बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भकुण्डेका बालबालिकाले नमस्ते अंकलभन्दा खुशीले गदगद

भकुण्डेका बालबालिकाले नमस्ते अंकलभन्दा खुशीले गदगद


  • याम बहादुर थापा मगर
  • असार १७ २०८३, बुधबार

आलेखको आरम्भ
समाजमा सुशासन र समुन्नती होओस् साथै असल अभ्यासको थालनी दैनिक रुपमा निर्माण भैरहोस् र पो समाज समृद्धि र समुन्नत विकास हुन्छ । समाजमा असल र खराब क्रियाकलाप बिचको लडाईंमा असल र सत्कर्मले बढवा पाओस् भन्ने माध्यम आम समुदायमा भएमा पक्कै असल, ज्ञानी र अनुशासित नानीबाबुहरु उत्पादन हुनमा सहयोग पुग्छ । हामीले चाहेको उज्यालो भविष्यको जिवन निर्माण गर्नका लागि आजका बालबालिकाहरुको शिक्षा, स्वास्थ्यमा अनुशासित भएर लाग्नुको विकल्प छैन । समाजको तस्विर बालबालिकाहरुको सँस्कार, आनीबानी, शिक्षा र आत्मनिर्भरमा प्रत्यक्ष जोडिन्छ । बालबालिकाहरुको आजभोलिका सकारात्मक सुक्ष्म कार्यले नै उज्यालो भविष्य बनाउने जिम्मा राज्य तहको संघिय, प्रदेश, स्थानीय तह हुँदै राजनीतिक पार्टी, नागरिक समाज, आमा समुह, सरोकारवाला लगायत अभिभावक, शिक्षक शिक्षिकाहरुको हुन्छ । मलाई आफनै गाउँ भकुण्डेमा बिदाको दिनमा घरमा जाँदा र आफ्नै टोलतिर समाजमा घुमफिर गर्दा थुप्रै बालबालिकाहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष भेटघाट हुन्छ । ति भेटघाट खासै अर्थपुर्ण र महत्वपुर्ण लागि रहेको थिएन । मलाई समाजका हरेक घटना र समाचारका विवरणहरु पनि पुरा अपडेट थाहा हुँदैन । मैले सरोकार राख्ने र सम्पर्क समन्वय तथा सरसल्लाहको कार्यकारी पदमा आशिन नभएकोले होला घटना घटिसकेपछि धेरै समय पछि थाहा पाउँछु । पुर्व निर्धारित योजना र पुर्व अभ्यास हुने तरिकाले कम मात्रामा समाजका गतिविधिमा अवगत हुन्छु ।

