पोखरा/पोखरा महानगरपालिका वडा नं ८, सृजनाचोकमा अवस्थित सृजना सेकेण्डरी स्कूलमा नेपाल जुनियर रेडक्रस सोसाइटी, सृजना मा.वि.को व्यवस्थपनमा अतिरिक्त क्रियाकलापअन्तर्गत यही जेठ १ गते शुक्रबारका दिन विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना माविको व्यवस्थापनमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू बिच तहगत रूपमा अन्त्तर सदनात्मक भलिबल प्रतियोगिता, चित्रकला प्रतियोगिता एवम् जुस रेस प्रतियोगिता सम्पन्न भएको छ ।
जसअनुसार कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीचच भलिबल प्रतियोगिता सम्पन्न भएको हो भने कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरू बिच चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । यसैगरी कक्षा १ देखि ३ सम्मका विद्यार्थीबीचचमा जुस रेस प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयका खेलकुद विभाग प्रमुख गोपाल थापाको संयोजकत्वमा सम्पन्न भएको भलिबल खेल नक आउट चरणमा खेलाइएको थियो । छात्र र छात्राहरूका बिच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको भलिबल खेलमा छात्रतर्फ पहेँलो सदनले प्रथम र हरियो सदनले द्वितीय स्थान हासिल गर्न सफल भए भने छात्रातर्फ हरियो सदनले प्रथम र निलो सदनले द्वितीय स्थान हासिल गर्न सफल भए ।
कक्षा ४ देखि ७ सम्मका विद्यार्थीबीच सम्पन्न भएको चित्रकला प्रतियोगिता विद्यालयका आर्ट शिक्षक गोपाल दराईको संयोजकत्वमा सम्पन्न भएको थियो । कक्षागत रूपमा सञ्चालन भएको उक्त प्रतियोगितामा कक्षा ४ र ५ का विद्यार्थीहरूले प्रकृति तथा कक्षा ६ र ७ का विद्यार्थीहरूले शान्ति विषय शीर्षकमा सुन्दर चित्रहरू बनाएका थिए । ती चित्रहरूमध्येबाट छुट्टाछुट्टै मूल्याङ्कन गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान छुट्टयाइने कुरा प्रतियोगिताका संयोजक दराईले जानकारी दिए ।
विद्यालयकी प्राइमरी इन्चार्ज जानकी थापाको संयोजकत्वमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका बिच जुस रेस प्रतियोगिता सम्पन्न भएको छ । कक्षागत रूपमा सञ्चालन भएको उत्त प्रतियोगितामा कक्षागत रुपमै छुट्टाछुट्टै मूल्याङ्कन गरी प्रथम द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिने कुरा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख गौतम तामाङले जानकारी दिए ।




