पोखरा/पोखरा पब्लिक स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान पुरस्कृत गरेको छ ।
शनिबार विद्यालयमा आयोजित कार्यक्रममा एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान र बधाई दिँदै पुरस्कृतसमेत गरिएको हो । ४ जीपीए ल्याएका दुई विद्यार्थी रोनिश खत्री र सक्षम पौडेललाई जनही ३५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
विद्यालयले दुवै विद्यार्थीको उपलब्धिले विद्यालयसँगै समग्र पोखराकै शैक्षिक प्रतिष्ठा उँचो बनाएको भन्दै पुरस्कृत गरेको हो । उत्तीर्ण सबै विद्यार्थी,अभिभावक र शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।
पोखरा पब्लिकबाट यस वर्ष एसइईमा सहभागी ६४ जना विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा अध्यक्षता गरेका वसन्तप्रसाद पराजुलीले विद्यालयको निरन्तर शैक्षिक सुधार र गुणस्तरीय शिक्षामा ध्यान दिइएको उल्लेख गरे ।
विद्यालयका प्रधानाध्यापक कृष्ण केसीले विद्यार्थीहरूको सफलताको श्रेय विद्यार्र्थी मिहिनेत, समर्पित शिक्षक र निरन्तर सहयोग गर्ने अभिभावकलाई दिए ।
‘हाम्रो उद्देश्य केवल परीक्षा उत्तीर्ण गराउनु मात्र होइन, गुणस्तरीय शिक्षा प्रदान गर्नु पनि हो । अहिलेको एसइई नतिजा र विगतका उपलब्धिले त्यसलाई पुष्टि गरेको छ,’ उनले भने ‘परीक्षाको मात्र होइन, जीवनका सबै परीक्षामा सफल हुनुपर्छ ।’
प्रधानाध्यापक केसीले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको जानकारी दिए ।
कार्यक्रममा पूर्वविद्यार्थी तथा महिला रोग विशेषज्ञ डा. अनुपमा कार्की र एमबीबीएस अध्ययनरत प्रेरणा श्रेष्ठले सफलताका लागि निरन्तर मिहिनेत र अनुशासन अपरिहार्य हुने बताए ।
विद्यालयका सल्लाहकार रवि बरालले विद्यालयले राम्रो शैक्षिक इन्डेक्स तयार पारेको उल्लेख गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम आचार्यले अहिलेको पुस्ताले पढाइसँगै व्यवहारिक ज्ञानमा पनि ध्यान दिनुपर्ने बताए ।
विद्यालय २०५१ साल पुस ११ गते स्थापना भएको हो । प्रधानाध्यापक कृष्ण केसी संस्थापकसमेत हुन् । हाल विद्यालयमा हजारौं विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक केसीले जानकारी दिए । विद्यालयले २०७२ सालमा कास्की जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको नेपाली प्राध्यापक मोतिसागर त्रिपाठीले जानकारी दिए ।




