हिजोआज मानिसहरूले स्वस्थ रहन विभिन्न शैलीमा व्यायाम गर्ने गर्छन् । सबेरै उठेर दौडिने, हिड्ने, शारीरिक व्यायाममुखी भएर खनजोत गर्ने, एक्कै स्थानमा बसेर योग, ध्यान गर्नेदेखि प्रणायाम गर्ने क्रियाकलाप बढ्दा छन् । बागलुङमा यसका अतिरिक्त छमछम नाचेर व्यायाम गर्ने प्रचलन चलेको छ । जो हरेक दिन बिहान गण्डकी स्वर्णिम झुला बागलुङमा सुरु हुन्छ । देशका विभिन्न स्थानमा निर्माण भएका सहिद स्मृति पार्कमा प्रायः मानिसहरू सहिद दिवसका दिन पुग्छन् । परन्तु बागलुङमा रहेको यस पार्कमा हरेक दिन मानिसहरूको जमघट हुन्छ । नगरपालिकाले निर्माण गरेको खुल्ला व्यायामशालादेखि बाल उद्यानसम्मका संरचना यहीँ बनेका छन् । हरियाली वातावरण, शितल हावा, पुष्प बाटिका, मनोरम पर्यावरण, गलैंचाको रुपमा धर्ती माताले दिएको दुबोले युक्त खुल्ला मैदानका बिच बागलुङबासीको साँझ बिहान पुग्ने गन्तव्य यहि पार्क हो । जहाँ प्रत्येक दिन बाह्य पर्यटकको समेत उल्लेख्य उपस्थिति रहन्छ ।
स्वस्थ रहनको लागि शारीरिक व्यायामको आवश्यक पर्छ । गाउँमा स्वच्छ हावापानी र वातावरण पाइन्छ । त्यसैले त्यहाँको जीवन अर्गानिक हुन्छ । शहरमा त्यस्तो जीवन पाउन मुस्किल छ । गाउँमा चौतारी, पोखरी, छाँगा छहरा र खोलानालाको सुन्दरताले सबैको ध्यान आकर्षण गरेकै हुन्छन् । आफ्नो जन्मभूमि, पुख्र्यौली थलो, पिता पू्र्खाले आर्जेको भुमिलाई सबैले महत्व दिन्छन् । त्यसैले त त्यहाँ मेहनेत गरिन्छ । दसनङ्ग्रा खियाएर भए पनि हातमुख जोर्ने प्रयत्न गरिन्छ । बिहान सबेरै उठ्यो । नुवाइधुवाई, सन्ध्याबन्धन, पुजापाठ नित्यकर्म सकेर पशुचौपायाको सेवामा तल्लीन बन्यो । त्यहाँका मानिसले भकारो सैतनेदेखि, गाइभैसी दुहुने र उनीहरुकै खानपानको व्यवस्था गर्नु प्रमुख दायित्व ठान्छन् । गाउँको फाइदा नै मुलको चिसो पानी, दूध, दहि, घ्यूको अधिकतामा रमायो । रसिलोपसिलो जीवन ज्युनु आनन्द बेग्लै हुन्छ । खेती किसानी र ढिकी जातोसङ्गैको जीवन भए पनि खुशी त्यही छ । आत्मनिर्भरताको सीप र आन्तरिक संस्कारले मानिसलाई प्रफुल्लित तुल्याएकै हुन्छ । तसर्थ त्यहाँका मानिसहरूले व्यायामलाई छुट्टै समय छुट्याउनु पर्दैन ।
यता सहरमा बस्ने मानिसले पानीसित खाना खानुपर्छ । गाउँमा खेतबारी बाझै छ । दिउँसो खाजाका नाममा चाउचाउ, विस्कुट, पाउरोटी र रातो चियाले जीवन धान्नुपरेको छ । शहरिया मानिस मानसिक कामले थकित भए पनि शारीरिक रूपमा आलस्यले युक्त हुन्छन् । विषेश गरेर हामीले स्वस्थ रहनको लागि खानपिनसँगै व्यायामलाई पनि उत्तिकै जोड दिनु पर्दछ । स्वस्थताको लागि व्यायाम अति आवश्यक छ । व्यायाममा पनि अरु समयको भन्दा बिहानीपख गरेको व्यायामले हाम्रो शरीरलाई फाइदा पुग्छ । बिहानीपख गरिने व्यायाममध्ये मर्निङ वाक चर्चित छ । बिहान हिंड्नाले शारीरिक र मानसिक स्वस्थता मिल्छ । त्यसैले हिजोआज मर्निङ वाक भनेपछि जवानदेखि वयस्कसम्मका मानिसहरूको ध्यान आकर्षण हुन्छ ।
हाम्रो बागलुङमा पनि बिहान सबेरैदेखि मानिसहरुको चहलपहल सुरु हुन्छ । विशेषतः उपल्लाचौर, रामरेखा ढिकदेखि कालीका मन्दिर, गणेशस्थानको उकालो र मालढुङ्गा, पावर हाउस हुँदै निरयघाटसम्मका क्षेत्रमा मानिसहरुको ओहोरदोहोर बढ्छ । धेरैजसोः एउटै समयमा यो जमातले निरन्तरता पाउँछ । हल्का सजिला ट्याकसुट जकेट, जुत्ता मोजा र टोपी लगाएका मानिसहरूको ओहोरदोहोरले भिन्न संस्कार झल्काउँछ । अहिलेका मानिसहरू प्रायः मोबाइलमा झुमेको देखिन्छ । परन्तु बिहान दौडिने वा सहिद पार्कमा गएर व्यायाम गर्नेहरु मोबाइलबाट टाढा हुन्छन् ।
