बागलुङ/बागलुङको भकुण्डेकी यामकुमारीले बुनेका ढाकाका साडी विदेशमा निर्यात हुन थालेका छन् । विदेशमा बस्ने नेपालीले अर्डर गर्न थालेपछि थापाले पनि धमाधम विदेश पठाउन थालेको बताइन् ।
स्वदेशी बजारभन्दा विदेशमा मूल्य पाउने गरेको उनले बताइन् । गत महिना अष्ट्रेलिया पढ्न गएकी दिलमाया थापाले अर्डर गरेर थापासँग साडी मागेकी थिइन् । उनले तत्काल बुनेर पठाएपछि फेरी उनका साथीहरुको पनि अर्डर आयो । एकपछि अर्को अर्डरले अहिले थापा ढाकाको साडी बुन्ने काममा व्यस्त बन्दै आएकी छिन् ।
अर्को साडी छन्त्यालले बुनेकी छिन् । छन्त्याललाई यामकुमारीले नै सीप सिकाएर काममा लगाएकी हुन् । ‘अर्डरको सामान समयमा दिइयो भने निरन्तर अर्डर आइरहन्छ’ उनले भनिन्, ‘विदेशमा बस्नेले नेपाली मौलीक भन्दै हातैले बुनेको साडी खोज्छन् ।’ साडी बाहेकका अन्य कपडा पनि माग आएको उनले बताइन् ।
केही वर्ष अघिसम्म उनले स्थानीय बजारका लागि मात्र ढाकाको सामान बनाउने गर्थिन् । अहिले भने उनको उत्पादनलाई विदेशमा बस्नेले मन पराउन थालेका छन् । थापाका अनुसार स्थानीय बजारमा भन्दा हातैले बुनेका ढाकाका कपडा विदेशमा बढी बिक्री भैरहेका हुन् । केही सामान उनले कुरियर गरेर पठाएको बताइन् । कतिपयले भने आफन्त नेपाल आएको बेला मगाउने गरेका छन् । कुरियर गर्दा एउटा साडी पठाएको ७ सयदेखि १ हजार रुपैयाँ खर्च लाग्ने गरेको छ ।
ढाकाको साडीहरु यामकुमारीले १५ हजार २० हजार सम्ममा बेच्छीन् । त्यसका लागि उनले ३ हजार ५ सयको त धागो मात्रै किन्नुपर्ने बताइन् । ‘साधारण ढाकाको साडी तयार गर्न ५ दिन लाग्छ, आर्कषक बुट्टा सहितको बनाउन परे १० दिन लाग्छ’ उनले भनिन्, ‘दिनरात काम गरियो भने मात्र साता दिनमा राम्रो साडी तयार हुन्छ ।’
काठको मेसिनमा दिनभर बसेर काम गर्नुपर्दाको दुःखमा एउटा साडी बेचेर बढीमा ३ हजारसम्म नाफा लिन सक्ने उनले बताइन् । बजारका सामानको तुलनामा महंगो पर्ने भएपछि कतिपयले ढाकाको सामान किन्न खोज्दैनन् । मौलीक पहिरन लगाउने, सार्वजनिक समारोहमा स्थानीय उत्पादनलाई ख्याल गर्नेहरुले भने महंगो भएपनि ढाकाको कपडा खोज्ने गरेको थापाको अनुभव छ ।
पहिला उनी स्थानीय बजारमा ढाकाको टोपी, झोला र पच्छ्यौरा बनाएर बेच्थिन् । छिटो तयार हुने ती सामानको मूल्य पनि कम छ । साडी बुन्ने काम भने धेरै समय लाग्ने, झन्झट, पट्यारलाग्दो भएको उनले सुनाइन् ।
‘सौगात गृह’को रुपमा उनले पसल समेत राखेकी छिन् । मासिक २० हजारभन्दा धेरै भाडा तिर्ने थापाको व्यवसायमा कोरोनाले झण्डै बिट मारेको थियो । कोरोना संक्रमणका कारण पसल बन्द भएपछि उनी अन्यौलमा परेकी थिइन् । सोही समयमा उनलाई अमेरिकामा बस्नेहरुले फोन गरेर ५ वटा साडी, ४ वटा कोट र केही रुमाल लगायतका सामान अर्डर गरे । यो अर्डरले उनको आसा पलायो । घरभित्रै बसेर पनि नियमित काम गर्दै तीन महिनामा ती सबै सामान तयार पारेर कुरियरमार्फत विदेश पठाउन सकेपछि उनले आफ्ना उत्पादन विदेश पठाउन सकिन्छ भन्ने थाहा पाइन् ।
सदरमुकाममा डेरा लिएर बसेकी थापाले २०६७ देखि ढाका बुनेर बेच्न थालेकी हुन् । सादा साडी भए ५ देखि ७ हजारमा बेचेकी थापाले बुट्टेसाडी २० हजारसम्म र कोट १० देखि १५ हजारसम्मका तयार गरेको बताइन् । तर साडी र सल बाहेकका सामाग्री छिटफुट मात्रै अर्डर आउने गर्छन् । पुरुषका सामानभन्दा महिलाको सामान धेरै अर्डर आउने, मूल्य पनि पाइने गरेको छ । यसरी दैनिक १२ देखि १४ घण्टासम्म काम गर्दा लगानी र खर्च कटाएर मासिक ४० हजार कमाइ हुने उनको अनुभव छ ।
पछिल्लो समय विदेश जानेहरुले विवाह भोज, जमघट, चाडपर्व लगायतमा नेपाली मौलीक पोशाक लगाउन थालेका छन् । उनीहरुले बजारमा पाइनेभन्दा तानमा बुनेकै सामान किन्न थालेको थापाको अनुभव छ । ‘बुनेरै राखेको देखाउँदा पनि धेरैले आफ्नो रोजाइको रंगको धागो प्रयोग गरेर बुनिदिन भन्नुहुन्छ’ थापाले भनिन्, ‘बेला बेला भिडियो पनि देखाइदिनुपर्ने भएको छ ।’ उनले काठमाण्डौबाट फाइन धागो र सुती धागो किनेर ल्याउने गरेको बताइन् ।
ढाका बुन्ने काठको हाते मेसिनलाई ५० देखि ६० हजार रुपैयाँ पर्छ । २०६६ सालमा लघुउद्यम विकास कार्यक्रममार्फत ४५ दिनको तालिम लिंदा उनले एउटा मेसिन अनुदानमा पाएकी थिइन् । त्यसबाट थालेको कामले अहिले उनलाई सबैको रोजाइको उद्यमी बनाएको छ । तर अहिलेसम्म उनको सीप, काम र मेहेनतलाई कसैले सम्मान गरेको छैन । आफ्नो कामको प्रचार गर्न पनि उनी कतै निस्केकी छैनन् ।
२०५९ मा उनका पतिको सवारी दुर्घटनामा निधन भएपछि घरपरिवार धान्ने जिम्मा यामकुमारीको काँधमा आएको थियो । पतिको निधनको दुःखभन्दा घरको जिम्मा बढी भएपछि उनी सीप सिक्ने र काम गर्ने लक्ष्यले तीन वर्षको छोरा काखमा लिएर सदरमुकाम झरेकी थिइन् । ढाका बुनेकै कमाइले छोरा सन्दीपलाई सफ्टवेयर इन्जिनियर बनाएकी छिन् । यामकुमारीको प्रेरणापछि भकुण्डेमा मात्रै २५ जना महिलाले ढाका बुन्ने सीप सिकेका छन् ।





