प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मौन क्रान्ति जायज कि नाजायज कौतुहलताको विषय छ । ऊनी किन औपचारिक रूपमा बोल्दैनन् ? सर्वत्र चासो छ । बिहान सबेरैबाट साँझ अबेरसम्म प्रधानमन्त्री कार्यालयमा बिताउने उनी मन्त्री, कर्मचारी, प्रदेशगत सांसद र मुख्य मन्त्रीहरुसंग बोल्छन् । तर, तिनै मानिसहरूसंगको औपचारिक संसदमा बोल्दैनन् । आखिर यो किन गरिरहेका छन् । सर्वत्र चर्चाको विषय छ ।
फागुन २१ अघि रास्वपा एउटा शङ्काको भरमा थियो । ऊ जिवित अवस्य हुन्छ । परन्तु वर्चस्व कमाउनेमा आशावादीता मात्रै थियो । दुई चार जना नाम चलेका नेताले जित्लान् । समानुपातिक प्रणालीको भरमा संसदमा प्रतिनिधित्व होला । अन्यथा पुरानै दलसँग ज्यूज्यू गरेर सरकार बनाउला । भन्ने आशङ्काका बिच रास्वपा दुई तिहाइ नजिकको बहुमतले पूर्ण बन्यो । शक्तिशाली दलका हैसियतले सरकार निर्माण ग¥यो ।
जब बालेन शाह प्रधानमन्त्री बने, तब देश विदेशीले चलाउने भए भनेर अमेरिकी सेना नेपाल आउँने प्रक्षेपण भए । नेपाल भारतको गुलाम हुन्छ भनेर अड्कल काटियो । देशको बाग्डोर लुसिफर र सहकारी ठगको हातमा पुग्यो भनेर भ्रम फिजाइयो । तर आखिर के भयो ? देश कहाँ गयो ? कहिँ कतै गएन । आखिर काङ्ग्रेस, एमाले र माओवादी (नेपाली कम्युनिष्ट पार्टी)ले अड्कल काटेका वा जनतालाई भ्रमित पारेर चुनाव जित्ने दाउ पूर्णतः निस्तेज भए । बालेनले जनतासामु गरेका एकएक प्रतिबद्धताहरुलाई मौन सम्बोधन गरिरहदा विपक्षीलाई के निहुँ पाउ कनिका चपाउँ भएको यथार्थ हामी सामु छ ।
बालेनको मौन क्रान्तिले कतिलाई अनौठो तुल्याएको छ भने कतिको होस् हवास् उडेको छ । कति सांसदहरुले बालेन बोलेन भनेर संसदमा हुइया चलाइरहेका छन् तर बालेन कहिल्यै कसैसँग नझुक्ने बताउँदै आएका छन् । अब देश केवल भाषणले होइन, कामले बदल्नु पर्छ । उनी नबोल्नु अयोग्यता होइन नै, किन कि उनी यस अघि पनि पटकपटक बोलेको ज्ञात छ । यसर्थ थोरै बोल्नु वा बोल्दिन भन्नू अयोग्यता नहोला । अर्को कुरा सामाजिक सन्जालमा उनको उपस्तिथि छ नै, उनी बोल्न नजानेका वा लेख्न मात्रै जान्ने पनि नहोलान् ।
बालेनले आजसम्मका उपलब्धिको पुरै दस्तावेज तयार गरिएको र एकै पटक संसदमा पुगेर ती दस्तावेज र प्रगति विवरण सार्वजनिक गर्ने अनुमान पनि कतिको छ । कतिले संसदमा नबोलेर सस्तो लोकप्रियता र मिडिया ट्रायल गरेको आरोप लगाएका छन् । भने कतिले कार्यकारी प्रधानमन्त्रीको साहस देखाएर पुराना दलको खिल्ली उडाएको आशङ्का गरिरहेका छन् । काङ्ग्रेस, एमाले र माओवादीले बसाएको थिती विरुद्ध खरो उत्रने बालेन शैलीको स्वागत गर्ने जनता पनि छन् भन्ने यथास्थिति सामाजिक संजालमा छ । यहाँ सुकुम्बासीको नाममा नाराबाजी गर्ने, उनीहरुलाई देखाएर सरकार विरुद्ध उत्रिनेहरु सुकुम्बासी हुँदै होइनन् भन्दा फरक नपर्ला । वास्तविक सुकुम्बासी बालेनको कामबाट खुशी हुनुपर्छ । सार्वजनिक जग्गामा पाँच सात तले घर बनाएर वर्षौं भाडा असुलेका स्वेत वस्त्र धारी हुकुमबासीले मात्रै सरकारको विरोध गरेका होलान् । अर्को कुरा वर्षौं भूमी आयोगका नाममा अरबौं लुटेका यिनैका झोले कार्यकर्ताले सरकार विरुद्ध आवाज उठाएका होलान् ।
