अवाडअन्तर्गतका विभिन्न विधाको मनोनयनमा परेकाहरुको नामावली सार्वजनिक गरे ।

सो अवसरमा केसीले दक्षिण एशियाकै पहिलो तयारी चाउचाउ राराले नेपाली उपभोक्तामाझ विशेष विश्वास जितिरहेको उल्लेख गर्दै दशौं पोखरा स्पोट्र्स अवार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । विगतदेखि नै पोखराको खेलकुद क्षेत्रमा सहकार्य गर्दै आएको स्मरण गर्दै उनले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको प्रतिष्ठित अवार्डमा जोडिनु गर्वको विषय भएको बताए ।

अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा जुडोका विज्ञान टी खत्री, टेनिसका प्रदीप खड्का र भलिबलका सन्जु विक्रम शाह परेका छन् । त्यसैगरी, वर्ष उत्कृष्ट महिला खेलाडी विधामा आर्चरीकी मोनिका रानामगर, एथलेटिक्सकी नारायणी भण्डारी र जुडोकी मनिषा तामाङबीच प्रतिस्पर्धा हुने मञ्चका महासचिव परशुराम शर्माले बताए ।

उदीयमान खेलाडी तर्फ एथलेटिक्सकी अनुष्का अधिकारी, तेक्वान्दोका सचिन सुनार र ब्याडमिन्टनकी निभा राई मनोनयनमा परेका छन् भने वर्ष उत्कृष्ट प्रशिक्षकको सूचीमा टेनिसका कुमार अधिकारी, तेक्वान्दोकी रेखमाया गुरुङ र एथलेटिक्सका सिद्धान्त अधिकारी समेटिएका छन् ।

मञ्चले वर्ष उत्कृष्ट खेल संघका रूपमा कास्की जिल्ला क्रिकेट संघ र वर्ष उत्कृष्ट खेल पत्रकारका रूपमा दीननाथ बराललाई छनोट गरिसकेको छ ।

यसवर्ष कुल ९ वटा विधामा अवार्ड प्रदान गरिनेछ । जसमा लाइफ टाइम एचिभमेन्ट, स्पेसल अवार्ड र पिपुल्स च्वाइस अवार्ड समेत रहेका छन् । पिपुल्स च्वाइस अवार्डका लागि क्रिकेटका विपीन खत्री, फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी र मुवाँथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेको अध्यक्ष एमवि आस्था मगरले जानकारी दिए ।

यस वर्षको अवार्डलाई हिम श्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ ।

आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->