मर्निङ वाक गर्दा शरीरबाट पसिना निस्किन्छन् । तिनै पसिनाको माध्यमबाट दुषित पदार्थ बाहिर निस्कने र नियमित व्यायामले शरीरको तौल घट्नुका साथै फूर्तिलोपन बढाउदै जान्छ । विभिन्न तनाव र शारीरिक दबाबमा रहेको मानवीय मनमा खुशीपन थप्ने भएकोले पनि अहिलेका मानिसहरू योग, ध्यान र व्यायाममा उद्वत छन् । मर्निङ वाकले शरीरमा सहज रूपमा रक्तसञ्चार हुन्छ । जसले शरीरका नसामा रगत जम्न दिदैन । मस्तिष्कघात र हृदयघात जस्ता गम्भीर प्रकृतिका रोगको जोखिम कम हुन्छ । उच्च रक्तचापलाई सन्तुलित बनाउने, सुगर तथा कोलिस्टोर घटाउन शारीरिक व्यायामले महत्वपूर्ण भूमिका खेल्छ । यी यावत फाइदालाई महत्वाकांक्षी नजरले हेर्ने बागलुङबासीहरु कोही दौडिन मन पराउँछन् । कोही खेल खेल्न, कोही योग, ध्यान र व्यायाम गर्न मन पराउँछन् त कोही जिम जान्छन् । यहिं बीचमा एउटा यस्तो समूह छ । जसले हरेक दिन बिहान संगीतको साथमा व्यायाम गर्छ । यो अनौठाको बानी अरु कसैमा होइन बागलुङबासी सर्वसाधारणको हो । पर्वत जिल्लाको कुश्मा नगरपालिकालाई अदुवाबारी र बागलुङ जिल्लाको बागलुङ नगरपालिकालाई बाङ्गेचौरमा जोड्ने गण्डकी स्वर्णिम झुला कालीगण्डकी नदी माथी बनेको छ । ५६७ मिटर लामो यो झोलुङ्गे पुल नदीको सतहबाट १२२ मिटर माथि छ । वि.सं २०७७ सालमा निर्माण सम्पन्न यो पुलले आजभोलि दैनिकजसोः सयौं पर्यटक मात्रै बोक्दैन । सधैंजसोः मर्निङ वाक गर्ने बागलुङबासीलाई पर्वतको अदुवाबारी पु¥याउने काम गर्छ । चढेर जो–कोहीले बागलुङको रमणियतामा रमाउन पाउँछन् । राजमार्गको माथि निर्माण गरिएको यो पुलमा पंक्तिबद्ध जडान गरिएका बत्तिहरुले साँझ–बिहान थप सौन्दर्यता प्रकट गरेका हुन्छन् ।
कालीगण्डकी र बाङ्गेचौर खेलमैदान छेउमा रहेका सल्लेरीको चिसो हावा, बागलुङ कालीका माताको काखमा यहाँका मानिसहरू रमाइरहेका हुन्छन् । हिंडेर जहाँ पुगेका मान्छेहरू पनि आएर बिसौनी त्यही स्वर्णिम झुला हो । जहाँ एक जमात दैनिक लोकदोहोरी गितमा छमछम नाचिरहेका हुन्छन् । यो व्यायाम गर्ने बागलुङ्गेहरुको अर्गानिक तरिका हो । हस्याङ्फस्याङ गर्दै उकालो ओरालो गर्ने केही मानिसका लागि यो शैली निकै अनौठो छ । संगीतको तालमा छमछम नाचेको हेर्ने मानिसको कमि कहिल्यै भएन । सबेरै उठेर नाच्न पुग्नेदेखि नाच हेर्न पुग्ने सर्वसाधारण सबै सबैको मानसिक शुद्धता यहिं मौलाउँदो छ । गण्डकी स्वर्णिम झुला पनि विश्वमै भाग्यमानी हुनुपर्छ । जसले निर्माणलगत्तै नाचगानमा रमाउने सर्वसाधारण पाएको छ ।
बढ्दो जनसंख्या वृद्धि, अव्यवस्थित सहरीकरण, सवारी साधनको प्रयोग र बसाइँसराइका कारण वातावरण प्रतिकुल बन्दैछ । पहाडी क्षेत्र, हरियाली वनजङ्गलको सान्निध्यमा रहेपनि यहाँको तापक्रम दिन प्रतिदिन अनुकूल रहन सकिरहेको छैन । तसर्थ गर्मी मौसममा यहाँका मानिसहरु बिहान, बेलुका चिसो हावापानीको अपेक्षासहित रामरेखा, उपल्लाचौर र बाङ्गेचौरको ढिकलाई पछ्याउँछन् । सबेरै नृत्य प्रस्तुतीबाट सुरु हुने यो ठाउँको दैनिकीमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको उपस्थिति बढ्दो छ । यद्यपि खुल्ला व्यायामशालाको जिर्ण स्वरुपले बागलुङबासीको परिचयमा भद्दापन थपेको अनुमान गर्न सकिन्छ । बाल उद्यान, पुष्प बाटिका र यहाँको पर्यावरणीय सुन्दरतालाई बढावा दिन आवश्यक छ । यस स्थानको संरचनागत विकासमा सबै पक्षको ध्यान पुगे यो पार्क निकट भविष्यमा पर्यटकहरूको उत्कृष्ट गन्तव्य बन्न सक्छ ।