बालेन शाहको मनमा कुनै पाप नहोला मात्रै देश बनाउँछु भन्ने इच्छा होला । उनले जनताको एकछत्र आशा जगाउने काम मात्रै गरिरहेका होलान् । वर्षौंसम्म नहुने गरेका काम छिनभरमै भएका छन् । युवा जोश र नयाँ सोचका साथ आएका उनलाई विपक्षीले मात्रै रोक्ने र छेक्ने काम गरेका छन् । परन्तु उनी आफ्नै रफ्तारमा हिडिरहेका छन् । यसर्थ उनमा देश बनाउने भोक जागेको नहोला भन्न सकिदैन । यद्यपि उनको मौन क्रान्ति जायज या नाजायज समयले बताउला ।
पुराना दलहरूले वर्षौं लुटे । कम्युनिष्ट आन्दोलनमा लागेकै भरमा सम्भ्रान्त बने । आफ्ना आसेपासेलाई धुरी चढाए । रवि बालेनको उदयले तर्सिएकाहरु उनीहरुका पछाडि हात धोएर लागे । रविलाई विभिन्न बहानामा जेल पु¥याए । बालेनलाई छुन सकेनन् । सत्ता र शक्तिको आडमा काङ्ग्रेस, एमाले र माओवादीले महानगरको नेतृत्वमै छदा तीर चलाएका हुन् । परन्तु बालेन डग्मगाएनन् । “नबिराउनु नडराउनु“को सिद्धान्तमा अडिग भए । यथार्थ बुझेका जनताले चुनावमा साथ दिए । आज उनै सर्वशक्तिमान बने । यो विश्व इतिहासमा गौरवको विषय बन्यो । उनमा देश बनाउछु भन्ने काँचो होस् या पाकेको होस् हुटहुटि छ त्यसलाई स्वीकार गर्नुको विकल्प नेपाली जनतामा छैन । करिब ४ दशकको नेपाली राजनीतिको इतिहास हेर्दा नेपाल आमाको सिङ्गारिने अन्तिम अवसर यहि हुनुपर्छ । अन्यथा नेपाल आमा दुखी हुनेछिन् ।
पहिले बिचौलियाहरूको साँठगाँठ र निर्णयलाई सरकारले सिरोपण गथ्र्यो । अहिलेको सरकार शुद्ध छ । अहिले सरकारले जे गर्छ आफ्नो समूहसँग छलफल गरेर निर्णय गर्छ । राष्ट्रको हितमा निर्णय गर्छ । बोल्नै पर्छ भन्ने छैन । अरु बोलेर बिगारे यिनले नबोलेर बिगार्छन् भन्नेहरु सइका साथमा पोइल जानू जस्तै हो । उनी प्रधानमन्त्री भएदेखि खादा माला र उद्घाटनका नाममा खर्च गरेका छैनन् । अबुझ स्वाँठ र झोले कार्यकर्ताहरुले खराने र गँजडी ग्याङको उपाधी दिए पनि उनी नबोल्नु उनको मौन क्रान्ति हो । ताकी त्यो मौनता स्विकारोक्ती पटकै नहोला ।
थोरै बोल्छन् । कामले जवाफ दिन्छन् । अरुलाई गाली नगरेरै जनताको मन जिते । दुईटा कान छन् धेरै सुन्नु दुईटा आँखाले टाढा टाढासम्म हेर्नु तर एउटा मुख छ थोरै बोल्नु भन्ने शास्त्रीय नियमलाई उनले स्वीकार गरेका त होइनन् ? भन्ने प्रश्न नउठ्ने होइनन् । तथापि बोल्दैमा के जान्थ्यो ? म उनको समर्थक वा कार्यकर्ता होइन । कामकै आधारमा मात्रै शुभचिन्तक हुँ । उनको राफरवाफ र कार्यशैली हेर्दा देशले नयाँ नेतृत्व पाए जस्तो लाग्छ । पुरानो विकृत शासन व्यवस्थाका अगाडि उनी एक युद्धा जस्तो लाग्छ । भलै समयले सत्यता खोज्ला । हामी जनतालाई सुशासन चाहिएको छ । विकास चाहिएको छ । भ्रष्टाचारको जरो उखेल्ने नेता चाहिएको छ । यी सबै काम नबोलिकन उनले गर्छन् भने गर्न दिउँ कोही पनि विरोधमा नलागौं । शान्त बसौं ।
