पृष्ठभूमि
विश्व धुमपानरहित दिवस प्रत्येक वर्ष मे ३१ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । यसवर्ष पनि आइतबार धूमपानरहित दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यसवर्ष धूमपानरहित दिवसको थिम ‘सूर्तिजन्य आकर्षण घटाउँदै निकोटिन र लतविरुद्ध पर्दाफास गरौँ’ भन्ने रहेको थियो । यसको मतलब विभिन्न विज्ञापन, नयाँ स्वादको चाहना र ठुलाबडाको सिको गरी बच्चा अवस्थादेखि नै धूमपानप्रति आकर्षण बढ्दै गइरहेको अहिलेको अवस्थामा त्यसप्रतिको आकर्षण घटाउँदै लग्ने र त्यसका असर, निकोटिनको शरीरमा प्रभाव तथा त्यसबाट लाग्ने लतका बारेमा जनचेतना अभिवृद्धि गर्नु अहिलेको आवश्यकता हो । संसारमा अहिले सूर्ति प्रयोग गरेर गरिने धूमपानभन्दा खतरनाक रसायनहरु वा अखाद्य पदार्थ राखेर ई–चुरोटको नाममा विज्ञापन गर्दै बच्चा तथा युवालाई आकर्षण गराउने काम भइरहेको छ र यस्ता उद्योग फस्टाउने क्रममा रहेका छन् । सूर्तिसेवन भन्दा निकै बढी असर पु¥याउने यस्ता ई–चुरोटको सेवनले फोक्सो लगायत शरीरका विभिन्न भागमा क्यान्सर जस्ता भयानक असर देखाउने गरेको अनुसन्धानबाट पुष्टि भैसकेको अवस्थामा यस्ता व्यवहार त्याग्न र त्यस्ता उद्योग बन्द गर्नुपर्ने अहिलेको आवश्यकता देखिएको सन्दर्भमा यसवर्षको धूमपानरहित दिवसको नारा सान्दर्भिक छ । यसै सन्दर्भमा सूर्तिजन्य पदार्थ, यसका असर र रोकथामका उपायहरुका बारेमा थोरै सन्देश दिने उद्देश्यले यो आलेख तयार गरिएको छ ।
सूर्तिजन्य पदार्थ सेवनको प्रचलन र इतिहास
सूर्ति तथा सूर्तिजन्य पदार्थको सेवन मानिसले परापूर्व कालदेखि नै गर्दै आएको पाइन्छ । हाम्रो धार्मिक ग्रन्थ अनुसार भगवान शिवले समेत सूर्तिजन्य पदार्थको सेवन गर्दथे भन्नेकुरा सुन्न पाइन्छ । विश्वका हरेक कुनाकाप्चामा यो पदार्थ सेवन नगर्ने व्यक्ति सायदै भेटाउन पाइएला । वास्तवमा सूर्ति र सूर्तिजन्य पदार्थ गरिबी, अशक्तता, रोग तथा मृत्युका लागि मन्द विष हो भन्नेकुरा विभिन्न अनुसन्धानले देखाएका छन् । सूर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिमध्ये करीब आधालाई मार्ने वा घातक असर गर्ने एकमात्र वैधानिक लागुपदार्थ नै सूर्तिजन्य पदार्थ हो । सूर्तिजन्य पदार्थ वास्तवमा किन हानिकारक छ त भन्ने सम्बन्धमा यस लेखमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
धूमपान भन्ने शब्द धुम र पान मिलेर बनेको छ, जसको अर्थ धुवाँ पिउनु भन्ने बुझिन्छ । धूमपानलाई अंग्रेजीमा टोबाको भनिन्छ । टोबाको भनेको धूमपान गर्ने नली हो । मानिसले पहिला पहिला तमाखुको रुपमा सुर्तीजन्य पदार्थलाई आगोमा सल्काइ हुक्काको माध्यमबाट एउटा नली जोडेर तान्ने गर्दागर्दै यसको नाम नै टोबाको रहन गएको हो भन्ने श्रुति पाइन्छ । तर सूर्तिजन्य पदार्थको सेवन सुँघेर, धुवाँ तानेर वा चुसेर विभिन्न प्रकारले सेवन गर्ने गरिन्छ ।
धूमपान गर्ने प्रचलन सबैभन्दा पहिला अमेरिकामा भएको थियो र पछि युरोपतर्फ फैलियो । सुर्ति बनाउने बिरुवाको पातको प्रचलनलाई लोकप्रिय बनाउने काम फ्रेन्च नागरिक निकोटिनले गरेका थिए र पछि उनकै नामबाट सूुर्तिको बोटको नाम र यसमा पाइने खतरनाक तत्वको नाम निकोटिन रहन गएको हो । औषधिको रुपमा सर्वप्रथम युरोपमा भित्रिएको यो बिरुवाको पातलाई पछि अम्मलको रुपमा प्रयोग गर्न थालिएको र सत्रौं शताब्दीको सुरुमा पुर्तगालीहरुले यसलाई भारतमा पनि भित्र्याए र पछि नेपालसम्म आइपुगेको हो ।
सूर्तिजन्य पदार्थ किन हानिकारक छ ?
