पोखरा/पोखराको बिचमा पर्ने फिर्केको अतिक्रमण हटाउने अभियान सुरु भएसँगै पोखराका मेयर धनराज आचार्यले फिर्के खोलाको तिरैतिर आकर्षक पैदल मार्ग निर्माणको घोषणा दोहो¥याएका छन् । मेयर आचार्यको घोषणा कार्यान्वयनमा आए करिब ८ किलोमिटर लामो फिर्के खोलाको दायाँबायाँ व्यवस्थित फुटट्रेल, सुरक्षित साइकल लेन, मर्निङ तथा इभिनिङ वाकका लागि आकर्षक पदमार्ग बन्ने छ ।
मेयरबाट आइतबार सामाजिक सञ्जालमार्फत् घोषित सो परियोजनालाई खोला संरक्षण योजनामात्र नभएर पोखरालाई ‘हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर सहर’ का रूपमा स्थापित गर्ने दूरदर्शी अभियान भएको जिकिर पनि गरेका छन् । दक्षिण कोरियाको राजधानी सिओल भएर बग्नेचेओङग्ये ( चेङग्येच्योन) नदीले पुनर्जीवन पाएजस्तै फिर्केलाई पनि पुनर्जीवित गर्ने उनको घोषणा छ ।
कस्तो हो चेओङग्ये परियोजना
चेङ्ओङग्ये दक्षिण कोरियाको राजधानी सिओलको बिचमा रहेको छ । सिओललाई उत्तर र दक्षिणमा विभाजित गर्ने यो नदी ५१४ किलोमिटर लामो छ । सन् १९७० अघिसम्म यो नदी सुन्दर र स्वच्छ थियो । तर, तीव्र सहरी र औद्योगिकीकरणसँगै प्रदूषित बन्यो । सन् २००३ मा सिओल महानगरले यो नदीलाई पुनर्जीवन गर्ने योजना कार्यान्वयनमा ल्यायो । परियोजनाअन्तर्गत हान नदीबाट त्यसमा १२ हजार क्युविक मिटर पानी झारियो । प्रदूषित पानी मिसाउन बन्द गरियो । २७ महिने परियोजनापछि ५ .८४ किलोमिटर मुख्य सहरी क्षेत्रमा रहेको नदी स्वच्छ बन्यो भने हिजो नाक थुन्नुपर्ने ठाउँ पर्यटकीय गन्तव्य बन्यो । मानिसहरु खाजा खान र मनोरञ्जनका लागि सो क्षेत्रमा पुग्न थाले । नदी वरिपरि पार्क, साइकल ट्रयाक, क्रुज बोट, र पिकनिक स्थलहरू भएकाले यो पर्यटक तथा स्थानीय मानिसहरूको लोकप्रिय घुम्ने ठाउँ बन्न पुग्ग्यो । त्यहाँ अहिले दैनिक ६४ हजार पर्यटकले भ्रमण गर्ने सिओल महानगरको भनाइ छ ।
यस्तो छ योजना
मेयर आचार्यले फिर्केको प्राकृतिक बहाव संरक्षण गर्दै दुवै किनार हरियाली बेल्ट, रैथाने बोटबिरुवा, ढुंगे तटबन्ध, स्मार्ट विद्युतीकरण तथा वातावरणमैत्री सार्वजनिक खुला क्षेत्र बनाइने घोषणा गरेका छन् ।
करिडोरभित्र ठाउँ–ठाउँमाःपोखरेली शैलीमा विश्राम स्थल,कफी पोइन्ट तथा खुला क्याफे,सेल्फी पोइन्ट र दृश्यावलोकन स्थल,सानो खुला पार्क तथा बस्ने चौतारी,सांस्कृतिक तथा कलात्मक संरचना,बालमैत्री र ज्येष्ठ नागरिकमैत्री खुला क्षेत्र रहने पनि उनको भनाइ छ ।
‘फिर्के करिडोरलाई केवल हिँड्ने बाटो होइन,‘जीवनशैली र मनोरञ्जनको सार्वजनिक गन्तव्य’ बनाउने हाम्रो योजना हो,’ मेयर आचार्यले भनेका छन्, ‘ वर्षायाम बाहेक सुख्खा समयमा पनि खोलामा सफा पानीको बहाव कायम राख्न आवश्यक व्यवस्थापन गरिनेछ । हिउँदको समयमा याम्दी खोलाको पानी मिसाइ प्राकृतिक बहावलाई जीवन्त बनाइने छ ।’
उनले यो परियोजना सम्पन्न हुँदा फिर्के खोलाको अतिक्रमण नियन्त्रण र दीर्घकालीन संरक्षण हुनुका साथै नयाँ पर्यटकीय गन्तव्य बन्ने छ । वातावरणीय सुधार र सहरी तापक्रम नियन्त्रणमा फिर्केले सघाउने छ भने फिर्के केवल पानी बग्ने खोलाको रूपमा होइन, पोखरेली नागरिकको दैनिकी, विश्राम, मनोरञ्जन, स्वास्थ्य, पर्यटन र हरित भविष्यसँग जोडिएको जीवन्त सार्वजनिक सम्पत्तिका रूपमा स्थापित हुनेछ ।
कति खर्च, कहाँबाट आउला ?
