काठमाडौं/आइसिसी विश्वकप लिग–२ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डमाथि नेपालले विजय हासिल गरेको छ । यो जितसंगै नेपाल अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा सोमबार नेपालले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित निकालेको हो । १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा पूरा गरेको हो । खेलमा कप्तान रोहित पौडेल ७४ रन बनाउँदै नट आउट रहे । उनले ९८ बल खेलेर ५ चौका र २ छक्का प्रहार गरे ।
पहिले ब्याटिङ गरेको स्कटल्याण्डलाई नेपालले ३९.१ ओभरमा अल आउट गरी १९४ रनमा रोकेको थियो । त्यस क्रममा ललित राजवंशीले चार विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए । लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए । उनले १० ओभर बलिङमा ४७ रन खर्चिए । सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक/एक विकेट लिए ।
स्कटल्याण्डविरूद्ध जितसँगै क्यानडा र नामिबियालाई उछिनेको हो । नेपालले अब बाँकी ९ खेल पनि जित्न सके सिधै विश्वकप छनोट खेल्न पाउनेछ । जारी सिरिजमा पनि नेपालले एक खेल खेल्न बाँकी छ । शुक्रबार नेपालले सिरिजको अन्तिम खेल अमेरिकासँग खेल्नेछ ।





