शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लाइफ टाइम एचिभमेण्ट अवार्ड टीकाबहादुरलाई

लाइफ टाइम एचिभमेण्ट अवार्ड टीकाबहादुरलाई


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८३, शुक्रबार

पोखरा/‘दशौं पोखरा स्पोर्टस् अवार्ड २०८२’ अन्तर्गतटाइफ एचिभ्मेन्ट अवार्डबबाट एथ्लेटिक्सका खेलाडी टीकाबहादुरबोगटी सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा बोगटीलाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको माध्यमबाट राष्ट्रलाई दिएको योगदानस्वरुप सो सम्मान दिइएको हो ।

गोरखाका भिराला पाखाहरूमा दौडिँदै हुर्किएका उनले २०३७ सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका थिए । २०४४ सालदेखि अन्तर्राष्ट्रिय ट्रयाकमा पाइला राखेका बोगटीले राष्ट्रियस्तरका थुप्रै प्रतियोगिताहरूमा स्वर्ण पदक जितेर आफूलाई अब्बल सावित गरे ।

बोगटीको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि सन् १९८८ को सियोल ओलम्पिक र १९९६ को एटलान्टा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नु हो । विश्वका हस्ती धावकहरूसँगै ओलम्पिकको ट्रयाकमा दौडिएर उनले नेपालको चन्द्र–सूर्य अंकित झण्डालाई विश्वमाझ चिनाएका थिए । उनले सन् १९९४ मा भएको १२ औँ एसियाली खेलकुदमा समेत सहभागिता जनाएका थिए । दक्षिण एसियाली खेलकुद (साग) मा उनको प्रदर्शन निकै लोभलाग्दो रह्यो । चौथो देखि सातौँ सागसम्म लगातार सहभागी भएका उनले १९९१ मा श्रीलंका र १९९३ मा बंगलादेशमा काश्य पदक जितेका थिए भने १९९५ मा भारतको मद्रासमा भएको सागमा स्वर्ण पदक चुम्न सफल भए ।

अन्तर्राष्ट्रिय म्याराथनमा नेपालको प्रतिनिधित्व गर्दै सिंगापुर र अस्ट्रेलिया जस्ता देश पुगेका बोगटीले सन् १९८९ मा जर्मनीबाट तीन हप्ताको कोचिङ कोर्स समेत पूरा गरेका थिए । खेलका क्रममा उनले अनेकौँ उतारचढाव र अभावहरू भोगे । आमाको निधन हुँदाको मर्माहत पीडामा समेत उनले खेललाई निरन्तरता दिएको स्मरण गरे । खेल जीवनमा प्राप्त सफलताकै कारण उनलाई तत्कालीन सरकारले ’गोरखा दक्षिणबाहु’ बाट समेत विभूषित गरेको थियो ।

हाल ६४ वर्षको उमेरमा पुगेका बोगटी अझै पनि उत्तिकै ऊर्जावान् छन् । खेलबाट सक्रिय विश्राम लिएपछि उनी अहिले गोरखाको आफ्नै माटोमा कृषि कर्ममा रमाइरहेका छन् ।

नारायणी वर्ष महिला खेलाडी
एथ्लेटिक्सकी नारायणी भण्डारीले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारिन् । वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्डसँगै भण्डारीले हिरोहोन्डाको जुम स्कुटर प्राप्त गरेकी छिन् । उक्त विधाको मनोनयनमा भण्डारीसँगै जुडोकी मनिषा तामाङ र आर्चरीकी मोनिका रानामगर रहेकी थिइन् ।

गएको जेठमा १५ औं राष्ट्रपति रनिङ शिल्डमा कीर्तिमानसहित उत्कृष्ट प्रदर्शन गरेकी नारायणी भण्डारी आफैँलाई पनि कति इभेन्ट खेलेर कति वटा पदक हात पारेँ भन्ने हेक्का छैन । छोरेपाटन माध्यमिक विद्यालयकी यी छात्रा नारायणीले यतिखेर १२ को परीक्षा दिएकी छन् ।

प्रदीप बने वर्ष खेलाडी
लनटेनिसका प्रदीप खड्काले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका छन् ।

अवार्डसँगै खड्काले हिरोहोन्डाको जुम स्कुटर प्राप्त गरेका छन् । उक्त विधाको मनोनयनमा खड्कासँगै जुडोका विज्ञान टी खत्री र भलिबलका सञ्जुविक्रम शाह रहेका थिए ।

२०५४ सालमा पोखरामा जन्मिएका प्रदीप, नेपालको टेनिस जगतमा एक सफल र टप ¥याङ्किङ खेलाडीको रूपमा परिचित छन् ।

