बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आरोहणका दक्ष जनशक्ति उत्पादनमा ध्यान देऊ

आरोहणका दक्ष जनशक्ति उत्पादनमा ध्यान देऊ

खासमा प्रचार–प्रसारको अभाव अनि दक्ष जनशक्तिको अभावकै कारण गण्डकी आरोहण गतिविधिमा पछाडि परेको हो । पहिलोपटक मानव पाइला राखेको हिमालको प्रचार पनि राम्रोसँग नगरिनु र आरोहणलाई चाहिने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिने हो भने यो क्षेत्रमा पनि आरोहणका गतिविधि बढाउन सकिन्छ ।


  • Dhorpatan News
  • बैशाख २८ २०८३, सोमबार

८ हजार मिटर अग्ला हिमालको सफल आरोहणको इतिहास गण्डकी प्रदेशसँग जोडिन्छ । फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुई लचेनलको टोलीले सन् १९५० को जुन ३ मा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सीमानामा रहेको अन्नपूर्ण प्रथमको सफल आरोहण विश्वको लागि नौलो समाचार थियो । त्यसको ३ वर्षपछि बल्ल विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । ठूलो दलबलसहित आरोहणमा निस्केको हर्जोगको टोलीले पहिला निलगिरिलाई नै अन्नपूर्ण ठानेको थियो तर अन्नपूर्ण अर्कै रहेको थाहा पाएपछि उनीहरुले साहसपूर्ण तरिकाले ‘किलर माउण्टेन’ पनि भनिने अन्नपूर्णको चुचुरो चुमेका थिए । मौरिसले अन्नपूर्ण आरोहणको स्मरण समेटेर ‘अन्नपूर्णा’ पुस्तक पनि लेखे । त्यो पुस्तक विभिन्न भाषामा अनुवाद भयो र नेपालको प्रचारमा त्यसले अतुलीनय योगदान दियो । नेपाल साहसिक आरोही र हिमाली यात्रा चाहनेहरुको गन्तव्य बन्यो ।

संयोग भन्नुपर्छ, गण्डकीमा ८ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धौलागिरि र मनास्लु रहेका छन् । यी तीनवटै चुचुरोप्रति आरोहीहरुको अग्घोरै आकर्षण छ । त्यतिमात्र नभएर,गण्डकी क्षेत्रमा अरु पहिचान भएका र नभएका चुचुराहरु पनि छन् । तर, आरोहणको गतिविधिमा भने यो क्षेत्र पछाडि छ । हिमाल चढ्ने यही मौषममा विश्वकै अग्लो शिखर सगरमाथा क्षेत्र आरोहीले खचाखच हुँदा यो क्षेत्रमा हिमालमा चाहिँ कममात्र आरोहीहरुले चुचुरो नापेका छन् । हिमाल आरोहण शुल्कबाट यो वर्ष राज्यले १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दैछ । र,त्यसको ठूलो हिस्सा अर्थात् १ अर्ब सगरमाथा आरोहणकै रहेको छ । यसले पनि गण्डकी प्रदेशमा आरोहण गतिविधि कम भएको पुष्टि गर्छ । गण्डकीमा आरोहणका गतिविधि कम हुनुमा दक्ष जनशक्तिको अभाव पहिलो कारण रहेको छ । हिमालसँग शेर्पाहरु जोडिन्छन् । आरोहण वा पदयात्रामा निस्कने दक्ष जनशक्तिलाई ‘शेर्पा’ कै नामले पनि पुकारिन्छ । तर, गण्डकी प्रदेश शेर्पाको आदिम थलो हैन । आरोहीहरुले पदप्रदर्शकको रुपमा रोज्ने शेर्पाहरु आफ्नै थातथलोतिर जान चाहनुले पनि यो क्षेत्र पछि परेको भन्नेहरु छन् । तर, यो तर्कमा त्यति दम छैन ।

खासमा प्रचार–प्रसारको अभाव अनि दक्ष जनशक्तिको अभावकै कारण गण्डकी आरोहण गतिविधिमा पछाडि परेको हो । पहिलोपटक मानव पाइला राखेको हिमालको प्रचार पनि राम्रोसँग नगरिनु र आरोहणलाई चाहिने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिने हो भने यो क्षेत्रमा पनि आरोहणका गतिविधि बढाउन सकिन्छ । सलामी दस्तुरमा छुट दिँदा पनि त्यसले सकारात्मक प्रभाव पार्छ । यस्तै, हिमाल आरोहणको लागि आवश्यक पर्ने औजार र बन्दोबस्तीका सामानहरु यो क्षेत्रमा सहजै पाइँदैन । काठमाडौं नै जानुपर्ने बाध्यता अन्त्यको पहल पनि उत्तिकै जरुरी देखिन्छ । आधार शिविरसम्म पुग्ने मार्गको निर्माण र पूर्वाधार थप्नेतर्फ पनि ध्यान दिनैपर्छ । पछिल्ला वर्षहरुमा सरकारी तथा गैरसरकारी अनि निजी क्षेत्रको तर्फबाट प्रवद्र्धनात्मक गतिविधिहरु भइरहेका छन् । भर्खरै मनास्लु आरोहणको ७० औं वर्षगाँठ मनाइएको छ । अन्नपूर्ण आरोहण दिवसकै छेको पारेर विशेष कार्यक्रम र म्याराथनको आयोजना हुँदैछ । यी र यस्ता गतिविधिले स्थानीयहरुलाई उत्साही बनाएको छ भने अन्तर्राष्ट्रियस्तरको प्रचारमा पनि सघाएकै छ । मुख्य कुरा चाहिँ दक्ष जनशक्ति उत्पादनकै अर्जुनदृष्टि जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->