धूमपान वा सूर्तिजन्य पदार्थ भन्नाले धूमपान वा सूर्तिसेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा तथा कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य सूर्तिजन्य पदार्थ भन्ने बुझिन्छ । यस्ता प्रकारका पदार्थहरु व्यक्तिले मुखमा राखेर, त्यस्तो पदार्थलाई सुँघेर नाकबाट नस लिएर, आगोले सल्काएर धुुवाँको रुपमा वा अन्य कुनैपनि तरीकाले सेवन गर्ने काम गर्दछन् ।
सूर्तिजन्य पदार्थमा एक किसिमको क्याफिन भन्ने तत्व पाइन्छ, जसको काम व्यक्तिलाई क्षणिकरुपमा उत्तेजना ल्याउनु, सक्रिय पार्नु वा जाँगरिलो पार्नु हो । धूमपान वा सूर्तिजन्य पदार्थमा ४००० भन्दा बढी प्रकारका रासायनिक पदार्थहरु हुन्छन्, जसमध्ये ४३ वटामा क्यान्सर गराउने हानिकारक तत्वहरु हुन्छन् । ती तत्वहरुले गराउने मध्ये सबैभन्दा बढी वा ९० प्रतिशत क्यान्सर फोक्सोको क्यान्सर हो । व्यक्तिले आफू साहसी भइने, शरीरमा स्फूर्ति आउने, काम गर्न मन लाग्ने, तलतल मेटिने जस्ता आदि बहाना बनाइ सूर्तिजन्य पदार्थको सेवन गर्ने गर्दछन् । यसरी अरुको देखासिकी गरेर, आकर्षक विज्ञापनको प्रभावमा परेर, सजिलै उपलब्ध हुने भएर, साथीभाइको गलत सङ्गतमा परेर, आफूलाई ठूलो मान्छे देखाउन वा सानको लागि र मद्यपान सेवन गर्नेबेला थप उत्तेजना ल्याउन, सक्रिय हुन, चिन्ता भगाउन, जाडो भगाउन जस्ता अनेक बहानाहरु निकालेर सूर्तिजन्य पदार्थको सेवन गर्दछन् जुन कुनै हालतमा सत्य होइन । यसरी सूर्तिजन्य पदार्थ सेवन गर्दै गएपछि व्यक्तिलाई एकप्रकारको लत बस्दछ, जसले गर्दा उसलाई पटक पटक सेवन गर्ने बानी बस्दछ र व्यक्तिले सूर्तिजन्य पदार्थ सजिलै छाड्न सक्दैन ।
सूर्तिजन्य पदार्थको सेवनसम्बन्धी अवस्था
विश्व स्वास्थ्य संगठनको तथ्यांक २०२४ का अनुसार, विश्वमा सूर्तिजन्य पदार्थको सेवन संख्यालाई हेर्दा प्रत्येक ५ जनामा १ जनाले यसको सेवन गर्ने गरेको पाइन्छ । यो संख्या हालका दिनहरुमा झनै बढ्दै गइरहेको अनुमान गर्न सकिन्छ । त्यस्तै सूर्तिजन्य पदार्थको प्रयोगका सम्बन्धमा अन्य केही तथ्याङ्कहरु हेर्दा यस्तो खालको डरलाग्दो अवस्था पाइन्छ ।
–२०२४ को अन्त्यसम्म विश्वका करीब १.२ अरब व्यक्तिहरुले सूर्तिजन्य पदार्थको सेवन गर्दछन् । ती मध्ये करिब ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला रहेका छन् । सबैभन्दा बढी युरोेपमा यसको सेवन गर्ने गरेको पाइन्छ । अहिले आएर भेपिङ्ग वा ई चुरोटको प्रयोगदर बढेको र विश्वका १०० मिलियन बढी मानिसले ई–चुरोट खाने गर्दा त्यसमा १५ मिलियन त किशोरहरु रहेका छन् । नेपालमासमेत ३.६ लाख व्यक्तिले ई चुरोट–भेप) को सेवन गर्दैगर्दा किशोरावस्थाका ४.७१ प्रतिशत केटा र २.१२ प्रतिशत केटीहरुले ई–चुरोट सेवन गर्ने गर्दछन् ।