२०६५ सालदेखि व्यावसायिक खेल खेल्न सुरु गरेका उनको करियरको ग्राफ उकालो लागिरहेको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा पनि उनको प्रदर्शन उत्कृष्ट छ । २०२२ को हाङझाउ एशियन गेम्समा उनले इतिहास नै रचेका थिए ।

२०८२ साल प्रदीपका लागि उपलब्धिहरूको एउटा सुनौलो वर्ष सावित भयो । तेस्रो सिओएस खुला टेनिस प्रतियोगितामा प्रदीपले पुरुष सिंगल र डबल दुवैमा ‘स्वर्ण पदक’ चुम्दै आफ्नो वर्चस्व कायम गरे ।

यस्तै २२ औं माछापुच्छ्रे बैंक खुला टेनिसमा उनले पुरुष डबलमा स्वर्ण र सिंगलमा रजत पदक जितेर आफ्नो लयलाई कायम राखे । प्रदीपले १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालका लागि कास्य पदक र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतिष्ठित च्याम्पियनसिपमा दर्जनौ पदक हात परिसकेका छन् ।

दृष्टिविहीन सुस्मालाई स्पेसल अवार्ड
दृष्टिविहीन क्रिकेट खेलाडी सुस्मा तामाङले पोखरा स्पोर्टस् अवार्डअन्तर्गत स्पेसल अवार्ड प्राप्त गरेकी छन् ।

आँखामा बाहिरी उज्यालो नभए पनि दृढ आत्मबल र कडा परिश्रमका माध्यमबाट नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाउन सफल सुस्मा गरेको हो ।

लमजुङको बेसीसहर–४ मा जन्मेकी तामाङले १२ वर्षको कलिलो उमेरदेखि नै क्रिकेटको ब्याट र बल समाउन सुरु गरेकी थिइन् । जनप्रकाश माध्यमिक विद्यालयको होस्टलमा बसेर विद्यालय तहको शिक्षा पूरा गर्दा सुरु भएको उनको क्रिकेट यात्रा पृथ्वीनारायण क्याम्पसमा स्नातक पढ्दासम्म आइपुग्दा जिल्ला र प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुगेको थियो । क्रिक्रेटमै जीवन समर्पण गरेकी सुस्माले सन् २०२५ को दृष्टिविहीन क्रिकेट विश्वकपमा जादूयी प्रदर्शन गरिन् ।

भारतको दिल्लीबाट सुरु भइ श्रीलंकाको कोलम्बोमा पुगेर टुङ्गिएको उक्त यात्रामा नेपालले फाइनलसम्मको यात्रा तय गरी उपविजेताको बनेको थियो । ‘बी वान’ क्याटगोरीमा रहेकी सुस्मा तामाङले सो प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज’ को उपाधि हात पारेकी थिइन् । सम्म्मानसँगै उनलाई नगद ३५ हजार रुपैयाँ पनि प्रदान गरियो ।

स्पोर्टस् साइन्स पढेका सिद्धान्त उत्कृष्ट प्रशिक्षक
स्पोर्टस् अवार्डअन्तर्गतको उत्कृष्ट प्रशिक्षक विधामा एथ्लेटिक्सका सिद्धान्त अधिकारीले बाजी मारे । सो दौडमा टेनिसका कुमार अधिकारी र तेक्वान्दोका रेखमाया गुरुङ रहेका थिए । अधिकारीलाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्राप्त गरे ।

३६ वर्षीय सिद्धान्त अधिकारीले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा आफूलाई अब्बल सावित गरेका छन् । पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेर आफ्नो खेल जीवनको बलियो जग बसालेका थिए । नेपालमा सफलता पाएपछि अध्ययन र खेललाई निरन्तरता दिन उनी भारत गएर ‘आर्मी स्पोट्र्स इन्स्टिच्युट’ (एएसआई) बाट ‘स्पोट्र्स साइन्स’ मा डिप्लोमा गरे ।

एएसआईमा झण्डै एक वर्ष मध्य तथा लामो दूरीको प्रशिक्षकका रूपमा अनुभव बटुलेपछि उनी सन् २०१९ को अन्त्यतिर नेपाल फर्किए । सन् २०२१ तिर सुनिल राजवंशीसँग मिलेर ‘हिमालयन एलिट्स रन’ प्रोजेक्ट सुरु गरे । सो संस्थाले निःशुल्क प्रशिक्षणका साथै रनिङ जुत्तालगायतका खेल सामग्री उपलब्ध गराउँछ ।

कास्की जिल्ला एथलेटिक्स संघको सचिव रहेको उनको अवधारणा र संयोजनमा पोखरा ओपन एथलेटिक्स मिट र ‘पोखरा १० के’ जस्ता प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् ।

