शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश र सुनसरीलाई

अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश र सुनसरीलाई


  • अमृत बास्कुने
  • जेष्ठ २० २०८३, बुधबार

म्याग्दी/ अन्नपूर्ण हिमाल आरोहणको वार्षिकोत्सवकको अवसरमा आयोजित अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश लिम्बु र सुनसरी रोकाले जितेका छन् ।

प्रतियोगितामा पुरुष तर्फ ताप्लेजुङका रमेश लिम्बुप्रथम हुँदा महिला तर्फ डोल्पाकी सुनसरी रोकाले उपाधिमाथी कब्जा जमाएका हुन् ।

अन्नपूर्ण हिमालको सफल आरोहण गरेको दिन जुन ३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित चार हजार एकसय ९० मिटरको उचाईमा रहेको अन्नपूर्ण हिमालको आधार शिविर देखि नारच्याङ सम्म ३० किलोमिटर दूरीमा दौड प्रतियोगिता सञ्चालन गरिएको थियो ।

पुरुष तर्फको उपाधि विजेता लिम्बुले २ घण्टा ४ मिनेट र महिला तर्फको बिजेता रोकाले २ घण्टा ४७ मिनेट १६ सकेन्डमा उक्त दूरी पूरा गरी उपाधि हासिल गरेका हुन् । सन १९५०मा पहिलो पटक ८ हजार मिटर भन्दा अग्ला मध्येको पहिलो आरोहण गरिएको अन्नपुर्ण नै हो । हिमाल आरोहणको ७६ औं वर्षको अवसरमा अन्नपूर्ण दिवस मुल समारोह समितिका व्यवस्थापक टकबहादुर पुनका अनुसार पुरुष तर्फ मनकुमार रोका काठमाण्डौंले २ घण्टा १६ मिनेट ११ सकेन्डमा दूरी पार गरेर दोस्रो र दुई घण्टा २३ मिनेट १२ सकेन्डमा दूरी पार गरेर अर्जुन कुलुङ सोलुखुम्बुले तेस्रो स्थान हात पारे ।

महिला तर्फ पुष्पा सेरमा पाँचथरले २ दुई घण्टा ५२ मिनेट ७ सकेन्डमा दूरी पार गरेर दोस्रो र निर्मला राई खोटाङले २ घण्टा ५३ मिनेट ३० सकेन्डमा उक्त दूरी पार गरेर तेस्रो भएका हुन् ।

यसैगरी प्रतियोगितामा पुरुष तर्फ लोकन्द्र राई सोलुखुम्बु, होमलाल श्रेष्ठ रामेछाप, सनम गुरुङ तनहुँ र महिला तर्फ सन्देभा बुढा जुम्ला, आशमा विक रोल्पा, भिमु बुढा जुम्लाले सन्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

दौड प्रतियोगितामा प्रथम हुनेलाई नगद एकलाख २५हजार, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४३ हजार ७ सय ५० रुपियाँ नगद सहित प्रमाणपत्र र सान्त्वना हुनेलाई १२ हजार पाँचसयका दरले नगद पुरस्कार सहित सम्मान गरिएको छ । अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र अन्नपुर्ण गाउँपालिका ४ का वडाध्यक्ष लोकबहादुर फगामीले नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।

बुधबार विहान ६ बजेट ४५ मिनेटमा आधार शिविर देखि सुरु भएको दौड पञ्चकुण्ड ताल, भुस्केटमेला, गुफाफाँट, फुतफुते झरना, हुमखोला, छोटेपा हुँदै नारच्याङ गाउँ आएर समापन भएको थियो । दौड प्रतियोगितामा १२ जना पुरुष र ९ जना महिला धावकहरुको सहभागिता रहेको थियो ।

नारच्याङको बेँसी गाउँदेखि सुरु हुने मौरिस हर्जोग पदमार्गलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिता आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए ।

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->