सरर गाडीमा हिंड्यो, जहाँ रोक्न मन लाग्यो रोक्यो । खाना बस्नको बन्दोबस्त आफैंमा छ । दाल, चामल, तरकारी, ग्यास भारतमै सस्तोमा किन्यो । चुलाचौका, भाँडावर्तन आफ्नै साथीभाइ, इष्टमित्र, परिवार आफैंले सागसब्जी सुधार्यो । सडक छेउमा आफ्नै हातले बनाएको ताजा खाना खायो । सस्तो–महङ्गो, मिठो–नमिठो, ढिलो–चाँडो र चिसो–तातोको टन्टै साफ, होटेल नपाइएलान्, खानाको सुविधा नहोला । भनेर सोच्नै परेन । यस्सो पानी भएको ठाउँमा रोकियो नुहाइ–धुवाइ आनन्द छ । यो भन्ने देख्नेले मात्रै हो । यहि जीवन भोग्नेको पीडा फरक हुन्छ ।
भारतीय तीर्थयात्रीले बाटोमा पकाएर खानु रहर होइन बाध्यता होला । नेपालका प्रायः धार्मिक क्षेत्रमा सात्विक भोजनालय नभइ रेष्टुरेण्टहरू मात्र रहेका छन् । जहाँ राजसि र तामसि परिकार मात्र पकाइन्छ । मांस मदिरा नभएको होटल हुँदैन । सात्विक प्रवृत्तिका मानिसहरूले भोजन गर्ने खालको वातावरण यहाँ छैन । जुन हामीले पनि भोग्दै आएका छौं । तीर्थाटनमा आएका तीर्थालुलाई सोही अनुरूपको भोजन र आवासको व्यवस्था भएमा अवश्य पनि कसैले सडक रोज्दैनन् ।
हावापानी, चर्को गर्मी, सडकको धुलो र सवारीसाधनको धुवाँलाई छलेर शुद्ध भोजनको कल्पना गर्नु दुखैको कुरा हो । यद्यपि मानिसहरू सडकको खानपान रोज्न बाध्य छन् । स्वदेशी हुन् या विदेशी एक ठाउँबाट अर्को ठाउँ घुमफिर, मनोरञ्जन वा तीर्थाटन जुनसुकै प्रयोजनले यात्रा गरुन् उनीहरु पाहुना हुन् । अतिथी हुन् । उनीहरुको स्वागत सम्मान गर्नु हाम्रो कर्तव्य हो । तर आजभोलि मानिसहरूले व्यवसायीक रुपमा जीवन धानेका छन् । रुपैयाँ आउने बाहेकका काम कसैले गर्दैनन् । ‘अतिथि देवो भवः’ भन्ने वाक्यांश किताबमै सिमित बन्यो । झनै नेपाली बजार त अस्वस्थ प्रतिस्पर्धा र कमाउ धन्दामै चलेको छ ।
नौलो मान्छे देख्यो कि ठग्नेलाई भारतीय पर्यटकले चक्मा दिएका छन् । यसो भनिरहँदा सच्चा व्यापारीहरुको इमानमा ठेस लाग्ला । हामीले हाम्रै बजार भने तापनि धेरै ठाउँमा नेपालीले नेपालीलाई नै ठग्ने चलन बढ्दो छ । हिजोआज व्यापारीहरु नयाँ पोसाक, नयाँ भाषाशैली र बाह्य व्यक्तित्वका आधारमा व्यवहार गर्छन् । यिनै आन्तरिक तत्वका आधारमा खाजा, खाना र बसाइको मूल्य हुन्छ । नेपाली नै किन नहोस् भौगोलिक रूपमा केही टाढाको भए फरक व्यवहार गरिन्छ । नेपालमा यसको नियमन कमजोर छ । जसले जहाँ जतिमा जोसङ्ग व्यापार गरे पनि त्यसको दररेट अनियन्त्रित हुनु दुःखद् हो । यसबाट पर्यटन क्षेत्र धरासायी बन्नु स्वभाविक नै छ ।
नेपालको पर्यटन क्षेत्रमा भारतीय पर्यटकको योगदान महत्वपूर्ण छ । हाम्रो पर्यटन बजारमा ठूलो हिस्सा ओगटेका भारतीय पर्यटकले खाना खाने ठाउँ पाएका छैनन् । धर्म, संस्कृति, रहनसहन र आस्था मिल्दामिल्दै पनि नेपाली होटेलहरुमा खाना खान नरुचाउनु दुःखद् छ । भौगोलिक निकटता, खुला सिमाना, धार्मिक र साँस्कृतिक समानताका कारण नेपाल भारतीय पर्यटकका लागि प्रमुख गन्तव्य बन्दै आएको छ । यसर्थ पनि भारतीय पर्यटक नेपालको पर्यटन उद्योगको मेरुदण्ड हुन् । त्यसैले उनीहरुका लागि उपयुक्त हुने खालको व्यवस्था हुनु जरुरी छ ।