–विश्वमा नसर्ने रोगको कारणबाट कुल मृत्यु हुने मध्ये १० प्रतिशत कारण सूर्तिजन्य पदार्थको सेवन हो । त्यसकारण सूर्तिजन्य पदार्थ विश्व मानव मृत्युको मुख्य कारण हो र सन् २०१९ मा विश्वमा करीब ७.७ मिलियन मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनको कारण भएको थियो । हाल प्रति चार सेकेण्डमा एकजना व्यक्तिको मृत्यु सूर्तिजन्य पदार्थको सेवनसँग सम्बन्धित कारणले हुने गरेको छ । यदि तत्काल सूर्तिजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणको कार्य नथाल्ने हो भने २१ औं शताब्दीमा सूर्तिसेवनको कारणले मात्र १ अर्ब मानिस मर्नेछन् ।
–धूमपानको कारण हुने असर वा मृत्यु धूमपान गर्ने व्यक्तिलाई मात्र हुँदैन कि उसले फ्याँकेको धुवाँ खाने व्यक्तिलाई समेत हुनसक्छ । यसरी अरुले गरेको धूमपानको कारणबाट विश्वमा प्रतिवर्ष ६ लाख (कुल मृत्युको १ प्रतिशत) व्यक्तिको मृत्यु हुने गरेको छ ।
–नेपालमा पछिल्लोे तथ्याङ्क अनुसार ३० लाख ८० हजार व्यक्तिहरुले सूर्तिजन्य पदार्थको सेवन गर्दछन् । तीमध्ये १९.५ प्रतिशत पुरुष र ३.२ प्रतिशत महिला छन् ।
–नेपालमा अरुले गरेको धूमपान सेवन गर्ने कार्यस्थलमा २२.५ प्रतिशत छन् भने घरमा ३३.५ प्रतिशत छन् ।
–तीमध्ये नेपालमा वार्षिक करीब २८,००० व्यक्तिको मृत्यु सूर्तिजन्य पदार्थको कारणबाट हुनेगर्छ ।
–करीब २ तिहाइ सूर्तिजन्य पदार्थका सेवनकर्ता १० देशमा मात्र छन् भने ४० प्रतिशतभन्दा बढी सुर्तीजन्य पदार्थका सेवनकर्ता चिन र भारतमा मात्र छन् ।
सूर्तिजन्य पदार्थ सेवनका असरहरु
सूर्तिजन्य पदार्थ निकै हानिकारक छ । यसको उत्तेजना बनाउने प्रभावका कारण सेवन गर्दा क्षणिक रुपमा आनन्दको अनुभव गराउन सक्छ तर यसले बिस्तारै व्यक्तिको शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक अवस्थामा असर पु¥याउन थाल्छ । मुखमा राखेर होस्, धूमपानको रुपमा सेवन गरेर होस् वा अरुले गरेको धूमपानको सेवन गरेर होस् यसको सेवन उत्तिकै हानिकारक हुन्छ भन्नेकुरा बुझ्नुपर्छ । सुर्तीजन्य पदार्थले हाम्रो शरीरका रौं र नङ्ग देखि सबै भित्री बाहिरी अङ्ग प्रत्यङ्गहरुमा असर गर्छ । त्यसकारण यसको असर यहाँ मात्र हुन्छ भनेर भन्न सकिन्न किनकि यसमा पाइने हानिकारक रसायनहरुले शरीरका कुनै न कुनै भागमा असर गर्दछन् । त्यतिमात्र नभइ पारिवारिक सम्बन्ध बिग्रन्छ, सामाजिक तथा आर्थिक सबै क्षेत्रमा असर पु¥याउँछ । सुर्तीजन्य पदार्थको सेवनले मुटुका रक्तनलीमा असर पारी रक्तसञ्चालन र श्वासप्रश्वास प्रक्रियामा बाधा उत्पन्न गर्दछ ।