रास्वपाले जितेपछि देशमा नयाँ आशा पलायो । सार्वजनिक कामकाज चुस्तदुरुस्त बने । हस्पिटलदेखि, प्रशासन हुँदै विभिन्न सरकारी कार्यालयमा छिटो छरितो काम भयो । पहिले राजनैतिक वृत्तमा परिचय खोजेर काम हुन्थ्यो । आज सेवाग्राहीले सहज रूपमा सुविधा पाएका छन् । बिना लाइन पासपोर्टदेखि लाइसेन्स हुँदै हस्पिटलमा उपचार पाएका छन् । यसको ज्वलन्त उदाहरण हो बागलुङमा रहेको धौलागिरी प्रादेशिक अस्पतालमा फागुन अघि भिडियो ह्–रे का लागि १५ दिनको समय दिइन्थ्यो । आज तत्काल भएको छ । जिल्ला प्रशासनदेखि यातायात कार्यालयसम्म सेवाग्राहीको भिड हुन्थ्यो । हिजोआज सहज भएको छ ।
सांसदहरुको पहिलो काम कानुन बनाउनु हो । विकासका नाममा बजेटका लागि रुवाबासी गर्नु होइन । सांसदले देश र जनताको हित हुने कानून बनाएर समस्याको समाधान खोज्नु पर्छ । यहाँ त सांसद जस्तो मर्यादित पेशालाई पनि स्वार्थमा लाग्ने रीत छ । जिम्मेवार र संयमित भएर काम गर्नुको सट्टा आन्तरिक गुटबन्दी र पदलोलुपताले रित्तो बन्दै छन् । सधैं सत्ता, शक्ति र चलखेलमा लागेर कमजोर राजनीति गरिन्छ । नेताका व्यक्तिगत महत्वाकांक्षा र रुग्ण सपनाले समाज र जनताको सपना चकनाचुर भए । बिचौलिया तन्त्रले सामाजिक न्याय र जनताका आशा मरे । लामो समयदेखि नीति स्थिरता र सुशासनको अभावमा सरकार परिणाममुखी काम गर्न असमर्थ भए । आजको सरकारले यी सबै कुरामा विसहमती प्रकट गर्दै सुशासनको परिकल्पना गरेको छ । जनतामैत्री काम सुरु भएका छन् । जसका लागि मौन क्रान्ति जायज होला । त्यसैले विरोधका लागि विरोध होइन राष्ट्र राम्रोलाई राम्रो भनौं ।
विभिन्न पुराण र ग्रन्थहरुमा त्याग गर भन्ने उक्ति पाइन्छ । या त बालेनले पनि जीवनको सार यही बुझेर बोल्न त्यागेका होलान् । मानिसले आशा, प्रतीक्षा, रीस, द्वेष, जिद्दी र झगडा त्याग गरे सुखी बनिन्छ भन्या झैँ के बालेनले यहि सुख खोजेका त होइनन् ? ऊनी निरीह अवस्य होइनन् परन्तु विपक्षीहरुले जे जस्तो अड्को थापे पनि जुनसुकै भाषामा गाली गलौच गरे पनि उनी मौन छन् । कुकुरले आफूलाई टोक्यो भन्दैमा कुकुरलाई टोक्नु मूर्खता हो भन्ने सिद्धान्त बालेनले बुझेकै होलान् । त्यसैले त उनी मौन छन् । काग कराउँदै जान्छ पिना सुक्दै जान्छ भन्या झैं उनी काम गरिरहेका छन् । विपक्षीहरुले ढोङ पिटिरहेका छन् । नेपालको संसदिय इतिहासमा यो घटना नौलो होइन । अघिल्लो वर्ष मात्रै रास्वपा र राप्रपाले संसद बहिष्कार गरिरहदा सभामुख देवराज घिमिरेले संसद चलाइरहे । आज तिनै काङ्ग्रेस एमालेले संसदमा विमति राख्दा सभामुख डोलप्रसाद अर्यालले संसद चलाइरहेका छन् । यसमा केही नौलोपन छैन । पृथ्वी गोलो छ । सबैको पालो आउँछ भनेको यहि होला ।
सरकारले सुशासनको सङ्कल्प लिएर काम ग¥यो । मन्त्रालयको बोझ घटायो । मितव्ययितालाई मुख्य आधार मान्यो । भ्रष्टाचार नियन्त्रणको अभियानमा शुन्य सहनशीलता अपनायो । अदालत र प्रशासनमा रहेको राजनीतिक सिण्डिकेट तोड्ने प्रयास ग¥यो । सरकार सिंहदरबारबाट चल्न थाल्यो । प्रधानमन्त्री स्वयं कर्मचारीको शैलीमा कार्यालय पुगे । कार्यालयमै बसेर काम गर्न थाले । कहि उद्घाटन भएनन्, रिबन काटिएन, भ्रमणको आयोजना भएन । तै पनि आलोचना भयो । प्रधानमन्त्रीलाई बोल्दैनन् भन्नेहरूलाई देख्दा नि अनौठो लाग्छ । आजसम्मका नेताहरु वर्षौंसम्म बोलेर देशले के पायो र ? आजको प्रधानमन्त्री बोल्नु पर्ने ?