शनिबारको दिन अर्थात् बिदाको दिन घरमा बसिरहनुभन्दा पैटिनी पाखाको खरबारी गएर दाउरा, स्याउला लिनको लागि जान अनुरोध जिवनसंगीनि रुपकदेवी थापा मगरबाट भएपछि खरबारीमा जान हिंड्यौ । बाटोमा छिमेकीहरुसँग हाइहेलो गर्दै म अगाडी पाइला उकालो पदमार्ग पक्की बाटोमा हुँदै थियो । माथि तिरबाट एक जना बालिका र एक जना बालक तलतिर दौड्दै आउँदा मसँग जम्काभेट हुँदा साथ ति बालबालिकाले मलाई नमस्ते अंकल, सन्चै हुनुहुन्छ ? कता हिंड्नु भयो भन्दै मिठो आवाजमा भन्दा मलाई एकदम सकारात्मक आत्मानुभति र हर्षविभोरको मनोभावना सृजना भयो । मैले ठक्याकै ति बाबुनानीहरु कसका छोराछोरीहरु हुन भनेर यथार्थमा पहिचान बनाउन सकेको थिएन । ति बालबालिकालाई मैले सोधे कता जान लागेको हो भन्दा उनीहरु पसलमा जान लागेको भन्दै लामो भलाकुसारी गर्न वातावरण तयार भएन । ति बालबालिकाहरुसँग छुट्टिएर म उकालो खरबारीमा पाइला चाल्दा मनमा अनेक तरंगका मनोभावनाहरु खेलाउँदै गए । भकुण्डेमा यस्तै अभिभावकलाई नमस्ते, सम्मान, सत्कार, अध्ययनशील, सकारात्मक सोच भएका थुप्रै बालबालिकाहरु भएमा कति राम्रो हुने थियो । ति बालबालिकाहरुको नाम, ठेगाना मलाई थाहा थिएन । नमस्ते गर्ने हार्दिकता पछाडी उसको व्यक्तित्व, अनुशासन, क्षमता, पठन सँस्कृति र आत्मबल विकास भएको अनुमान गर्न सकिन्छ । त्यसै सेरोफेरोमा केन्द्रित भएर आत्मानुभुति सस्मरण लेख्नका लागि आलेखको प्रारम्भ भएको छ । यस लेखले भकुण्डे गाउँमा थुप्रै ग्रामिण भेगमा भएका अबोध भविष्यका कर्णधार बालबालिकाहरुमा सकारात्मक सन्देश दिने उत्प्रेरणा मिलोस् भन्न चाहान्छु ।

नमस्ते प्राप्त गर्ने भाग्यमानी मान्छे
दिनचर्या सामान्य रुपमा चलेको थियो । जिवनसंगीनि रुपकदेवी थापा मगरलाई सौरेको खरबारीमा मलाई दुई जना बालबालिकाले नमस्ते गरेको जानकारी गराए । कति ज्ञानी, अनुशासन, पढ्ने वातावरण खिम कुमारी थापा फुपुले दिनुभएको छ भन्दै खिम कुमारी सिंजाली थापा मगरको फुपुको छोरा निर बहादुर थापा पनि कति शिल स्वभाव र मिठो बोल्छन् भन्नुभयो । हुन पनि बागलुङ बजारमा प्रतिक फलेक्स प्रिन्टर्स सञ्चालन गरेका युवा उद्यमी भाईको बानी व्यवहार समेत मिठो स्वभावका धनी छन् । भकुण्डे गाउँमा थुप्रै बालबालिकाहरु भेटेको छु र उहाँ फलाना हुनुहुन्छ नि ल नमस्ते गर भनेपछि मात्र नमस्ते प्राप्त गरेको थिए । तर फेरी मलाई अनिवार्य नमस्ते गर्नुपर्ने र नमस्ते गर्न लायक पात्र म मात्र त होइन । तर थुप्रै बालबालिकाहरुमध्ये मलाई बिना अभिभावकको एक्लो साथ र समयमा नमस्ते भन्दा ति बालबालिकाहरुको पहिचान, आनीबानी र भविष्यका बारेमा सोच्न बाध्य बनाएको हो । मैले निर बहादुर थापा भाईलाई फोन गरेर बाबाआमाको नाम र निर बहादुर भाईको भान्जाभान्जीहरुको नाम प्राप्त गरे । बालिका हर्षिका थापा मगर वर्ष १४ कि कक्षा नौ र रियान थापा मगर वर्ष ११ कक्षा ७ मा भैरव माध्यमिक विद्यालय भकुण्डेमा अध्ययन गर्दै आएको जानकारी पाए । स्थायी ठेगाना बडिगाड गाउँपालिका दंगातुन्डाँडा खरबाङ स्थायी बासिन्दा भएका र आमा वैदेशिक रोजगारमा जानुभएको जानकारी पाए ।