महानगरका मेयर धनराज आचार्यको सपना पूरा नहुने खालको हैन । मेयर आचार्यले भनेजस्तै दक्षिण कोरियाको राजधानी सिओलमा रहेको चेओङग्ये,लण्डनको थेम्स,वासिङ्टनको एनाकोष्टिया,ल्याटिन अमेरिकाको रिचुयिलोमा यसको सफल प्रयोग भइसकेको छ । सन् १९५० मा लण्डनको बिचमा रहेको थेम्स नदीलाई जैविक र वातावरणीय रुपले ‘मृत’ घोषणा गरिएको थियो । नदीमा माछा थिएनन् तर एक दशकको प्रयासपछि त्यहाँ १०७ जातका माछा र जलपंक्षीहरु पुनः फर्किएका थिए । सिओलको चेओङग्ये पुनर्जीवन परियोजनाका निम्ति झण्डै ३ सय ८६ (३७ अर्ब रुपैयाँ) मिलियन अमेरिकी डलर खर्च भएको थियो ।
महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार एसियाली विकास बैंक(एडीबी)ले पोखराको दिगो पर्यटन विकास परियोजनाअन्तर्गत नै फिर्केलाई समेटेको थियो । एडीबीले भने अनुसार काम भएको भए यो परियोजना सन् २०२४ बाट सुरु भएर २०२६ सम्मको ३६ महिनामा सकिनुपर्ने थियो । यो परियोजनाका लागि एडीबीले ५ मिलियन अमेरिकी डलर अर्थात ७६ करोड ४३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको थियो । त्यसमा क्षमता अभिवृद्धिका लागि थप २ लाख अमेरिकी डलर खर्च हुने योजना थियो । यो परियोजनाले हरित सहर निर्माण, स्थानीयको जीवनस्तरमा बृद्धि हुने तथा हावाको शुद्धता बढ्ने एडीबीको प्रक्षेपण थियो ।
तर,२०८० सालमा सुरु सो परियोजना अनुसार काम अगाडि बढ्न सकेन । फिर्केको मापदण्ड कायम भएन । मापदण्डविरुद्धमा अदालतमा मुद्दा परेपछि एडीबीले सो परियोजनाबाट हात झिक्यो । अहिले पोखरामा एडीबीका ८ वटा परियोजना संचालनमा छन् । तीमध्ये लेक टु लेक साइकल ट्रयाक,पञ्चासे विकास परियोजना,सम्पदा संरक्षणजस्ता परियोजना रहेका छन् ।
‘फिर्केलाई फेवाताल संरक्षण र तालदेखि तालसम्मको साइकल मार्ग तथा सम्पदा संरक्षणसँग जोड्ने योजनामा भाँजो आइलागेपछि नै त्यो काम रोकिएको हो,’ पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले भने, ‘पहिला समस्या समाधान गर अनि लगानी गरौँला भनेका हुन्, अहिले पनि कुरा भएको छ । कति खर्च हुन्छ भन्ने पछिको कुरा हो ।’
यो करिडोरलाई पदयात्रा मार्ग बनाउनका लागि यसअघिका मेयर मानबहादुर जिसीको पालामा पनि ३० लाख विनियोजन गरिएको थियो । फिर्केको मापदण्ड कायम गराउने भन्दै २०७५ साल असार २ गते आफैंले डोजर चलाउँदा मेयर जिसी घाइते भएका थिए ।
कहाँकहाँ चल्यो डोजर ?
आइतबार बिहान पोखरा महानगरपालिकाको सूचनाअनुसार पोखरा २ र १८ को सीमाना अँधेरीकुनामा चलेको डोजर अतिक्रमित संरचना वडा नं. ४ आउनेछ । ४ र ५ को सीमामा रहेको फिर्केपुलमा बनेको बुढानीलकण्ठ मन्दिरहुँदै दुईवटा एक्साभेटर र एउटा डोजर वडा नं. ५ र ८ तिर आउनेछन् ।
पोखरा ७ र ८ को सीमाना जिरोकिलोमिटरमा रहेको लायन्स भवनमा भत्काएपछि दुई एक्साभेटर, एक डोजर र २ टिप्पर वडा नं. ६ तिर लाग्नेछन् ।
यसको शुभारम्म पोखराका मेयर धनराज आचार्यले गरेका छन । पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र बनेका संरचना हटाउन गत जेठ ६ गते ३ दिनको अल्टिमेटम दिएको थियो । महानगरले ०८० कात्तिक १० गते पहिलोपटक ३५ दिनभित्र अतिक्रमित संरचना हटाउन सूचना जारी गरेको थियो । तर, अदालती मामलाका कारण त्यतिबेला जारी सूचना कार्यान्वयन भएन ।





