शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विज्ञान शिक्षा प्रवर्द्धन गर्न विद्यामन्दिरमा पञ्चवर्षीय योजना

विज्ञान शिक्षा प्रवर्द्धन गर्न विद्यामन्दिरमा पञ्चवर्षीय योजना

विद्यालयले कम्प्युटर ल्याब अझै व्यवस्थित बनाउने लक्ष्य पनि राखेको छ । कक्षा १ देखि १० सम्म अंग्रेजी भाषाको छुट्टै कक्षा सञ्चालनमा छ ।


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ५ २०८३, मंगलबार

बागलुङ/जिल्लाकै जेठो विद्यामन्दिर माध्यमिक विद्यालयले पुर्वाधार निर्माण र गुणस्तर सुधारका लागि विज्ञान प्रवद्र्धनको पञ्चवर्षिय योजना लागू गरेको छ ।

कक्षा ११ र १२ को विज्ञानलाई राजधानी र ठूला सहरी क्षेत्रका विद्यालयको तुलनामा लैजाने र अब्बल तथा नमूना बनाउने लक्ष्यले पञ्चवर्षिय योजना बनाएर काम थालेको हो ।

पहिलो चरणमा संघिय शिक्षा मन्त्रालयको शिक्षा विकास तथा मानव श्रोत विकास केन्द्रको सहयोगमा कम्प्युटर ल्याब, कक्षा कोठामा स्मार्ट बोर्ड जडान, प्रयोगशाला स्थापना, अनुसन्धानमा विद्यार्थी परिचालन जस्ता काम थालेको प्रधानाध्यापक छविरमण रेग्मीले बताए ।

पञ्चवर्षिय योजनामा केन्द्रले साथ दिएको र उक्त योजना पुरा गर्न हरेक वर्ष ४५ लाख रुपैयाँ अनुदान दिएको छ । यो अनुदानबाट विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्दै विज्ञान संकायमा प्रदेश तहकै अब्बल बनाउने लक्ष्य राखेको छ । हाल यहाँ ८२ जना विद्यार्थी विज्ञान संकायमा अध्ययनरत छन् ।

विद्यालयको आर्कषक र भव्य भवन त बनिसकेको छ । भूकम्पपछि जीर्ण भवन भत्काएपछि पूर्व विद्यार्थीहरुको साथ र सहयोगमा भव्य भवन ठडिएको हो । त्यस बाहेक राज्यका निकाय, गैरसरकारी संस्था समेतले विद्यालयलाई सहयोग गरेका छन् । वि सं १९९७ सालमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले विद्यालयको स्थापना गरेका थिए । पछिल्लो दशक जिल्लामै धेरै विद्यार्थी पढाउने विद्यालय विद्यामन्दिर बनेको छ । रेग्मीका अनुसार अहिले पनि यो विद्यालयमा १ हजार २८१ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले कम्प्युटर ल्याब अझै व्यवस्थित बनाउने लक्ष्य पनि राखेको छ । कक्षा १ देखि १० सम्म अंग्रेजी भाषाको छुट्टै कक्षा सञ्चालनमा छ । आधुनिक जमानाको आवश्यकता अनुसार विद्यालयमा अंग्रेजी माध्यम राखेपछि विद्यार्थीको आर्कषण बढेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले समितिका पदाधिकारी समेत नियमित रुपमा विद्यालयमा आएर गुणस्तर सुधार तथा भौतिक व्यवस्थापनमा लागेको बताए ।

‘हामीले मेहेनत गरेकै कारण चालु वर्षको भर्ना अभियानमा १ सय ८० विद्यार्थी भर्ना भैसकेका छन्,’ श्रेष्ठले भने, ‘विद्यामन्दिर अब राजनीतिक अखडा होइन, शैक्षिक धरोहर बनेको छ ।’ उनले अध्ययनको वातावरण बनेकोले अभिभावकले पनि विश्वास गर्न थालेको बताए ।

श्रेष्ठले अध्यक्ष भएपछि नै विद्यालयमा गुणस्तर सुधार गर्ने, दाताहरु बढाउने, उनीहरुलाई थप सहयोगका लागि आग्रह गर्ने काम थालेका छन् । यो अभियान स्वरुप यसअघि लगानी गरेका अभिभावकलाई विद्यालयमै ल्याउने काम भएको छ । कतिपयले विद्यालयमा आएपछि बनेको भवन, उचित व्यवस्थापन र शान्त वातावरण देखेर थप सहयोग गर्न थालेको बताए ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका सबै सदस्यलाई पालैपालो विद्यालयमा ल्याउने, आवस्यक सुधार र सहयोगका लागि आब्हान गर्ने काम पनि थालिएको छ । शिक्षकले जस्तै व्यवस्थापन समितिका पदाधिकारीले पनि एकएक कामको जिम्मा लिंदा विद्यालयमा थप सुधार गर्न सकिएको उनको भनाइ छ ।

विद्यालयमा चालु वर्ष नै नबिल बैंकको सहयोगमा स्मार्ट खानेपानीको व्यवस्थापन गरिएको छ । त्यस्तै खेलमैदान स्तरीय बनाइएको छ । आन्तरिक श्रोतबाट कम्प्युटर ल्याब व्यवस्थापन भएको छ । विद्यालयले बागलुङ समाज कल्याण केन्द्रमा १५ कम्प्युटरको माग पठाएको छ । गुणस्तर सुधारकै कारण विज्ञानतर्फ शत प्रतिशत विद्यार्थी उत्तिर्ण भैरहेका छन् । त्यस बाहेक व्यवस्थापन र शिक्षा संकायमा पनि झण्डै ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भैरहेका छन् । गत साताको एसईई परीक्षाफलमा ९८ प्रतिशत उत्तिर्ण भएका छन् भने ११ विद्यार्थीको सर्वोकृष्ट नतिजा आएको रेग्मीले जानकारी दिए ।

विद्यालयमा हाल २७ जना शिक्षक कर्मचारीको मात्रै दरबन्दी छ । तर अंग्रेजी माध्यम सहितका कार्यक्रमहरु सञ्चालन गर्दा ८२ जना शिक्षक कर्मचारी कार्यरत छन् । हाल ५५ जनालाई विद्यालयले आन्तरिक श्रोतबाट तलब खुवाउने गरेको छ । नगरपालिका र अन्य निकायमा एकदुइ जना भएपनि शिक्षक कर्मचारीको दरबन्दी थप गरिदिन विद्यालयले माग पठाएको छ । त्यो माग अनुसारको काम भएमा आर्थिक भार कम भइ गुणस्तरमा थप गर्न सकिने उनले बताए । विज्ञान संकाय व्यवस्थापन गर्न विद्यालयले कृष्ण गौतम र अंग्रेजी माध्यम व्यवस्थापन गर्न टीकाराम सापकोटालाई इन्चार्ज बनाएर खटाएको समेत रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->