मुस्ताङको कोरला नाकाबाट नेपाल भित्रिएको १ लाख २० हजार थान विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ । गत शुक्रबार नेपाल भित्रिएका दुईवटा ट्रकमा अवैध सामान रहेको सूचनापछि ती ट्रक नियन्त्रणमा लिएको भन्सार कार्यालयले जनाएको छ । भेपको बजार मूल्य करिब ८० करोड रुपैयाँको रहेको अनुमान छ । नेपालमा भेप आयात प्रतिबन्धित छ तर अवैध तरिकाले भेप भित्र्याउने गिरोह उत्तिकै सक्रिय छ । यसअघि त्रिभुवन विमास्थलबाटै भेपमा सुन लुकाएर ल्याउने गिरोहसँगको साँठगाँठका कारण पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा नै जोडिएका थिए ।
पछिल्लो समय संचालनमा आएको गण्डकी प्रदेशको कोरला नाका पनि यस्तै भेप ल्याउने मार्ग बन्नु चिन्ताको विषय हो । गण्डकीको उपल्लो मुस्ताङको लोमान्थाङमा पर्ने कोरला नाका २०८० सालको भदौबाट औपचारिक रुपमा संचालनमा ल्याइएको हो । कोरला नाकालाई नेपाल–तिब्बत व्यापारको महत्वपूर्ण मार्गको रुपमा हेरिएको छ । यो नाका संचालनको लागि मित्रराष्ट्र चीनले पूर्वाधारमा ठूलो लगानी गरेको छ । सिगात्सेदेखि कोरलासम्मको सडक बिस्तार र पूर्वाधारमा गरिएको लगानी हेर्दा चीन यो मार्गलाई आउँदा दिनमा प्रमुख व्यापारिक मार्गको रुपमा विकास गर्न उद्यत छ भन्ने प्रष्ट पार्छ । नेपालको सीमाभन्दा परपट्टि बनाइएको चिनियाँ भन्सार कार्यालय सम्पूर्ण पूर्वाधार र प्रविधिले सुसज्जित छ । चीनले यही मार्ग हुँदै नेपालबाट माछा, अमिलो फलफूल, जडीबुटीलगायतका सामान लैजाने प्रतिवद्धता पनि व्यक्त गरेको छ । गएको वर्षायाममा रसुवा नाका बन्द भएपछि कोरलालाई वैकल्पिक नाकाको रुपमा प्रयोग गरियो । त्यो बाटो हुँदै सयौँ विद्युतीय गाडी र अन्य सामानहरु नेपाल भित्रिए । कोरला नाकाको दीर्घकालीन उपयोगमा त्यसले नयाँ आयाम दियो ।
नाका सुरु भएसँगै त्यहाँको कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउने क्रम पनि सुरु भयो । तस्करहरुले त्यो नाकालाई अवैध सामान नेपाल भित्र्याउने मार्गको रुपमा प्रयोग गर्न थाले । २०८१ सालको पुसमै त्यही बाटो ल्याइएको ठूलो परिणामको भेप बरामद भयो । त्यो घटनाले यो नाका तस्करहरुको आँखामा परिसकेको पुष्टि भयो । मुस्ताङ सदरमुकाम जोमसोमबाट १ सय किलोमिटर परको त्यो भन्सार नाकाको सुरक्षा प्रबन्धबारे प्रश्न उठ्यो । नाकाभन्दा १३ किलोमिटर वर रहेको सो भन्सार कार्यालय र सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको कार्यालयलाई सुविधा सम्पन्न बनाउनुपर्ने माग गरिएको । तर, कामको गति सुस्त छ । कोरला नाका संवेदनशील नाकामध्येको एक हो । कुनैबेला तिब्बती धर्मगुरु त्यही बाटोबाट भारत पुगेपछि चीनले स्थानीयका लागि खोल्ने सो नाकामा कडाइ गर्न थालेको थियो ।स्थलमार्गबाट ठूलो जनसंख्या भएको दक्षिण एसिया प्रवेश गर्नका निम्ति कोरला प्रयोग गर्न चीन तयार भएसँगै खुलेको यो नाकाको संवेदनशीलता बुझ्नैपर्छ । कुटनीतीमा ‘ज्या’ भन्ने शब्दावली हुँदैन । भोलिका दिनमा यो नाकाको सुरक्षा प्रबन्ध गडबड भयो र मित्रराष्ट्रलाई असर पुग्न गयो भने पछुताउनुको कुनै अर्थ रहँदैन । अहिले चाहिँ यो नाकालाई अवैध क्रियाकलापबाट जोगाउनु पर्छ । भन्सारका लागि आवश्यक सुरक्षा प्रबन्धमा ध्यान दिनैपर्छ ।