ति बालबालिकाहरुको बारेमा थप जानकारी लिनको लागि विद्यालयका प्रध्नायापाक किसान सापकोटालाई सम्पर्क गर्दा ति हर्षिका थापा र रियाना थापा बालबालिका पहिला पहिला कक्षामा प्रथम, द्धितिय हुने विद्यार्थी हुन् । आजकल अलि गुणस्तर खस्केको जानकारी दिनुभयो । ति बालबालिकाहरुलाई थप गुणस्तरीय र प्रभावकारी विद्यार्थी बनाउन सरसल्लाह गर्नुपर्ने जानकारी दिनुभयो । त्यसपछि मैले अभिभावक खिम कुमारी थापालाई सम्पर्क गरी विस्तृत जानकारी लिने प्रयास गरे । खिम कुमारी थापाले भन्नुभयो – कि केटाकेटीलाई अनुशासन, पारिवारिक वातावरण र पढाइमा ध्यान दिन सक्दो प्रयास गरेको र यी बालबालिका कुर्चीमा बसेर काम गर्ने नोकरी खाने बनाउन पाए हुन्थ्यो । असल बानी निर्माण गरेर बाबाआमाले गरेको दुख संघर्षका परिणाम स्वरुप गरेर खाने बनुन् भन्ने चाहना र भावना छ । दुव्र्यसनी र कुलतमा नलागुन् भन्ने मान्यता हो भन्दै वार्तालाप गर्याैै । मैले पनि फोन वार्ताको क्रममा मलाई पनि बाबाले सानो कक्षामा पढ्ने बेलामा भकुण्डेको लालसिंह थापा मगर (हाल दाङ जिल्ला अदालतका जिल्ला न्यायाधिश) जस्तो बोली अशुद्ध बोले पनि कति राम्रो अक्षरमा शुद्ध लेख्ने हो भन्छन् रे । लालसिंह थापा मगरले जस्तै अध्ययन गर्नुपर्छ । निफन्नी डाँडाथरको तिलबहादुर थापा मगर हाकिम (बागलुङ नगरपालिका–१० भकुण्डेका वडा अध्यक्ष) ले जस्तो पढ्नुपर्छ भनेर बारम्बार अर्ति उपदेश दिनुुहुन्थ्यो । तर म सानो उमेरमा ति दुवै मानिसहरुलाई प्रत्यक्ष भेटेको र चिनेको हुन्थेन ।

त्यसपछि मैले भैरव माध्यमिक विद्यालय भकुण्डेका शिक्षिका देवी थापा मगरलाई फोन वार्ता गरेर हर्षिका थापा र रियान थापाका बारेमा थप जानकारी लिने प्रयास गरे । उहाँले हामी साना कक्षाका शिक्षक हौ माथिल्लो कक्षाका शिक्षकहरुको चासो कम भएर हो कि हामीलाई असल बालबालिकाहरु निर्माण गर्नका लागि सक्दो प्रयास भएको छ । ति बालबालिकाहरुको पढाइ, अध्ययन र आनीबानी असल बनाउनमा खिम कुमारी थापाको अति लगानी र सिकाउने बानी अरुका लागि अनुसरण गर्न योग्य भएको बताउनुभयो । आगामी दिनमा अझै राम्रो बालबालिका बनाउनमा अरुलाई दोषारोपण गरेर हुँदैन कि भन्ने लागेको छ ।

