बागलुङ/स्थानीय केरा खोज्दै ग्राहकले फोन गरेपछि बागलुङ नगरपालिका वडा नंं ९ का मधु केसी स्कुटरमा पुर्याइहाल्छन् । उनले आफ्नै पसलबाट स्थानीय जातको केरा बेच्छन् ।
पहिला उनले भारतबाट आउने केरा बेच्थे । अहिले भने आयात रोकिएपछि स्थानीय केराको माग बढेको छ । बागलुङ बजारमा आजकल भारतीय केरा छैन । तराईको केही आएपनि अधिकांस माग स्थानीय उत्पादनकै भरमा चलेको छ ।
बिस्तारै उत्पादन बढ्न थालेपछि हरेक पसलमा स्थानीय जातकै केरा भेटिन थालेको छ । केसी मात्र होइन, ट्राफिकचोक, हल्लनचोक, शिवधारा चोक लगायत अधिकांस पसलमा आजकल स्थानीय जातकै केरा किन्न पाइन्छ । पहिला जैमिनी नगरक्षेत्रमा मात्रै गरिने व्वसायिक केराको उत्पादन बागलुङ नगर सहित काठेखाला लगायत स्थानमा बिस्तार भएको छ ।
अत्याधिक बिषादीको कारण स्वास्थ्यमा समस्या आएपछि भारतीय केरा आयात प्रतिबन्ध छ । त्यसपछि स्थानीय केराले बजार समेत पाउन थालेको फलफूल बिक्रेता बताउँछन् । बजारमा स्थानीय केराको माग बढ्न थालेपछि जैमिनी नगरपालिका वडा नंं १, २, ५, ७ र ८ का किसानले यसको खेती बढाएका छन् । बागलुङ नगरपालिका १, ३, ४, ८, ९ र १० मा पनि केरा खेती प्रसस्त छ । अघिल्लो बर्ष जैमिनी नगरपालिकाले ल्याएको ‘सेरा जाऔं, केरा खाऔं’ नारामार्फत केरा किसानलाई अनुदान समेत दिन थालेपछि उत्पादन बढेको हो । यो क्रम आगामी बर्ष अझै परिणाममा देखिने वडा नंं १ का अध्यक्ष बिष्णुप्रसाद आचार्यले बताए । उनका अनुसार वडा नंं १ का ५० प्रतिशत बढी किसानले व्यवसायिक रुपमा केरा खेती थालिसकेका छन् ।
यो अभियान स्वरुप वडा नंं १ मोतीप्रसाद पौडेलको दैनिकी त केराको उत्पादन र व्यवसायमै बितिरहेको छ । उनीसंगै उनका छिमेकीले पनि छरघरमा सयौं बोट केरा लगाएका छन् । अधिकांसले १० रोपनी बढी जमिनमा केरा खेती गर्न थालिसकेका छन् । गर्मी मौषममा उनीहरुले दैनिक ५ देखि १० घारीसम्म केरा बजार पठाउने गरेका छन् । केही घरबाटै बिक्री हुन्छ । कतिपय गाउ“लेको पनि अर्डर आइरहन्छ । गाउ“मा पूजापाठ, चाडपर्व, बिवाह, ब्रतबन्ध र चौरासी पूजा भयो भने पनि मोतीलाई केराकै लागि फोन आउने गर्छ । यसरी बेच्दा खर्च कटाएर बर्षमा ४ लाख सम्म कमाइ गरेको पौडेलले बताए ।
समुन्द्री सतहबाट ६ सय मीटरमात्रै उचाइ रहेकोले जैमिनीघाट र कुश्मीसेरा केरा खेतीकालागि अति उपयुक्त स्थान बनेको छ । कृषि बिकास कार्यालय बागलुङकी कृषि अर्थबिद प्रतिभा शर्माका अनुसार जैमिनी स्थानीय केराको उर्वरभूमी हो । कार्यालयले किसानलाई प्राविधिक सहयोग गर्दै आएको उनले बताइन् । बागलुङको १ हजार २ सय देखि १ हजार ५ सय मीटर उचाइ सम्म पनि केरा उत्पादन भैरहेको उनले बताइन् ।
अघिल्लो बर्ष सम्म बागलुङको ४२ हेक्टर जमिनमा व्यवसायिक केरा खेती गरिएको थियो । जैमिनीमा थपिएको केराको क्षेत्रफलले आगामी बर्ष यो उत्पादनको क्षेत्र दोब्बर बन्ने उनले बताइन् । गत वर्षसम्म वार्षिक २ सय ४५ मेट्रिकटन केरा उत्पादन भएको बागलुङमा आयात प्रतिस्थापनपछि उत्पादन समेत दोब्बर बन्न सक्ने उनको अनुमान छ । ‘किसानले चासो दिएर बढाउनु भयो भने आयात सजिलै प्रतिस्थापन हुन्छ’ उनले भनिन्, ‘स्थानीय तहले पकेट बिस्तार गरिरहेकोले उत्पादन बढ्नेछ ।’ कार्यालयले भने ब्लक बनाउन चाहेमा सहयोग गर्ने बताइन् ।
जैमिनीले केरा पकेट क्षेत्रको रुपमा कुश्मीसेरालाई लिएको छ भने बागलुङ नगरपालिकाले बानपा ३ लाई केराको उत्पादनशिल क्षेत्रमा राखेको छ । ‘सडक संजालले जोडिएको, उत्पादनको संभावना बढी भएका स्थानमा केरा सहजै बिक्री हुन्छ’ कृषि शाखाका प्रमुख सुवास सापकोटाले भने, ‘घरघरमा, पसल पसलमा बिक्री हुने भएकोले यकिन तथ्यांक भने देखिएको छैन ।’ कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा सडकमा पछिल्लो समय किसानले केरा खेती बढाएका छन् । ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी ९’ जातका केरा बागलुङ र जैमिनीमा सिफारिस यहा“ सिफारिस छन् । तर अधिकांस किसानले रामरेखा लोकल र झापाली मालुवा लगाएको पौडेलले बताए ।
उपभोक्ताले बाह्रै महिना खोज्ने भएकोले केराको बजार राम्रो रहेको बागलुङका व्यवसायीहरु बताउछन्् । ‘पहिला लोकल केराको मूल्य नै थिएन, अहिले किसानले पनि पाएका छन्, व्यपारीले पनि पैसा पारेका छन्’ स्थानीय व्यवसायी हिरा शर्माको भनाइ छ । उनका अनुसार अहिले त २ सय रुपैया“ दर्जन सम्मका केरा खरिद गरेर बढीमा २० रुपैया“ मात्रै नाफा राखेर बेच्ने गरेको बताइन् । अघिल्लो बर्ष स्थानीय तहले केराको अधिकतम मुल्य १ सय ७० तोकेका थिए । अहिले भने किसानले बारीमै २ सय पार्न थालेका हुन् । जैमिनी १ का अध्यक्ष बिष्णु आचार्यले हरेक बर्ष जैमिनीमा १० देखि १२ हजार केराका बिरुवा थप भैरहेको बताए । वडा कार्यालयले किसानलाई प्रति बिरुवा २० रुपैया“ अनुदान समेत दिएको छ । जैमिनी नगरपालिकाले केरा पकेट बिस्तार कार्यक्रम अन्र्तगत कृषि निर्देशनालयको सहकार्यमा ‘नाफा परियोजना’ थालेको छ ।