अहिले नेपालका धेरै तीर्थस्थलहरुमा भारतीय धार्मिक पर्यटकको लहर बढेको छ । बाटोमा भारतीय नम्बर प्लेटका गाडी बाक्लै गुडिरहेका हुन्छन् । भारतमा ठूलो जनसंख्या हिन्दू र बौद्ध धर्मावलम्बीको छ । पुराणमा वर्णन भए अनुसार नेपाल हिन्दु र बौद्ध धर्मको उद्गम विन्दु हो । भारतीय पर्यटकहरू प्रायः धार्मिक तथा साँस्कृतिक पर्यटकका रुपमा पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनी जस्ता पवित्र स्थलहरू पुग्छन् । भारतीयहरूलाई अत्यधिक आकर्षित गर्ने यी तीर्थस्थलहरुमा उनीहरुको जीवनस्तर अनुरुपको खानपान र बसाइँ व्यवस्थापन हुनु जरुरी छ । साहसिक यात्रा गर्न रुचाउने युवायुवतीहरुले पनि नेपाली भूगोल रोज्नु नेपालका लागि गर्विलो कुरा हो । पछिल्लो समय भारतीय युवायुवतीहरूले नेपालमा ट्रेकिङ, बन्जी जम्पिङ, ¥याफ्टिङ र प्याराग्लाइडिङप्रति आकर्षण देखाउदै आएका छन् । त्यस्तै गर्मीबाट बच्न पनि केही भारतीय पर्यटकहरूको गन्तव्य नेपाल बनेको छ । भारतका विभिन्न सहरहरूमा अत्यधिक गर्मी हुनु र नेपालको पर्यावरण अनुकूल बन्नुले उच्च वर्गीय भारतीय नागरिकहरुले शितल वातावरणको खोजीमा नेपाल रोज्ने गर्दछन् । ‘अफसिजन’ नै भए पनि भारतमा गर्मी सिजन सुरु भएपछि पोखरा, जोमसोम, नगरकोट र चन्द्रागिरी जस्ता स्थानहरू भारतीय पर्यटकले भरिभराउ हुन्छन् । त्यसैगरी मनोरञ्जनात्मक दृष्टिले पनि नेपाल पर्यटनका लागि प्रबल सम्भावना भएको देश हो ।
एकातर्फ सुविधासम्पन्न होटल तथा क्यासिनोहरू भारतीय विलासी पर्यटकहरूका लागि ठूलो आकर्षणको केन्द्र छन् भने अर्कोतर्फ क्रस–बर्डर सडक पर्यटन छ । नेपाल र भारतबीचको खुला सिमानाका कारण आफ्नै सवारी साधनमार्फत नेपाल आउने पर्यटकको संख्या हवाई मार्गको तुलनामा कैयौँ गुणा बढी छ, जसले समग्र पर्यटकीय क्षेत्रलाई चलायमान बनाउँछन् । ऐश आराममुखी जीवनशैली, मनोरञ्जन र साहसिक यात्रामा आउने पर्यटकलाई उपयुक्त वातावरण रहँदा रहँदै पनि धार्मिक पर्यटकका लागि सेवासुविधा नपुगेको स्वीकार नै पर्छ ।
नेपाल आउने भारतीय पर्यटकहरुमा धार्मिक पर्यटक अधिक हुन्छन् । परन्तु यहि क्षेत्रका तिर्थयात्रीहरुलाई सुविधा नपुग्नु चुनौतीको कुरा हो । उनीहरु धार्मिक रूपमा कट्टर हुन्छन् । सामान्यदेखि सम्भ्रान्त परिवारसम्मले शुद्धाशुद्धीको विशेष ख्याल गर्छन् । बिहान उठ्नु, स्नानादी कर्म गर्नु, जप, ध्यान, भगवानको पुजा आराधना र र सात्विक आहार गर्नुलाई उनीहरु दैनिकी ठान्छन् । यसर्थ नेपाली होटेलहरु पारदर्शी नभएर नै सडकमा भोजन गर्नुपर्ने बाध्यता सिर्जना भएको हुनुपर्छ ।
शुद्ध शाकाहारी भोजनालय एवं होटल नहुनु, आश्रम, धर्मशाला, पार्टी पौवा, सार्वजनिक धारा र शौचालय नहुनु लज्जास्पद कुरा हो । हामी नेपालीहरुलाई जे नखाउ, जे नगर, जहाँ नजाउ भन्यो त्यही गर्नुपर्छ । तर प्रायः भारतीय नागरिकहरुले आज पनि धार्मिक आचरणलाई शिरोपण गर्दै आएका हुन्छन् । पुर्खाले बनाइदिएका चौतारी, पोखरी र पाटिपौवा समेत भत्काइए । आज पाहुनाहरु भोकभोकै हिंड्नुपर्ने अवस्था आयो । तीर्थयात्री जतिसुकै सम्पन्न किन नहोस् माछा, मासु र रक्सीबाट टाढा हुन्छ । अवान्छित क्रियाकलाप हुने होटलमा बस्दैन् ।
