विश्वमा बढ्दो जलवायु परिवर्तनका कारण देखा परेका संकटहरूप्रति जनसमुदायलाई सजग गराउँदै व्यक्ति, संस्था र समाजलाई वातावरणमैत्री व्यवहार अपनाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकहरूले बताएका छन् ।

भयावह बन्दै वैश्विक र राष्ट्रिय जलवायु संकट

कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार विश्व र नेपाल दुवै जलवायु परिवर्तनको तीव्र चपेटामा परेका छन् । सन् २०२४ मा विश्वको तापक्रम सबैभन्दा बढी डिग्री सेल्सियसले वृद्धि भएको थियो भने सन् २०२५ मा यो वृद्धिदर डिग्री सेल्सियस रह्यो । सन् २००३ यता समुद्रको सतह १० सेन्टिमिटरले बढेको छ भने सन् २०१५–२०२४ को अवधिमा समुद्र सतह बढ्ने दर अघिल्लो दशकको तुलनामा झन्डै दोब्बर भएको छ । यसैका कारण सन् २०२४ मा बाढी, सुख्खा र आगलागी जस्ता विपद्बाट विश्वभर ८ लाख मानिस विस्थापित भएका छन् भने तटवर्ती क्षेत्रका झन्डै ९० करोड जनता जोखिममा परेका छन् । यही गति रहेमा सन् २१०० सम्ममा विश्वको तापक्रम डिग्री सेल्सियस पुग्ने र समुद्र सतह ४४.९ सेमी बढ्ने चेतावनी दिइएको छ ।

नेपालको सन्दर्भमा सन् १९७० देखि २०२० सम्म प्रतिदशक ०.०६ डिग्री सेल्सियसका दरले तापक्रम बढेको छ, जुन हिमाली क्षेत्रमा अझ बढी (प्रतिदशक ०.०८ डिग्री) छ । सन् २०२३ नेपालको इतिहासकै सबैभन्दा तातो वर्ष रह्यो । मनसुन ढिलो सुरु हुने, छिटो अन्त्य हुने र छोटो अवधिमा भारी वर्षा हुने प्रवृत्तिका कारण ठूलो धनजनको क्षति भइरहेको छ । सन् २०२४ को सेप्टेम्बरमा आएको बाढीपहिरोका कारण नेपालको भौतिक पूर्वाधारमा मात्रै ३८ अर्ब ९२ करोडभन्दा बढी, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा ९ करोड १९ लाख र कृषि तथा पशुपालन क्षेत्रमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको सरकारी तथ्याङ्क छ । जलवायुजन्य विपद्कै कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा वार्षिक १.५ देखि २ प्रतिशतसम्म ह्रास आउने गरेको दुखद वास्तविकता कार्यक्रममा औंल्याइयो ।

त्यस्तै, जलवायु परिवर्तनकै कारण डेंगु र मलेरिया जस्ता रोगहरू उच्च पहाडी भेगमा समेत देखिन थालेको, तराईमा अत्यधिक गर्मी (लू) को समस्या बढेको र सुत्केरी महिलाहरूको स्वास्थ्यमा गम्भीर असर परिरहेको प्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरे ।

सामुदायिक ऐक्यबद्धता र सचेतना

ग्लोबल वार्मिङमा नेपालको भूमिका नगन्य भए तापनि स्थानीय स्तरबाट योगदान पुर्‍याउन आवश्यक रहेको महसुस गर्दै यस वर्ष पोखरामा स्थानीय संघ–संस्थाहरू अग्रसर भएका हुन् । हिमालयन म्युजियम टोल विकास संस्था, टिम अर्गनाइजिङ्ग लोकल इन्स्टिच्युशन (टोली), प्रकृति–मानव केन्द्रित जन अभियान नेपाल, हिमालय आँखा अस्पताल, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, हिमालयन बोर्डिङ्ग स्कूल र हिमालयन म्युजियम आमा समूहको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।

हिमालय आँखा अस्पतालबाट ब्यानर र चेतनामूलक नाराका साथ सुरु भएको र्‍यालीले मुनाल मार्ग, म्युजियम मार्ग र हिमाली मार्गको सरसफाई गर्दै हिमालयन बोर्डिङ्ग स्कूलमा पुगेर समापन सभामा परिणत भएको थियो ।

समापन कार्यक्रममा प्रकृति–मानव केन्द्रित जन अभियानका अध्यक्ष बिन्दुराज सापकोटाको पहलमा मानव विकास तथा जलवायु परिवर्तनसम्बन्धी चेतनामूलक भिडियो प्रदर्शन गरिएको थियो । कार्यक्रमको सुरुमा ‘टोली’का अध्यक्ष पद्मकिरण रानाले विश्व वातावरण दिवसको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए भने हिमालयन बोर्डिङ्ग स्कूलका प्रिन्सिपल गोविन्द काफ्लेले धन्यवाद ज्ञापन गरेका थिए ।

हिमालयन म्युजियम टोल विकास संस्थाकी अध्यक्ष चन्द्रमाया गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रममा स्थानीय टोलवासी, विद्यार्थी, विभिन्न संघसंस्थाका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।