नयाँ सरकारले सुकुम्बासीलाई व्यवस्थित बसोबास दिने प्रयास ग¥यो । सहकारी पीडितलाई राहत दिन थाल्यो । भ्रष्ट कर्मचारी र बिचौलियालाई नत्थी लगायो । सिमा नाकामा कडाइ ग¥यो । भिआइपीहरुलाई अनुसन्धानको दायरामा ल्यायो । राजनैतिक अखडाका रूपमा रहेका ट्रेड युनियन, विद्यार्थी संगठन र कर्मचारी संगठन खारेज ग¥यो । पुर्व भिआइपिहरुको अनावश्यक सेवासुविधामा अङ्कुश लगायो ।हजारौं गाडीहरू फिर्ता ग¥यो । राजनीतिक भागबण्डाको आडमा राज्यका विभिन्न निकायमा बोलवाला चलाइरहेकाहरुलाई कार्वाही ग¥यो । अदालतमा वर्षौंसम्म मुद्दा झुन्ड्याएर नागरिकलाई हैरान बनाउने प्रवृत्तिको अन्त्य ग¥यो । न्यायालय राजनैतिक सौदाबाजी गर्ने थलो होइन भन्यो । राजनैतिक नियुक्तिलाई बहिर्गमन गराएर कार्यालयमा शुद्धता खोज्यो । नागरिकले सेवा लिन घण्टौं लाइन बस्न नपर्ने गरी छिटो, सरल र पारदर्शी सेवा प्रणाली लागू ग¥यो । पर्यटन, उद्योग, कृषि र आर्थिक विकासलाई तीव्रता दियो । वर्षौंदेखि बन्द रहेका उद्योग धन्दा कलकारखाना सञ्चालनमा आउने भए । हजारौं युवालाई रोजगारीको अवसर सिर्जना हुने भयो । विगत ३० वर्षदेखिका उच्च पदस्थ कर्मचारी र शक्तिको आडमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गर्यो । भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनको कठघरामा ल्याउने कुरालाई स्वीकार्यो । यसर्थ यो सरकार जनताको पीडा बुझ्ने सरकार नहोला भन्न सकिदैन । यी उद्घोषले देशमा भ्रष्टाचार गर्नेहरू डराएका छन् । यो नीतिले भ्रष्ट तर्सिएका छन् भने इमानदार नागरिकले गर्व गरेका छन् ।
आफ्नै पार्टीको सरकार ढाल्ने पुरानो राजनीतिक संस्कार बोकेकाहरुले रवि बालेनको मिल्ती रुचाएकै छैनन् । गुट, फुट र लुटतन्त्रमा रमाउनेहरुलाई मिलेर काम गरेको कहाँ पच्नु र नयाँ अभ्यास देखेर रवि बालेन फुटको अफवाह फैलाइयो । तर सरकारभित्र एकमत र सहकार्य देखिँदा पुरानाको पाँच वर्षै जिन्दगी खल्लो भयो । कथा यत्ती हो । आत्मसम्मान गुमेपछी जस्ले जस्लाई गाली गरे पनि केहि हुँदैन ।
नेपालको राजनीति किस्साको छ । आफू र आफ्नाले गरेको सबै काम जायज, अरुले गरेको राम्रो काम पनि नाजायज, राम्रोलाई राम्रो भन्न नसक्नु हाम्रो कमजोरी हो । यहाँ मान्छेले हात जोरेर नमस्कार गरे पनि गाली खान्छ । हात नजोरी नमस्कार गरे पनि गाली खान्छ । यो अवस्थामा बालेनको मौन क्रान्ति जायज होला । यसर्थ राम्रोलाई प्रश्रय दिउँ नराम्रोको विरोध गरौं । हामी सचेत बनौं । अन्धभक्त कोहि नबनौं । विगतलाई सम्मान गरौं । आगतमा खराबी भए पनि विरोध गरौं । अन्यथा कसैको झोले कार्यकर्ता नबनौं ।