तीर्थयात्री र पर्यटक फरक विषय हो । नेपाल आध्यात्मिक मुलुक हो । त्यसैले यहाँका मानिसहरू अध्यात्मसङ्ग नजिक हुनुपथ्र्यो । त्यो जीवनशैली धर्म निरपेक्षताका मतियारहरुले ध्वस्त बनाए । आज संस्कार, संस्कृती र परम्परा विलिन भए । फलस्वरूप भारतीय धार्मिक पर्यटक भोकभोकै हिंड्न विवश छन् । कतिले राम्रो व्यवस्थापनको अभावले सडकमा खाना पकाउन बाध्य छन् ।
नेपाली पर्यटन जगतमा सपरिवार आएर राम्रो खर्च गर्ने पर्यटक भारतीय हुन् । यहाँ स्वदेशी पर्यटकको जत्ती महत्व छ, भारतीय पर्यटकको पनि उत्तिकै महत्व हुनुपर्छ । कि त सरकारले तीर्थ यात्रीहरुलाई खाना पकाउने स्थान, नजिकै खानेपानी, स्नान गृह, शौचालय र फोहर फ्याल्ने डस्टबिन उपलब्ध गराउनु पर्छ । यसरी बाटोमै खानपान गर्दा फोहोरमैला व्यवस्थापनमा कठिनाइ हुन्छ । सफा र सौन्दर्यप्रद स्थान भोजनका लागि रोजिने र खाना भान्साबाट उत्पन्न फोहोर त्यहीँ विसर्जन गरिने हुनाले वातावरण दुर्गन्धित हुन्छ । प्राकृतिक रुपमा भुस्वर्ग मानिने नेपाल विकृत बन्न सक्छ । नेपालको पर्यटन उद्योग यती महत्वपूर्ण छ कि यसले नेपालको धार्मिक, प्राकृतिक र साँस्कृतिक महत्व मात्रै बढाउदैन भारतसँग रहेको व्यापार घाटा कम गर्ने सामथ्र्य राख्छ । त्यसैले भारतीय पर्यटकको प्रवद्र्धन सबैभन्दा छिटो र प्रभावकारी माध्यम हुन सक्छ । भारतीय पर्यटकले गर्ने खर्चले देवालय, होटल, रेस्टुरेन्ट, हस्तकला जस्ता व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्छ ।
नेपालमा भारतीय पर्यटकको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न व्यवस्थित सडक पूर्वाधार, सिधा हवाई उडान, विश्वसनीय पार्किङ व्यवस्था, पर्यटकमैत्री आवास सुविधा, धार्मिक पर्यटकका लागि विश्राम केन्द्र निर्माण आदि गर्न सकिन्छ । भारतीय पर्यटकहरूका लागि विशेष महत्वका तीर्थस्थल आकर्षक बनाउनु र तीर्थयात्रासँगै होटल, सांस्कृतिक कार्यक्रम, स्थानीय खाना, किनमेल र अन्य गतिविधि जोड्न पहल गर्नुपर्छ ।
धेरै भारतीय परिवारहरू शाकाहारी वा धार्मिक भोजन रोज्छन् । त्यसअनुसार सफा, विश्वसनीय र प्रमाणित शाकाहारी भोजनालय, पारिवारिक होटल र सेवा उपलब्ध गराउनु पर्छ । राजनीतिक अस्थिरता, हिंसाजन्य गतिविधि र भ्रमपूर्ण सूचनाको निगरानी गर्नुपर्छ । नेपाल र नेपालीहरु हाम्रो लागि ठिक छन् भन्ने छवि भारतीय बजारमा पु¥याउनु पर्छ । धार्मिक, प्राकृतिक र साँस्कृतिक महत्वका विषयलाई प्रचारप्रसारका हिसाबले सतहमा ल्याउनु पर्छ । यसर्थ सहज पहुँच, सफा र सुरक्षित वातावरण, भारतीय बजारअनुकूल सेवा र उच्च गुणस्तर प्रदान गर्दै सबल व्यवस्थापन गर्न सके नेपालको अर्थतन्त्रमा भारतीय पर्यटकको योगदान कोसेढुङ्गा सावित हुनेछ । त्यसैले अतिथिको सत्कार गरौं ।




