
पोखरा/पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका मावि तथा छात्रातर्फ बाराही माविले उपाधि जितेका छन् ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा कालिकाले जनप्रिय माविलाई तथा बाराहीले कालिका माविलाई पराजित गर्दै यो संस्करणको च्याम्पियन बनेका हुन् । छात्रतर्फको फाइनलमा टस जितेर व्याटिङ रोजेको कालिकाले निर्धारित १७ ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो । प्रत्युत्तरमा जनप्रियका व्याट्स्म्यानहरु चल्न नसक्दा उसको पारी २९ रनमै समेटिन पुग्दा कालिका ७० रनले विजयी हुन पुग्यो । छात्रातर्फ कालिकालाई १२ रनले पराजित गर्दै बाराही च्याम्पियन बन्यो । टस हारेर व्याटिङ गरेको बाराहीले ६७ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । प्रत्युत्तरमा कालिकाले पुरा ओभर खेलेर ८ विकेटको क्षतिमा ५५ रन मात्रै बनाउन सक्यो ।
प्रतियोगितामा छात्रतर्फ ३२ तथा छात्रातर्फ १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता खेलाडीले ६० प्रतिशतको छात्रावृत्तिसँगै ट्रफी मेडल प्रमाणपत्र तथा उप–विजेता खेलाडीले ४० प्रतिशतको छात्रावृत्तिसंगै ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । प्रतियोगितामा छात्रतर्फ कालिकाका राज परियारले सर्वोत्कृष्ट खेलाडीको ताज जिते । नवप्रभावतका अनिष रावत वेष्ट बलर र वेष्ट ब्याट्स्म्यान बने । छात्रातर्फ बाराहीका हीरा घर्तीमगर सर्वोत्कृष्ट खेलाडी बनिन् । कालिकाका वर्षा पौडेलले वेष्ट बलर र वेष्ट ब्याटरको उपाधि जितिन् ।





