जननी जन्मभूमिको काखमाथि कुनै दिन ।
फर्केर फेरि आउला कि हाँसने खेलने दिन ।।
राष्ट्रकवि माधवप्रसाद घिमिरकृत यो कवितांशको सान्दर्भिकता झन बढेर गएको छ । किनकि, यतिबेला ८० लाखभन्दा बढी नेपालीहरु यो वा त्यो बहानामा विदेशमा छन् । गाउँका घरहरु रित्ता छन् । आँगनको डिलमा पाति उम्रेको छ । बुढाबुढीहरु छोराछोरी फर्कने आशमा जतोतसो गाउँतिर बाँदर धपाउँदै छन् । अँ, संचार क्रान्ति चाहिँ भएको छ । त्यसैले बुढाबुढीहरुले छोराछचोर फुर्सदमा हुँदा अनुहार नै हेरेर गफिन पाएका छन् । बाध्यताले विदेशिएकाहरुको पहिलो पुस्ताले जननी र जन्मभूमि सम्झन चाहिँ छाडेका छैनन् । गाउँमा फर्कने उनीहरुको सपनामा सन्तानको भविष्य र सुखको चाहको तगारो नहुँदा ती गाउँ फर्केलान् तर गाउँ पहिलेजस्तो छैन र रहने छाँट छैन ।
गाउँ चकमन्न छ । अधिकांश घरहरु खाली छन् । अर्म–पर्मको चलन हराइसकेको छ । मर्दा मलामी नपाइएला कि भन्ने पीरले गाउँ चिन्तित छ । भएका तन्देरीहरु पनि मोवाइल खेलाउँदै कतिबेला भुरर्र.. उड्ने ध्याउन्नमा छन् । ती जो उड्न चाहेका छन्,उनीहरु पनि सकेसम्म फर्कने छैनन् र फर्के पनि उनीहरुसँग जोस र जाँगर रहने हो कि हैन,थाहा छैन । गाउँमा बाटो पुगेको छ, सुविधा छ तर त्यसको उपभोग गर्ने जनता नै छैनन् । केही सहरमा बसेकाहरु बुढा आमाबा भेट्न गाउँ आए पनि खुसी मान्नुपर्ने अवस्था छ । गाउँमा पहिलाजस्तो गीत गुञ्जँदैनन् । त्यस्तै फलफूल र तरकारी फल्दैनन् । रैथाने बालीको ठाउँ हाइब्रिडले लिएको छ । त्यसलाई पनि बाँदरबाट जोगाउन उस्तै मुस्किल छ । गाउँ पुगेको पक्की सडकले मित्रराष्ट्रमा फलेका तरकारी र फलफूल पु¥याइदिएको छ । बहुराष्ट्रिय कम्पनीका पेय पदार्थले महीलाई विस्थापित गरिदिएको छ । समग्रमा हाम्रा गाउँहरुले आफ्नोपन गुमाएका छन् । गाउँमा संगतको अभाव छ,सामूहिकता हराएको छ र सँगसँगै रैथाने अन्न पनि फलाउन छाडिएको छ ।
सरकारले गाउँहरु हराभरा बनाउन विस्थापितलाई फर्काउने घोषणा गरेको छ । तर,ती घोषणा र कार्यक्रमहरु उति भरपर्दा छैनन् । तर,जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ भनेझैँ केही स्थानीय तहहरुले भने साँच्चै आशालाग्दा कामको सुरुवात गरेका छन् । यही मेसोमा बागलुङको वडा नम्बर १३ ले जर्नेली, अनदी, झिनुवा, रमनी र आँगा जातको धान रोप्ने किसानलाई प्रतिमुरी १ हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । किसानहरुलाई थाहा छ– गाउँका गह्राहरुको प्रकृति फरक हुन्छ । धेरै पानी हुने धापमा दह्रो अनदी लगाउन सकिन्छ भने पानी कम हुने गह्रामा आँगो रोप्न मिल्छ । तर, यो परम्परागत सीप माएिको छ । अहिले सबै ठाउँमा हाइब्रिड रोप्न थालिएको छ । उत्पादन बढी भए पनि हाइब्रिडले स्थानीय संस्कृति र परम्परा जोगाउँदैन, रैथानेपन दिँदैन । वडाले जे गरेको छ, त्यो प्रशंसनीय र अनुकरणीय छ । अनुदानको नाममा अनुत्पादक क्षेत्रमा लगानी गर्ने प्रवृत्तिमा बढोत्तरी भइरहँदा किसान पोस्ने यो निर्णयलाई साधुवाद ! रैथाने जातको संरक्षणले भोलि दिने प्रतिफल भविष्यमा देखिने छ ।




