म्याग्दी/ हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका ३ र ४ नम्बर वडामा बसोबास गर्ने ५४ कुरिया मगर समुदायले १३ औं सताब्दी देखि मनाउँदै आएको मुख्य चाड धुलेको औपचारीक बिधि सकिएको छ । म्याग्दीमा मानिदै आएको मध्ये सबै भन्दा पुरानो तथा नेपालकै पुरानो मध्येको एक पर्व धुले बिहीबार सकिएको हो ।
चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबार सुरु भई त्यसपछिको अर्को बिहीबार सकिने धुले जेठ ५ गते मंगलबार पितृ पुजाका लागि प्रसाद राखेपछि विधिवत रुपमा शुरु भएको थियो । ५४ घर कुरिया मगरहरुले बि.सं. १३१२ मा मंगला गाउँपालिका ४ बरंजाको थर्पुमा कोत घर निर्माण गरेर धुले मेला मनाउन थालेको तथ्यहरु भेटिएको उनीहरुको दावी छ । १३ औं शताब्दी देखिको यो परम्परागत पर्व अहिले पनि मनाउँदै आएका छन् । ९ वटा फरक थरका ५४ घर मगरबाट सुरु भएको सो पर्व प्रत्येक वर्ष जेठको मङ्गलबार सुरु भएर अर्को हप्ताको बिहीबार सकिन्छ । कोभिड–१९ को कारणले गर्दा २०७७ र ०७८ मा बिधि मात्रै गरेर सकिएको धुले त्यसपछि भने धुमधाम सँग मनाइदै आएको छ ।
यो पर्व मनाउन थालेको तथ्यहरुलाई हेर्ने हो भने अहिले सम्म सात सय ७० वर्ष देखि निरन्तर पूजा हुँदै आएको देखिन्छ । पुन मर्चथाके रोका, बाझाङे रोका, मास्ना घर्ती, राम्जाली रोका दर्लामी, धर्ती, सुतप्राई घर्ती, बुढाथोकी र फगामी घर्तीको समुहले १३१२ देखिनै बरंजाको थर्पु क्षेत्रमा धुले मनाउन थालेको उनीहरुको दावी छ । पुरानो संस्कार जोगाउँदै आधुनिकीकरण पनि गरिनुपर्ने युवाहरुको माग र चाहना हुँदै गर्दा पनि पुरानो पुस्ताहरुको अवसान सँगै यो पर्व पनि सकिने हो कि भन्ने चिन्ता युवाहरुमा देखिन्छ । शुरुमा अन्यत्रबाट नौ थरका ५४ कुरिया आएर बरंजाको थर्पु क्षेत्रमा बसोबास गर्न थालेसँगै विस्तारै धुले मेलाका नामबाट पर्व मनाउन सुरु गरेको जनविश्वास छ ।
उक्त क्षेत्रमा ५४ घरबाट सुरु भएका मगरहरु चार सय भन्दा धेरै घर र करिब तीन हजारको हाराहारीमा जनसंख्या पुगेको अनुमान छ । गत हप्ताको मंगलबार पितृ प्रसाद अर्थात् छ्याङ राखेर थालनी भएको धुलेको विधि जेठ १२ गते मंगलबार पितृकार्य अर्थात् पितृ चढाइएको थियो । त्यसपछि छेको हाल्ने कार्य गरिएको थियो । छेको हालेपछि गाउँभरमा कुनै पनि काम गर्न नहुने, खेतीपाती एवम् अन्यत्र जान नहुने प्रचलन रहेको छ । लोकल रक्सी उत्पादनको बिधि अनाज पकाएर त्यसमा मर्चा मिसाएर छ्याङ (जाँड) राखेपछिको मङ्गलबार पितृ चढाउने, बुधबार पराङ हालेर आफ्नो समुदायभित्रका युवा युवतीहरुबीच रमाइलो गर्ने र बिहीबार मुल बिधि गरेर धुले औपचारीक समापन गरिएको धुले संरक्षण समितिका सचिव कर्णबहादुर रोकाको भनाइ छ ।
धुलेको अन्तिम दिन अर्थात् बिहीबार ५४ कुरिया मगरको कोत घरमा पाका पुस्ताले ११२ श्लोक गीत अर्थात् मन्त्र गाउने गर्छन् । ती गीतका टुक्काहरुलाई होरे गाउने र कोतमा भएका पाका पुस्ताले प्रत्येक श्लोक गीत गाएपछि बाहिर गोलो भएर लौरी समातेर बसेकाहरु प्रत्येक गीत सकिँदा एक फन्को घुम्ने गर्दछन् । बिहीबार दिउँसो सुरु गरेर ११२ टुक्का गीतका श्लोक गाइसकेपछि साँझ धुले मेला सकिन्छ । धुले पर्वको विविधता निकै फरक छ । नेपालको अन्यत्र रहेका मगर समुदाय र ५४ कुरिया मगर समुदायको चालचलन तथा रिति थिती भिन्दै छ । उनीहरुले पितृ कार्य तथा पित्रृ उद्धारका लागि र रमाइलो उत्सवका रुपमा मनाइदै आएको परम्परालाई आफूहरुले नछाड्ने र आगामी पुस्ताले पनि छाड्न नहुने मंगला गाउँपालिका ४ का वडा अध्यक्ष लालबहादुर रोकाको भनाई छ ।