–एक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनेट, हरेक वर्ष एक महिना र ५० वर्षमा ४ वर्ष आयु घटाउँछ ।
–सूर्तिजन्य पदार्थको सेवनले मुख, जिब्रो, घाँटी, रगत, पेटको क्यान्सरका साथै मधुमेह, दमरोग, खोकी, निमोनिया, क्षयरोग, पेटको अल्सर, नपुंसकता जस्ता रोग लगाउनुका साथै रोगविरुद्ध लड्ने प्रतिरोध क्षमता समेत घटाउँछ ।
–त्यस्तै कपाल झर्ने, श्रवणशक्ति कमजोर हुने, दृष्टिशक्ति कमजोर हुने, स्मरण शक्ति कमजोर हुने, कब्जियत पर्ने, छाला चाउरी पर्ने, नङहरु पहेंलो हुने, दाँत गिँजा बिग्रने, सास गन्हाउने, व्यक्ति फोहरी हुने, हाड कमजोर हुने, गर्भवतीले धूमपान गरेमा समय अगावै मरेको वा कम तौलको बच्चा जन्माउने, खुट्टाको रगत सञ्चालन प्रक्रिया बन्द भइ कालो भइ सड्ने र खुट्टा काट्नुपर्ने अवस्था सृजना हुनेजस्ता आदि असरहरु देखापर्नसक्छन् ।
–सूर्तिजन्य पदार्थको सेवनले देखापर्ने अर्को महत्वपूर्ण खतरनाक अवस्था मस्तिष्कका रक्तनली बन्द भइ मस्तिष्कघात हुने, पक्षाघात हुने, अशक्तता देखापर्ने वा मृत्युसमेत हुनसक्छ । यसरी हेदौ सूर्तिजन्य पदार्थको सेवन गरेमा हाम्रो शरीरको कुनैपनि भाग वा अङ्ग सूर्तिजन्य पदार्थ सेवनको असरबाट मुक्त हुन सक्दैन भन्नेकुरा भन्न सकिन्छ ।
माथि उल्लेखित शारिरीक असर बाहेक सूर्तिजन्य पदार्थको सेवनले अन्य निम्न नकारात्मक सामाजिक असरहरु पनि देखापर्नसक्छन् ।
–पारिवारिक, आर्थिक तथा सामाजिक असरहरु देखापर्नु ।
–बिरामी परिने, आम्दानी घट्ने, उत्पादन घट्ने, कपडा जल्ने, आगलागी हुने, मृत्यु हुने र गरिबीको लागि बढावा पुग्नु ।
–सूर्तिजन्य पदार्थमा पैसा खर्च गर्दा स्वास्थ्य, शिक्षा र खानामा तथा अन्य आधारभूत कुरामा खर्च गर्ने पैसा नहुनु ।
–बिरामीको उच्च जोखिममा रहँदा उपचार खर्च बढ्नु र थप गरिबीले थिच्नु ।
–ठूलाबडाको देखासिकी गर्दा केटाकेटीले पनि प्रयोग गर्न सिक्नु र समाजमा नकारात्मक अवस्था देखापर्नु ।
सूर्तिजन्य पदार्थ सेवनको रोकथाम र नियन्त्रणका उपायहरु
सूर्तिजन्य पदार्थ सेवन सम्बन्धी यस्तो भयावह अवस्थामा सूर्तिजन्य पदार्थको रोकथाम गर्न हामीले समेत आजैदेखि पाइला चाली सबैमा सूर्तिजन्य पदार्थको असरबारे जनचेतना अभिवृद्धि गर्न निम्न सन्देशहरुले अझ फाइदा पु¥याउला कि भन्ने अपेक्षा गर्न सकिन्छ । अतः सूर्तिजन्य पदार्थ सेवनबाट हुने रोग र मृत्युबाट बच्न निम्न उपायहरु अपनाउनु पर्दछ ।
–बच्चा, युवा तथा वयस्कहरुमा धूमपान वा सूर्ति सेवन सुरु नै नगर्ने भावनाको जागृत गराउन सानै कक्षादेखि पाठ्यक्रममा समावेश गर्ने ।
–सूर्तिजन्य पदार्थको सेवन गरिरहेका व्यक्तिहरुलाई उक्त अम्मल सेवन त्याग्नको लागि अभिप्रेरित गर्ने र बच्चाले देख्ने गरी सेवन नगर्ने ।
