आधुनिक नेपाली कविता साहित्यका प्रथम गद्य कवि गोपालप्रसाद रिमाल (वि.सं. १९७५–२०३०) अथाह क्रान्तिचेत भएका कवि हुन् । उनको ‘आमाको सपना’ कविता सर्वोत्कृष्ट क्रान्तिकारी कविता हो । रिमालका रचनामा विद्रोही चेतना, मानवतावाद र सामाजिक न्यायको आवाज प्रबल हुन्छन् । सामाजिक परिवर्तन, मानव स्वतन्त्रता र प्रगतिशील विचारलाई कवितामार्फत् अभिव्यक्त गर्ने रिमाल प्रगतिवादी कवि हुन् । उनका कृतिमा नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, विकृति, विसङ्गटि र भ्रष्टाचारविरुद्ध आवाज उठाइएको हुन्छ । नेपाली साहित्य आकाशमा महान कवि र नाटककारको परिचय पाएका रिमालले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।
आमाको सपना कवितासङ्ग्रह (२०१९) मा सङगृहित यो कविता क्रान्ति चेतनाले पूर्ण छ ।
कविताले प्रजातन्त्र स्थापनाका लागि क्रान्तिको आह्वान गरेको छ । नेपाली समाजलाई दुर्गन्धित तुल्याउने निरङ्कुश शासन व्यवस्थालाई स्वस्थ बनाउन क्रान्ति आवश्यक रहेको कुरा कवितामा उद्घोष छ । समाजलाई मर्यादित र अनुशासित बनाउन कवि रिमालले कवितामार्फत् समाजसुधारकको भूमिका निर्वाह गरेका छन् ।
आमाको सपना क्रान्ति तथा परिवर्तन हो । नेपाली जनतालाई स्वतन्त्रता दिलाउनका साथै आफ्ना सन्तान निडर, आत्मविश्वासी र स्वाबलम्बी बन्ने सपना बोकेकी आमाको आशावादी दृष्टिकोण यहाँ प्रस्तुत छ । नेपाली माटोमा असत्य र अधर्मले जगजगी सिर्जना गर्दा भयभीत भएकी नेपाल आमाले शिशुकै कलिलो मुहारमा क्रान्तिको छाप देख्न चाहन्छिन् । बालकको तोते बोलीमा क्रान्तिपुरुषका महान वाणी सुन्न चाहन्छिन् । कवितामा नेपाल आमाले आफ्नै सन्तानलाई वीर योद्धा बनाएर क्रान्तिकारी गीत घन्काउन चाहेको भाव व्यक्त छ । नेपाल आमाले त्यहि चिरप्रतिक्षित सपूतको बाटो हेर्छिन् । तर सन्तान कपुतहरूकै लहरमा उभिने देखेर दुखी हुन्छिन् । यद्यपि ‘कुपुत्रो जायेतत् क्वचिदकपि कुमाता न भवति’ भन्याझैँ कुपुत्र जन्मिन सक्छ तर माता कहिल्यै कुमाता बन्न सक्दिनन् । त्यही सन्तानलाई मातृत्वको पवित्र संसारमा स्थापित गर्दै क्रान्ति पुरुषको सन्तानको आशामा गर्छिन् । शिशुलाई उज्यालो भविष्यको कथा सुनाउँछिन् ।
यसर्थ विपत्तिमा धैर्यता र भविष्यको नवीन आशामा सन्तान जन्माइरहेकी नेपाल आमाको सजिव चित्र कवितामा उतारिएको छ । जसरी यो धर्तीमा जसरी सूर्यको उदय निश्चित छ, त्यसरी नै क्रान्तिपुरुषको जन्म निश्चित छ, भन्नेमा आमा निश्चिन्त रहन्छिन् । जब देशमा क्रान्तिको अवतरण हुन्छ । तब क्रान्ति चेतना शून्य शिशु पनि क्रान्तिपथको अनुयायी बन्नेछन् । देशमा क्रान्ति झल्किएपछि सबै जनता असत्यमाथी जाइ लाग्ने छन् । भन्दै नेपाल आमाले समाजमा विद्यमान अन्याय, अत्याचार र व्यथितिविरुद्ध सबैलाई क्रान्तिमा होमिन आह्वान गरेकी छन् ।