धुले पर्वको समयमा ५४ कुरिया मगरको तर्फबाट धुले पर्वको तयारीका लागि नौ घरबाट अनाज ल्याएर छ्याङ राख्नु पर्दछ । ९ थरका ५४ कुरीया मगरहरुबाट नै परापूर्वदेखि पर्व मनाउन थालिएको हुँदा हरेक काममा ९ थरका सबैकहाँबाट सामग्री आवश्यक पर्दा पनि र अन्यकाम गर्दा पनि सहभागिता पनि त्यसै गरी हुने गर्दछ । होरे गाउँने तथा होरे नाच्ने पनि नौ थरकै सहभागिता हुने गर्दछ । होरो नाच्नेसँगै माकुर माकुर्नी तथा मारुनी पनि आकर्षणका रुपमा रहन्छन् । माकुर माकुर्नी धुले मेलामा मुख्य आकर्षणको रुपमा पनि लिन सकिन्छ । खासमा माकुर माकुर्नी भनेको ढुकुर चराको जोडीको रुपमा रहन्छन् । प्रेमको प्रतिक र आफ्नो समुदायलाई मनोरन्जन गराउनु उनीहरुको मुख्य काम हुन्छ । पर्वमा जम्मा भएका अन्य भन्दा फरक देखिने धनुषकाँड लिएर हिड्ने उनीहरुको आफ्नै मनोरञ्जन र उपस्थित महानुभावलाई मनोरञ्जन गराउने पनि गरी रहेको हुने धुले पर्व तथा कोत संरक्षण समितिका अध्यक्ष रुद्रबहादुर रोकाको भनाई छ ।

धुले पर्वको १० दिन लामो पर्खाइको अन्त्य ग्रामिण भेकमा माहुरी पाल्ने काठेको घार लतारे पछि सकिन्छ । ५४ कुरिया मगरहरुले उक्त घारलाइ आफ्नो चलनचल्तीको भाषामा ढोठो भनिने उक्त घार अर्थात् ढोठो लतारे पछि यो वर्षको धुले पर्वको सम्पूर्ण विधि सकिएको हो । अघिल्लो हप्ता पितृ प्रसाद राखेपछि शुरु भएको पर्वको विधि चालु हप्ताको मंगलबार नदि तथा खोला खेलेर सिकार गरी ल्याएका माछा, पाहा, गंगटा जस्ता सिकारले पितृ चडाउदै पुजा गरेपछि अन्तिम तीन दिनका मुख्य बिधि सुरु हुन्छ । मंगलबार पितृ चडाए पछि धुले पर्व मनाउने मगर बसोबास रहेको क्षेत्रमा कुनै पनि प्रकारको बाहिरी काम गर्न पाइदैन । घरको सरसफाइमा पनि ढोका बाहिरको बाहिरै र ढोका भित्र बढारेको धुलो पनि बाहिर निकाल्नु नपाइने नियम रहेको स्थानीय बुद्धीबहादुर घर्तीको भनाई छ । बुधबार युवायुवती केन्द्रीत कार्यहरु पराङ हाल्ने र बिहीबार मुख्य बिधि होरे गाउने, नाच्ने गरे सँगै माकुरले डोठो लतारेर कोतघर घुमाएर पर लगेर फाले पछि धुलेका सबै विधि सकिन्छ । यस वर्षको धुलेको बिधि पनि बिहीबार करिब ४ बजे तिर सकिएको धुले संरक्षण समितिका अध्यक्ष अर्जुन राकाको भनाई छ ।
५४ कुरिया मगरहरुले हरेक वर्ष जेठमा धुले पर्व मनाउने र तिहारको समयमा एक वर्ष विराएर आगादेउ पुजा गर्ने गर्दछन् । एक वर्ष तिहारमा देउसी खेल्ने अर्को वर्ष तिहारमा आगादेउ पुजा गर्ने चलन छ । आगादेउ पुजा भनेर भनिने भए पनि धुलेमा हुने बिधिहरु सामान्यतया उनीहरुको स्थलको बार बन्देज भन्दा बाहिर बसेर हेर्न सकिने भएतापनि आगादेउको विधि अन्य जातीहरु कसैले पनि हेर्न पाउँदैन । हरेक ५४ कुरिया भित्रका मगरहरु विश्वका जुनसुकै मुलुकमा पुगेको भए पनि धुले र आगादेउ मनाउन गाउँमा आउनु पर्ने युवाहरुको तर्क छ । उनीहरु आफ्नो पुर्खाले थालेको परम्परालाई जोगाउनका लागि सबैले आफ्नो घरमा आउनु पर्ने र पर्वमा सहभागी हुनु पर्ने धारणा अष्ट्रेलियाबाट धुले मनाउन आएका दिपक रोकाले सुनाए ।
धुलेको मुख्य बिधि सकिए सँगै धुले मेलाको अवसर पारेर अन्य विविध खेलकुद गतिविधि पनि हुन्छ । यस वर्ष धुले पर्व २०८३ विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने छ । प्रतियोगितामा छात्रछात्रा दौड प्रतियोगिता, आमा समुह बीच नृत्य प्रतियोगिता, खुल्ला वडा स्तरीय पुरुष भलिबल, वडा स्तरीय प्रौढ भलिबल, खुल्ला महिला भलिवल, नृत्य, बा समूहका बीच तथा आमा समूहका बीच दोहोरी गित प्रतियोगिता रहेको छ । खुल्ला भलिबल प्रतियोगितामा एक लाख ३० हजार प्रथम पुरस्कार रहेको छ भने प्रौढ भलिबल र महिला भलिबलको पहिलो पुरस्कार ५० हजार रहेको मेला अध्यक्ष रनबहादुर रोकाले बताए । उनका अनुसार गत वर्ष एक लाख रुपियाँ पुरस्कार राखिएकोमा यस वर्ष उक्त रकम बढाएर एक लाख ३० हजार बनाइएको हो । धुले संरक्षण समितिको मुल आयोजनामा हुने प्रतियोगिताको थर्पु आमा समूह र बाघहान्ने गौडा खानोपानी समिति सहआयोजक रहेका छन् ।





