बागलुङ/नेपाली सेनाको श्री २३ नम्बर बाहिनी अड्डा बागलुङको आयोजनामा ‘बाहिनीपति ट्रफी’ खेलकुद प्रतियोगिता सुरू भएको छ ।
२३ नम्बर बाहिनीअन्तर्गतका गण तथा गुल्महरु सहभागि हुने गरी ‘बाहिनीपति ट्रफी’ खेलकुद प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, जुडो, बक्सिङ, तेक्वान्दो, स्विमिङ र एथलेटिक्स गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ ।
बिहिबारसम्म सञ्चालन हुने प्रतियोगितामा चार जिल्लाका २ सय ७० जना खेलाडीले पदकका लागि प्रतिष्पर्धा गर्ने २३ नम्बर बाहिनी अड्डाले जनाएको छ ।
प्रतियोगितामा श्री २३ नम्बर बाहिनी अड्डा, कालिजंग गण घोडाबाँधे बागलुङ, इन्द्रवक्स गण मुस्ताङ, गुरुगोरख गुल्म म्याग्दी र नयाँ रणभिम गुल्म पर्वतका खेलाडीले प्रतिष्पर्धा गर्ने सेनानी श्याम बहादुर विकले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडि तथा टिमलाई ‘पृतनापति ट्रफी’ प्रतियोगितामा सहमागि गराइने छ । ‘पृतनापति ट्रफी’ प्रतियोगितामा उत्कृष्ट हुने टिम र खेलाडीले ‘प्रधानसेनापति ट्रफी’ खेलकुद प्रतियोगितामा भाग लिनेछन् ।
प्रतियोगिताको सोमबार बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र निमित्त बाहिनीपति महासेनानी जयराम बानियाँले उद्घाटन गरेका थिए ।
खेलमार्फत सेनाका सबै दर्जालाई अनुशासनमा राख्ने, स्वच्छ प्रतिष्पर्धा गरेर राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने काममा प्रतियोगितालाई अवसरको रुपमा लिइएको निमित्त बाहिनीपति महासेनानी जयराम बानियाँले बताए ।