कवितामा नेपाल आमाले सत्ता स्वार्थमा लालायित भ्रष्ट शासकका कारण असह्य वेदना झेल्नु परेको भाव व्यक्त छ । साहसी योद्धाको सहायताले दुर्गन्धित सत्ताको राग रवाफ मेटाएर समतामूलक समाज निर्माणको आधारस्तम्भ खडा गर्ने आमाको अभिलाषा छ । तर त्यस किसिमको परिवर्तन वर्तमान सन्ततिबाट नभइ भावि सन्ततिबाट मात्र हुने र आफूले मुक्ति पाउने आमाको आशा छ ।
क्रान्ति पुत्र प्रातकालीन सूर्यझैँ उज्यालो छर्दै आउने छ । हिउँ र आगोभन्दा बढ्ता छोइने भएर हुरी जस्तै वेगवान् बन्दै शीत जस्तै टल्कने एक हतियार कम्मरमा झुन्ड्याएर आउने छ । ऊ आउँदा जनताले पात भएर पछ्याउनुपर्ने छ । अधर्मसँग लड्न, निरङ्कुशता, अन्याय र अत्याचारका बाँध तोडेर आमाको सपना साकार पार्न क्रान्तिको जन्म हुनेछ । क्रान्तिपश्चात् समाजमा सत्य र न्यायको प्रादुर्भाव हुनेछ । जनताले अर्को आश्रय पाउने छन् । सम्पूर्ण जनता स्वतन्त्रता हुने छन् ।
कवितामा आमा आफूले निरङ्कुशताका विरुद्ध देखेको सपनालाई छोरा समक्ष प्रकट गरेकी छिन् । नेपाली समाज निरंकुश शासन व्यवस्थाले दुर्गन्धित बनेको छ । तर नेपाली समाजमा सुधारको दृढ इच्छा बोकेर कुनै योद्धा जन्मिएको छैन । यही परिवेशमा क्रान्ति गर्न आवश्यक रहेको भाव कवितामा उदृत छ । जो आमा र छोराको संवादात्मक शैलीमा प्रकट गरिएको छ । नेपाली भूमिमा आजसम्म क्रान्तिपुत्र जन्मन सकेका छैनन् । निकट भविष्यमा हिउँ र आगोभन्दा कठोर क्रान्तियोद्वा जन्मिने छन् । तिनै वीर योद्धाको क्रान्तिले देशमा आँधीबेहरी ल्याउनेमा आमा विश्वस्त छिन् । नेपाल आमाका वीर सपूतहरु निरङ्कुशताका विरुद्ध क्रान्तिमा होमिने छन् । त्यतिबेला सारा नेपालीको रगत उम्लने छ । सबैको नशा नशामा देशभक्ति भाव सल्बलाउने छ, र नेपाल आमाले रोगीलाई झैं सन्तानको कपाल मुसारिरहनुपर्ने छैन । सन्तानहरु आमालाई सान्त्वना दिँदै कुशासनका पर्खाल भत्काउन लालायित हुने छन् ।
प्रजातन्त्र प्राप्तिसङ्गै नेपाल आमालाई निरङ्कुशताको जञ्जीरबाट मुक्ति दिलाउन वीरहरु उद्यत हुनेछन् । फलस्वरूप भावी पुस्ताको हक अधिकार सुनिश्चित हुने छन् । उनीहरु स्वतन्त्र र आरोग्य जीवन जिउने छन् ।