–धूमपान नगर्ने व्यक्तिहरुको धुवाँरहित वातावरणमा बस्न पाउने नैसर्गिक अधिकारको संरक्षण गर्ने ।
–सूर्तिजन्य सेवनबाट हुने शारीरिक, सामाजिक र आर्थिक खराबीहरुबारे चेतना अभिवृद्धि गरी धूमपान र सूर्तिरहित जीवनपद्धति अपनाउन उत्प्रेरित गर्ने अभियान चलाउने आदि ।
नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमै कानून, नियमावली र निर्देशिका बनाइ लागु समेत गरिएको छ । सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न सरकारले सार्वजनिक क्षेत्र भनी विभिन्न क्षेत्रहरुलाई तोकी त्यस क्षेत्रका प्रमुखलाई व्यवस्थापक भनी नियम पालना गर्न लगाउने, नमानेमा कानून बमोजिम दण्ड जरिवाना गर्ने व्यवस्था समेत लागु गरेको छ । साथै, सूर्तिजन्य उत्पादनमा समेत कडाइ गर्ने, सुर्तीजन्य पदार्थमा कर बढाउने, प्याकिङ्ग तथा वितरणमा विभिन्न अड्चनहरु लगाउने कार्य समेत गरेको छ । जसअनुसार सूर्तिजन्य पदार्थको प्याकेटमा क्यान्सर लागेको डरलाग्दा फोटोहरु समेत राख्नुपर्ने, चेतावनीमूलक सन्देश राख्नुपर्ने, पत्रपत्रिका र इलेक्ट्रिक मिडियाबाट विज्ञापन बजाउन नपाउने जस्ता आदि नियमहरु कडाइका साथ लागूसमेत गरेको छ । तैपनि, सूर्तिजन्य पदार्थको सेवन रोकिएको छैन । यस्तो अवस्थामा हामीले हाम्रो स्वास्थ्यको बारेमा आफैं सचेत हुनुबाहेक अर्को कुनै नियम कानुनले यो समस्याको समाधान हुन नसक्ने कुरा निश्चित छ ।
अन्त्यमा,
क्यान्सर, दम तथा पुराना श्वासप्रश्वास रोग, मधुमेह, मुटुरोग जस्ता रोगहरु लाग्ने र मृत्यु समेत गराउन सक्ने सूर्तिजन्य पदार्थको सेवन पनि महत्वपूर्ण कारण हो । सूर्तिजन्य पदार्थको सेवन गर्ने व्यक्तिलाई मात्र यी असर देखापर्ने नभइ सँगै रहेका परिवार, साथीभाई, छिमेकी तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा अन्य व्यक्तिहरुलाई समेत असर गर्नसक्ने भएकोले अनावश्यक रुपमा यस्ता पदार्थको सेवन गर्न नहुने कुरा जनचेतनाको रुपमा प्रसारण गर्न सकेमा सामाजिक तथा आर्थिक असरबाट छुटकारा पाउन सकिने थियो । त्यसकारण मानव मृत्युको एउटा भयावह कारणबाट बच्ने मुख्य उपाय नै धूमपान तथा सूर्तिजन्य पदार्थको सेवन नगर्नु नै हो । नेपालमा गरिएको एक अध्ययनले एक महिनामा एकजना सूर्तिजन्य पदार्थ सेवनकर्ताले औसतमा १ हजार ४९ रुपैयाँ खर्च गर्ने रहेछ । जुन पैसा बचाउन सके वा अन्य राम्रा काममा लगाउन सके कति फाइदा हुन्थ्यो होला ? पैसा, स्वास्थ्य, घरपरिवार, समुदाय सबैलाई असर पु¥याउने यस्तो सूर्तिजन्य पदार्थको सेवन गर्नु कति उचित होला त ? अब सोच्नुपर्ने बेला भएन र ? स्वास्थ्य नै सम्पत्ति हो, सुर्ती होइन ।




