मुस्ताङ / जिल्लाको लोमन्थाङ गाउँपालिका-१, छोसेरमा सुविधा समपन्न विद्यालय छात्राबास निर्माण गरिएको छ । १५ औँ शताब्दीमा निर्मित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बामा भारतीय दुतावासको रु. ४ करोड ७२ लाख ३ सयमा सो विद्यालय छात्राबास निर्माण गरिएको हो ।
बि.सं. २०८१ असारमा नेपाल-भारत विकास सहकार्य अन्तर्गत नेपालस्थित भारतीय दुतावासद्वारा रु.४ करोड ७२ लाख ३ सय आर्थिक सहयोगमा शान्ता निर्माण सेवाद्वारा निर्मित छात्राबास भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरूङले सोमबार संयुक्तरुपमा उद्घाटन गरे ।
उद्घाटन पछि वोल्दै भारतीय राजदुत श्रीवास्तवले भारत सरकारबाट हिमाल, पहाड र तराईमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारसहित विभिन्न क्षेत्रमा सहयोग भइरहेको बताए । भारत र नेपालबिच असल छिमेकीको सम्बन्ध रहेको बताउँदै उनले मुस्ताङमा शिक्षा, स्वास्थ्य क्षेत्रमा यसअघि समेत सहयोग गरिएको जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरूङले हिमाली क्षेत्रका बालबालिका तथा बाल–भिक्षुहरूलाई बुद्ध धर्मसम्बन्धी धर्मशास्त्र, अनुष्ठान कला, मण्डलाका साथै नेपाल सरकारको पाठ्यक्रम (नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान) अध्यापन हुने गुम्बामा मुस्ताङसहित नेपाल र भारतबाट अध्ययनका लागि आउने विद्यार्थीको सहजताका लागि गाउँपालिकाको पहलमा उक्त छात्राबास भवन निर्माण गरिएको बताए ।

अध्यक्ष गुरूङले भने, ‘भारतीय सरकारबाट उपल्लो मुस्ताङमा भएको सहयोगले सहज भएको छ, आगामी दिनमा पनि सहकार्यका लागि प्रतिबद्ध छौ ।’ छात्रबास भवन उद्घाटन कार्यक्रममा लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, स्थानीय राजनीतिक दलका प्रतिनिधि, गुम्बा विद्यालय व्यवस्थापन, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
कलात्मक सिन्दुरे रङका चट्टान र रातो बलौटे पहाडमा निर्मित लो निफु गुम्बाको तल रहेको गुम्बाको स्थापना १५ औँ शताब्दीमा मुस्ताङका तत्कालीन दोस्रो सांस्कृतिक राजा ‘आगुन साङ्वो’ का तेस्रो छोरा सोनाम लोवो खेनचेन (सोनाम इन्टुक) ले निर्मित गरेको इतिहास छ ।
बि.सं २०७२ सालको विनाशकारी भूकम्प र बर्षाका कारण गुम्बा र यसका पुराना गुफा संरचनामा क्षति पुगेपछि काठमाडौँस्थित जर्मन दूतावासको करिब ६६ लाख रूपियाँ आर्थिक सहयोगमा गुम्बाको परम्परागत स्वरूप र मौलिकतामा असर गरी मर्मत गरिएको थियो । गुम्बा र गुफा उपल्लो मुस्ताङ जाने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र मानिन्छ ।