दर्लामीलाई पिपल्स च्वाइस अवार्ड
भलिबलका राजन दर्लामीले पिपल्स च्वाइस अवार्ड प्राप्त गरे ।

पिपल्स च्वाइस अवार्डको विधामा दर्लामीसँगै फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा र क्रिकेटका विपित खत्री मनोनयनमा परेका थिए । दर्शकको भोटका आधारमा सबैभन्दा बढी मत प्राप्त गर्ने दर्लामीलाई सो अवार्ड प्रदान गरिएको हो ।

पिपल्स च्वाइस अवार्ड जितेका भलिबल खेलाडी राजन दर्लामीले अवार्डसँगै हिरोहोन्डाको जुम स्कुटर प्राप्त गरेका छन् ।

स्याङ्जाको चापाकोट ५, सेखामका यी लिबेरो १३ वर्षदेखि निरन्तर भलिबल कोर्टमा छन् । हालै छैटौं संस्करणको टाइगर कप भबिबल प्रतियोगिता र नवलपुरमा भएको दोस्रो संस्करणको जिएम कपमा टिमलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए ।

उनले हालै सम्पन्न पिएम कप एनभिए भलिबल लिगमा बेस्ट डिफेन्डरको उपाधि जितेका थिए ।

निभा उदीयमान खेलाडी
ब्याटमिन्टनकी निभा राई वर्ष उत्कृष्ट उदीयमान खेलाडी घोषित भएकी छन् ।

अवार्डसँगै राईलाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरियो ।

१० वर्षको सानो उमेरदेखि नै ब्याडमिन्टनको ¥याकेट समात्न थालेकी निभा हाल कुँडहरस्थितमैत्रीय पाठशालामा कक्षा १० मा पढ्छिन् । कोरोनाकालमा पिताले ब्याण्डमिण्टन खेलेको देखेर ¥याकेट समातेकी निभाको प्रतिभा निर्खा प्रशिक्षक पुनम गुरुङले सघाइन् ।

प्रशिक्षण लिएको ९÷१० महिना मै उनले अन्डर–११ राष्ट्रिय च्याम्पियनसिपबाट आफ्नो विजयी यात्रा सुरु गरिन् । त्यसयता उनले अन्डर–१३ र अन्डर–१४ मा पनि च्याम्पियनको उपाधि हात पारिन् । हाल उनी अन्डर–१५ को नेपाल च्याम्पियन हुन् । अन्डर–१९ उमेर समूहमा पनि उनी देशकै उत्कृष्ट पाँचभित्र पर्छिन् ।

यो विधामा राईसँगै एथ्लेटिक्सकी अनुस्का अधिकारी र तेक्वान्दोकका सचिन सुनार छानिएका थिए ।

क्रिकेट संघ उत्कृष्ट
कास्की जिल्ला क्रिकेट संघ उत्कृष्ट खेल संस्थामा दर्ज भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औं पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमअन्तर्गत क्रिक्रेट संघलाई उत्कृष्टको अवार्ड प्रदान गरेको हो ।

संजयकान्त सिग्देल नेतृत्वमा रहेको क्रिक्रेट संघ नियमित खेल गतिविधि संचालन गर्ने संघ हो । विद्यालय स्तरमै प्रशिक्षणसँगै नयाँ खेलाडी उत्पादन, नियमित प्रतियोगिता संचालन तथा खेलाडी पलायन रोक्न पारिश्रमिकको समेत व्यवस्थाको सुरुवातले क्रिकेट संघलाई अरु खेल संस्थाभन्दा अब्बल बनाएको हो । क्रिक्रेट संघले बेलायतको पुरानो क्लब मेल्बोर्न क्रिकेट क्लबसँग सहकार्यको हातसमेत बढाएको छ ।

क्लबलाई सम्मान गर्ने क्रममा ३५ हजार नगद पनि प्रदान गरिएको छ । २०५४ साल माघमा डा. वीरेन्द्रसिंह गुरुङको नेतृत्वमा कास्की जिल्ला क्रिकेट संघको विधिवत गठन भएको हो ।

संघले १३ औँ दक्षिण एसियाली खेलकुदमा महिला क्रिकेट, नेपाल–मलेसिया फ्रेन्डशिप सिरिज र पोखरा प्रिमियर लिग जस्ता गौरवशाली प्रतियोगिताहरूको सफल आयोजना पनि गरिसकेको छ ।

दीननाथलाई उत्कृष्ट खेल पत्रकार अवार्ड
खेल पत्रकार अवार्ड चाहिँ दीननाथ बराललाई प्रदान गरियो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा उत्कृष्ट खेल पत्रकार बराललाई नगद ३५ हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । मञ्चको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा २४ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय बराललाई उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष एमबी आस्था मगरले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->