२०७५ साल मंसिर ११ गते घोषित तथा २०७६ साल साउन १ गतेदेखि कार्यान्वयनमा आएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष कर्मचारी÷मजदुरको सामाजिक सुरक्षाको ग्यारेण्टी गरेको छ । कोषले वैदेशिक रोजगारीमा गएकादेखि अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुलाई पनि समेटेको छ । तर, सामाजिक सुरक्षा कोषमा आवद्धताको संख्या भने निराशाजनक नै छ । गण्डकी प्रदेशके कुरा गर्ने हो भने हालसम्म १ हजार ३३० रोजगारदातामात्र सामाजिक सुरक्षा कोषमा सामेल भएका छन् भने ३२ हजार ८४० जना योगदानकर्ताहरु त्यसमा समेटिएका छन् । अनौपचारिक क्षेत्रमा कार्यरत मजुदरलाई सामाजिक सुरक्षामा आवद्ध गराउने प्रयासले पनि गति लिन सकेको छैन । केही पालिकाहरुले अघिल्ला वर्षहरुमा त्यस्तो अभियानको थालनी गरे पनि लागत बढ्दै जाँदा उनीहरु पछि हटेको अवस्था छ ।
सामाजिक सुरक्षा कोषमा रोजगारदाताले २० प्रतिशत र कर्मचारीको ११ प्रतिशत गरी ३१ प्रतिशत रकम जम्मा हुने गर्छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना र अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा तथा बृद्धावस्था सुरक्षाको सुविधाको व्यवस्था गरेको छ । कोषमा आवद्ध कुनै पनि श्रमिकको दुर्घटना भएमा कोषले त्यसको उपचार गर्छ, दुर्घटनामा श्रमिकको मृत्यु भएको खण्डमा कोषले आश्रित परिवारलाई सुरक्षा दिन्छ । त्यस्तै कोषले पेन्सनको ब्यवस्था पनि गरेको छ । हालसम्म सरकारी कर्मचारीले मात्र पेन्सन प्राप्त गर्दै आएकोमा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकले पनि १८ वर्ष काम गरेपछि कोषबाट पेन्सन पाउन सक्ने व्यवस्था सकारात्मक छ । ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि–२०७७’ ले श्रमिकले आफूले सामाजिक सुरक्षाबापत योगदान गरेको रकमबाट सापटी पाउने बाटो खोल्दै १२ किसिमका कर्जा तथा सापटी रकम परिचालन गर्नसक्ने बनाएको छ । अर्थात्, कोषलाई कर्मचारी सञ्चयकोषकै स्वरुपमा लगिएको छ ।
औपचारिक र अनौपचारिक दुबै क्षेत्रका श्रमिकको भविष्य सुनिश्चित गराउने कार्यक्रमप्रति किन आकर्षण बढेन भन्नेतर्फ कोषले ध्यान पु¥याउनुपर्ने देखिएकोखछ। एक त, रोजगारदाता स्वयं कोषमा जान अनिच्छुक हुने गरेका छन् । अनौपचारिक क्षेत्रमा रहेका मजदुरले त यो कोषमा कसरी आवद्ध हुने भन्ने जानकारी नै पाएका छैनन् । औपचारिक क्षेत्रका श्रमिकहरु पनि मालिक रिसाउने डर र कोषका प्रावधानका कारण खासै इच्छुक देखिएका छैनन् । कोषबारे समाचार लेख्ने पत्रकार आवद्ध संचार गृहहरु नै कोषमा आवद्ध भएका छै्नन् बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरु यो कोषमा आवद्ध हुन इच्छुक देखिएका छैनन् । कोषले योगदान गरेकाहरुको लागि विभिन्न आकर्षक प्याकेज ल्याइरहेको छ तर कोषमा बढीभन्दा बढी मजदुरलाई आवद्ध गराउनका निम्ति अझ बढी क्रियाशिलता अपेक्षित छ ।




