पोखरा/ नेपाल राष्ट्रिय मुआथाई संघको आयोजनामा पोखरामा सम्पन्न दोस्रो नेपाल यूथ–२३ राष्ट्रिय मुआथाई च्याम्पियनसिपमा लेखनाथ डोजो मुआथाई क्लबका जलन पुनले स्वर्ण पदक जित्न सफल भएका छन् ।
पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सवमा समावेश गरिएको यस प्रतियोगिताको सबैभन्दा आकर्षक प्रतिस्पर्धा यूथ १८–२३ वर्षअन्तर्गत ६३–६५ केजी तौल समूहमा भएको थियो ।
उक्त प्रतिस्पर्धामा स्वर्ण जितेका जलनले २० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भए । सोही समूहमा लेखनाथ डोजोका कुशल नेपाली द्वितीय बने भने ओर्ला फिटनेस पोखराका सुमन जिसी र स्ट्रोङ्गेष्ट मुआथाई क्लब पोखराका विश्वास पौडेल तृतीय भए। कुशलले १० हजार र सुमन र विश्वासले ५–५ हजार रुपैयाँ हात पारे ।
यूथ १४–१५ वर्ष ५०–५३ केजी तौल समूहमा स्ट्रोङ्गेष्ट मुआथाई क्लब वालिङका सुरेश सार्की प्रथम भए भने स्ट्रोङ्गेष्ट मुआथाई क्लब पोखराका राजन घर्ती मगर द्वितीय बने । निर्जल गुरुङ र साम्यूल श्रेष्ठले तृतीय स्थान हासिल गरे । यो समुहको प्रथमले १० हजार,द्वितीयले ७ हजार र तृतीयले ४–४ हजार नगद हात पारे ।
यूथ १६–१७ वर्ष ५३–५५ केजीमा आयुष ह्योल्मो प्रथम तथा करण तामाङ द्वितीय भए। प्रथमले १० हजार,द्वितीयले ७ हजार नगद हात पारे । त्यस्तै ५७–६० केजी तौल समूहमा राहुल कार्की प्रथम, टेरेन्स थापा मगर द्वितीय तथा भास्कर गुरुङ र अभिषेक श्रेष्ठ तृतीय बने। प्रथमले २० हजार,द्वितीयले १० हजार र तृतीयले ५–५ हजार नगद हात पारे ।
महिला यूथ १६–१७ वर्ष ५०–५३ केजीमा जोरिना राई प्रथम तथा स्नेहा खत्री द्वितीय भइन्। प्रथमले १० हजार,द्वितीयले ७ हजार नगद हात पारे । यूथ १८–२३ वर्ष ५०–५३ केजीमा अञ्जन श्रेष्ठ प्रथम, मन्दिप क्षेत्री द्वितीय तथा प्रवेश कुलुङ राई र चिरञ्जिवी छन्त्याल तृतीय भए। प्रथमले १० हजार,द्वितीयले ७ हजार र तृतीयले ४–४ हजार नगद हात पारे ।
त्यसैगरी ५५–५७ केजी तौल समूहमा हेमन्त वोगटी प्रथम, दिप्सन गुरुङ द्वितीय तथा स्वदेश पौडेल र सोनम थापा तृतीय बने। प्रथमले १० हजार,द्वितीयले ७ हजार र तृतीयले ४–४ हजार नगद हात पारे ।
प्रतियोगितासँगै आयोजित प्रोमोशनल फाइट्समा जुनियर छात्रा ९–११ वर्षमा लिलियन गुरुङ, जुनियर छात्र ९–११ वर्षमा डियर थापा मगर, महिला १८–२३ वर्ष समूहका प्रतिस्पर्धामा निशा थापा, प्रिसा श्रेष्ठ र कृष्मा आचार्य तथा छात्र १२–१३ वर्षमा आयान घर्ति मगर विजेता बने। जेठ ३० र ३१ गते पोखरामा सम्पन्न प्रतियोगितामा देशभरका विभिन्न क्लबका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।