कवितामा वि.सं. २००० सालतिरको नेपाली समाजको चित्रण गरिएको छ । राणाशासन पछि देशमा उत्पन्न राजनैतिक अस्थिरताले समाजमा जकडिएको हुन्छ । निरङकुशताको पर्दालाई च्यातेर सुन्दर भविष्यको कल्पना गर्नुपर्ने हुन्छ । त्यतिबेला कविले जनतालाई उर्जाशिल भएर राष्ट्रोन्नतिमा लाग्न आमाका तर्फबाट अनुरोध गरेका छन् । नेपाल आमालाई आशावादी रहेको देखाएर आउने पुस्ता हावाको भन्दा चर्को वेगवान् हुने र बिहानको सूर्यजस्तै उज्यालोको क्रान्ति लिएर आउने कुरा कवितामा छ ।
करिब आठ दशक पूर्व नेपाली समाजलाई नयाँ कार्यदिशा दिने गरि रचना गरिएको यस कविताले क्रान्तिको पूर्वानुमानका रूपमा जनतालाई सचेत गराउदै गोलबद्ध गरेको छ । कवितामा क्रान्तिपूर्व, क्रान्ति प्रतिका आशङ्का र निरङकुशताको अन्त्य भइ शोषणमुक्त समाजको निर्माणका लागि क्रान्तिका सपनाहरू परिपूर्ण हुने विश्वास व्यक्त गरिएको छ । राजनैतिक अस्थिरताको जगमा विकासको गति मन्द भएको कुरा कविले गरेका छन् । क्रान्ति बिना शान्तिको कल्पना गर्न सकिँदैन । अधर्म र असत्यको अन्त्य नभएसम्म सत्य, धर्म र न्यायको स्थापनाका सम्भव छैन । कुनै न कुनै दिन क्रान्तिको आँधीबेहेरीले कालरात्रीको अन्त्य स्वीकार गरी सुनौलो आगतको आगमन गरेरै छाड्छ भन्ने कटु सत्यलाई नेपाल आमाका माध्यमबाट कवितामा व्यक्त गरिएको छ ।
सत्ताको कुरुपताभित्र देशमा हत्या, हिंसा, दमन र अत्याचारले प्रश्रय पाएका छन् । देशलाई स्वस्थ र जनतामा शान्ति सुव्यवस्था प्रत्याभूत गराउन तत्काललाई क्रान्ति आवश्यक रहेको कविको ठहर छ । कविले युवालाई वीरताको यात्रामा समेटिन आग्रह गर्दै भावी पुस्तालाई देशमा क्रान्ति ल्याउन आग्रह गरेका छन् ।
यसर्थ कवितामा देश र जनताको मुक्तिका लागि क्रान्ति अवश्यंम्भावी भएको बताइएको छ । क्रान्तिप्रति संशय र आशङ्का गर्नु नादानी हुन्छ । जनतामा राजनीतिक चेतना वृद्धि हुनुपर्छ । निरङ्कुश शासनको विरुद्धमा विद्रोहको स्वर बुलन्द पार्न डराउनु हुँदैन । क्रान्तिबाट नै देश नयाँ युगमा प्रवेश गर्छ । विद्रोहको स्वर बाहिर ल्याइनु नै सत्ताधारीहरुको घमण्ड तोड्नु हो । जनता उकुसमुकुसको जनजीवनबाट उदात्तताको लयमा अगाडि बढ्नु पर्छ भन्ने सन्देश कवितामा उधृत छ ।
कवितामा जहानियाँ राणाशासनकालको वातावरण र परिवेशको चित्रणसँगै क्रान्तिप्रतिको आशावादी दृष्टिकोण प्रस्तुत छ । अन्ततः कविले नेपाल आमालाई निरङ्कुशताको जञ्जीरवाट मुक्ति दिलाउनुका साथै नेपाली जनताले जीवन रक्षाका लागि अर्को आश्रय खोज्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने सन्देश प्रवाह गरेका छन् । सम्पूर्ण जनतालाई स्वतन्त्रता दिलाउन, समतामूलक समाज निर्माण गरी नेपाल आमाको समृद्धिको सपना साकार पार्न सबै नेपाली उद्यत हुनुपर्ने भाव कवितामा प्रकट गरिएको छ ।
(यो लेख कक्षा १२ को पाठ्यक्रममा आधारित छ ।)




