पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । यसभित्र खेलकुद क्षेत्र हेर्ने हो भने पहँुचको भरमा बजेट ल्याएको देखिन्छ । तर, ग्रासरुटबाट खेलकुदको विकास गर्ने र खेलाडीको वृद्धि विकासका लागि भने बजेट ल्याएको देखिदैन् ।
खेलकुद बजेटप्रति प्रदेश सभा सदस्य प्रकाश बराल सन्तुष्ट छैनन् । प्रदेश सभामा नेपाली कांग्रेस दलका प्रमुख सचेतकतसमेत रहेका उनी भन्छन्, ‘हिजोका दिनदेखि खेलकुदको बजेट विग्रिएर आएको थियो । आज पनि खेलकुद क्षेत्र उपेक्षामै परेको छ । खेलकुदलाई समेटेर उत्साहजन बजेट आएन उही निरन्तरता मात्रै भयो यसलाई परिवर्तन गर्नुपर्छ भन्ने हो तर, त्यो परिवर्तन हुन सकेन् ।’
उनले नीति तथा कार्यक्रममासमेत खेलाडीको वृत्ति विकास र खेलकुदको स्तरोन्नतीका लागि कुनै कार्यक्रम नआएको भन्दै असन्तुष्टि व्यक्ति गरे । बजेट विकासमुखी नभइ वितरणमुखी आएपछि उनले यो बजेटले खेलकुदमा लोकप्रियता हासिल गर्न नसक्ने बताउछन् ।
यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले पनि अहिलेको बजेट खेलाडी र खेलकुदका लागि नआएको बताए । ‘ग्रासरुट र खेलपूर्वाधारहरु बजेट देखिएन । मन्त्रालयको बजेटमा छ, छैन थाहा छैन । तर, परिषदलाई दिएको बजेटमा देखिदैन’ उनले भने । सामान्य पूर्वाधारका लागि बजेट छुठ्याएर खेलकुदको विकास नहुने उनको तर्क छ ।
प्रदेशको काम खेलाडीको वृत्तिविकास र प्रशिक्षणमा हुनुपर्ने हो । प्रदेश सरकारको बजेटले हरेक जिल्लामा कम्तिमा प्रदेशस्तरीय र राष्ट्रिय स्तरको रंगशाला निर्माणमा ध्यान दिनुपर्ने हो तर, अहिलेको बजेटले त्यसस्ता पूर्वाधारका लागि बजेट विनियोजन गरेको देखिदैन ।
गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको कुनै पनि खेल मैदान छैन् । पोखरा रंगशालाभित्र बहुउदेश्यीय कभर्डहल, फुटबल मैदान, क्रिकेट मैदान, आर्चरी, टेनिस, बक्सिङ रिङ रहेपनि सबैले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्न सकेका छैनन् । प्रदेश सरकारले आफ्नै लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्ने परिकल्पना गरेपनि डिपिआर निर्माणपश्चात त्यो त्यसै थन्किएर बसिरहेको छ ।
बजेटमा ठूलादेखि वडास्तरका प्रतियोगितालाई पहुँचका आधारमा बजेट विनियोजन गरिएको देखिन्छ । यो किसिमको बजेटले खेलकुदको विकास हुँदैन पोहोरको जति पनि धान्दैन । प्रत्येक वर्ष खेलाडीको संख्या वृद्धि हुन्छ जसका लागि आवश्यक बजेट चाहिन्छ तर, यो बजेटले त्यसलाई नसमेट्ने राजन पौडेल बताउँछन् । जबसम्म पूर्वाधार र ग्रासरुटमा लगानी हुँदैन तबसम्म खेलकुदमा विकास नहुने उनको भनाई छ ।
उता प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले समेत खेलकुदमा पर्याप्त मात्रामा बजेट नआएको उल्लेख गरे । मुख्यमन्त्री खेलकुदका लागि सकरात्मक रहेपनि अर्थमन्त्राल वा सामाजिक विकास तथा खेलकुद मन्त्रालयबाटै बजेट कतौटी भएको हुनसक्ने उनको बुझाई छ । यो बजेट दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत देखिदैन । सघं सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट विनियोजन गरेपनि प्रदेश सरकारले त्यसको तयारीका लागि भने बजेट विनियोजन गरेको छैन् ।
हालको बजेटले गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागि भएका खेलाडीको मासिक भत्तास्वरुप पाँच लाख, खेलाडी सम्मान तथा प्रोत्साहनका लागि पाँच लाख, विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने संघ÷संस्थालाई अनुदान २० लाख रुपैयाँ बाहेक प्रदेशको खेलकुदका लागि बजेट विनियोजन गरेको छैन् ।
आगामी आर्थिक वर्षका लागि प्रदेशको बजेटमा वृद्धि भएपनि खेलकुदमा घट्दा यसले चुनौति थपेको छ । ‘यो बजेटले ठूला प्रतियोगिता गर्न गाउँगाउँबाट खेलाडी ल्याउन र प्रोत्साहन गर्न कमी हुन्छ । अहिलेको बजेटका कारण भविष्यमा प्रतियोगिताको संख्यामा कमी आउने पनि चिन्ता छ, दोस्रो, हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रतियोगितामा सहभागिता गर्ने जुन शीर्षक छ, त्यो शीर्षकमा बजेट कम भयो’ उनले भने, ‘अब हाम्रा गण्डकीको पनि विभिन्न जस्तो दशौँमा होला वा अन्य खेलमा सहभागिता कसरी गराउने भन्ने अन्योलता थपिएको छ भलै आवश्यक परे क्याविनेटबाट पास होला ।’
उनका अनुसार तुलनात्मक रुपमा अन्य प्रदेशमा भन्दा गण्डकीमा खेलकुद परिषद्को लागि बजेट न्युन रहेको छ । परिषद्लाई ६ करोड रुपैयाँ दिएको छ । परिषद्बाट आवश्यक बजेट माग गरेपनि काटिएर आएको उनको भनाइ छ । विभिन्न क्लब तथा विद्यालयका खेल मैदानका लागि टुक्रे बजेट छुटिएको छ तर, त्यस्ता मैदानले खेलाडीको विकास संगै प्रदेशले पदक ल्याउने आशा गर्न नसकिने देखिएको छ ।





