पोखरा/सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी प्रो. डा. नरेन्द्रविक्रम गुरुङले पाएका छन् ।
सरकारले गएको शनिबार जारी गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ जारी भएसँगै उपकुलपति डा. भरतबहादुर खत्री र निर्देशक डा.प्रेमराज पंगेनीसहित ३१ जना पदमुक्त भएका थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पताल र चिकित्सा शास्त्रको स्नातक र स्नातकोत्तरको पढाइ हुँदै आएको छ । प्रतिष्ठानमा प्रमुख नहुँदा दैनिक काममा अवरोध उत्पन्न हुने भएपछि सरकारले गुरुङलाई निमित्तको जिम्मेवारी दिएको हो । नरेन्द्रविक्रम सर्जन हुन् । उनले उपकुलपतिको आवेदन माग भएको बेला प्रतिस्पर्धामा भाग लिएका थिएनन् ।
त्यो बेला १७ जनाले उपकुलपतिको लागि आवेदन दिएकोमा ६ जनाको नाम अन्तिम सूचीमा रहेको थियो भने तत्कालीन केपी ओली सरकारले अन्तिममा डा.भरतबहादुर खत्रीलाई उपकुलति छानेको थियो । खत्री उपकुलपति भएसँगै प्रसूती तथा स्त्रीरोग विशेषज्ञ पंगेनीलाई निर्देशकमा नियुक्त गरिएको थियो ।





