शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा भोलीदेखि पाँचौं अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने

पोखरामा भोलीदेखि पाँचौं अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १० २०८३, आइतबार

पोखरा/ खेलकुदको शहरका रूपमा परिचित पोखरामा विद्यालय तहको फुटबल खेलको विकास गर्ने उद्धेश्यले पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ यही जेठ १२ गतेदेखि आयोजना हुने भएको छ ।

पोखराको ड्यामसाइड क्लबको आयोजनामा जेठ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा हुने भएको क्लवले जनाएको हो ।
क्लवले शनिबार पोखरामा टाईसिट प्रकाशन तथा पत्रकार सम्मेलनमा जानकारी दिँदै क्लबका अध्यक्ष रमेश प्रसाद बरालले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्दै फुटबलको ग्रासरुट विकासमा योगदान पु¥याउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिएको बताए । प्रतियोगितामा वडा नम्बर १७ भित्र रहेका १९ वटा सामुदायिक तथा निजी विद्यालयको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका संयोजक विकास रानाभाटका अनुसार प्रतियोगिताभर प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई ट्रफी प्रदान गरिनेछ । साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई पनि विभिन्न विधामा पुरस्कृत गरिने भएको छ ।

‘सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई विशेष ट्रफी प्रदान गरिनेछ,’ रानाभाटले भने । गतवर्ष सम्पन्न चौथो संस्करणको प्रतियोगिताको उपाधि हिमालयन बोर्डिङ स्कुलले जितेको थियो । पोखरा–१७ का खेलकुद संयोजक तथा वडा सदस्य विक्रम गुरुङले वडामा सोमबारदेखि एक साता विभिन्न खेलकुद फुटवल सहित व्यडमिन्टन, सडक दौड, बुद्धिचाल प्रतियोगिता, हाजिरी जवाफ लगायतका प्रतियोगिता आयोजना हुने बताए ।

क्लबका पूर्व अध्यक्ष पदम ढकालले ड्यामसाइड क्लबले २०५९ सालदेखि खेलकुद, पर्यटन तथा सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको बताए । क्लबले आफ्नो प्रयासबाट राष्ट्रिय स्तरसम्म पुग्न सफल खेलाडी उत्पादन गरेको दाबी समेत गरेको छ । राजेन्द्र तामाङ, रवि थापा, प्रताप शैजु, बसन्त गौचन, विशन गौचनलगायतका खेलाडीहरू यही क्लबबाट अघि बढ्दै ए डिभिजनसम्म पुग्न सफल भएका छन् । हाल विभिन्न स्तरमा खेलिरहेका करिब २४ जना खेलाडी उत्पादन गर्न क्लब सफल भएको दाबी गरिएको छ ।

महासचिव राकेश श्रेष्ठले प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख ५ हजार २ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->