समाजमा असल अभिभावक र शिक्षक शिक्षिकाहरु
समाजमा असल अभिभावक, शिक्षिकाहरु जस्तै असल बालबालिका बनुन् । असल बालबालिकाहरुको जनसंख्या भए मात्र भविष्यका कर्णधारहरुले समाज र देशलाई योगदान गर्न सक्छन् । आजका बालबालिकाहरु भोलिका असल अभिभावक र शिक्षक शिक्षिकाहरु नै हुने मान्यताका आधारमा शैक्षिक आन्दोलनको आँधीबेरी सृजना गरौं । समाजमा मलाई जस्तै अन्य महानुभावहरुलाई नमस्ते र विनम्रतापुर्वक सम्मान गर्ने चलन दैनिक रुपमा बढवा भएमा समाज असल मार्गमा जान बढी मात्रामा सफल हुनेछ । समाजका अन्य बालबालिका, अभिभावक र शिक्षक तथा शिक्षिकाहरुले समाजले बढीभन्दा बढी सकारात्मक र क्षमता अभिवृद्धिका कार्यक्रमहरु प्रशस्त मात्रामा भैरहोस् भन्ने कामना गर्दछौ । पुस्तकहरुलाई स्थायी रुपमा साथी बनाउने, दैनिक पठन तथा अध्ययन संस्कृतिलाई बढवा दिने काम सुक्ष्म रुपमा हुनु पर्दछ ताकि बालबालिका असल नागरिक र उज्यालो भविष्यका कर्णधार बनाउने काम हामी सबैको सामुहिक प्रयासको वकालतबाट सम्भव हुन्छ । बालबालिकाहरुका लागि असल अभिभावक र शिक्षक बन्ने कामको समिक्षा हुनुपर्छ । के गर्दा असल अभिभावक र शिक्षक हुनुपर्ने हो भन्ने बारेमा उपलब्ध साहित्य समिक्षाका धेरैभन्दा धेरै कृति सामाग्रीहरु उत्पादन होओस् भन्ने बारेमा ध्यान केन्द्रित गर्नुपर्छ ।

हरेक परिवारका सदस्यहरुले शिक्षकहरुलाई राम्रोसँग पढाउँदैन, शिक्षकहरुले अभिभावकलाई बालबालिकाहरु धेरै समय अभिभावकको जिम्मा हुन्छ । अभिभावकहरुले भुमिका महत्वपुर्ण हुन्छ भन्छन् । फेरी अहिलेका बालबालिकाहरु पढ्न खोज्दैन भन्ने आक्षेप लगाएर सामूहिक दायित्व र जिम्मेवारी लिनेतर्फ पाइला अगाडी बढाउन खोज्नुपर्ने हुन्छ । सबै अभिभावकहरु बालबालिकाहरुलाई शिक्षकहरुले जस्तो दिशानिर्देश गर्ने खालका हुदैन । पढाउने र सिकाउने समसामयिक सिप ज्ञान निजामती कर्मचारीले जस्तो पन्छाउने र लालफित्तासाही शिक्षाशास्त्रको नवप्रर्वतन र खोज अनुसन्धानमा हुनुहुदैन भन्ने लाग्छ । असल अभ्यास निरन्तर आगामी दिनमा भैरहोस् । बालबालिका कुलत र कुसंस्कारबाट टाढा रहुन भनौ कि दुव्र्यसनी व्यवहार बालबालिकाहरुमा कहिल्यै देख्न नपरोस् भन्ने काम कामना गर्न सक्छु । मलाई गाउँघरमा घुम्ने, डुल्ने समयमा बालबालिकाहरु अवोध रुपमा कुलत र कु–सस्कारमा लाग्ने र मलाई नमस्कार नगर्ने बालबालिकाहरुमा कमी आओस् । मलाई जस्तै समाजमा अन्य मानिसहरुलाई नमस्कार, सम्मान, प्रेरणा दिने बालबालिकाहरुको संख्यामा बढोत्तरी भैरहोस् भन्ने कामना गर्न सक्छु । समाजमा हर्षिका र रियान जस्तै बाबुनानीहरु उत्पादन भैरहुन् भन्ने कामना गर्न सक्छु । मैले जन्मभुमि भकुण्डे गाउँका असल अभ्यास छिमेकी गाउँका बालबालिकाहरु सिकुन भन्ने अपेक्षा गर्न सक्छु ।

बालबालिकाहरु उर्जाशील बनाउनमा सानो मेरो सोचले समाजका थुप्रै बालबालिकाहरुलाई सकारात्मक प्रभाव परोस् भन्ने बृहत मनोभावना राख्न सकिन्छ । आगामी दिनहरुमा थप नमस्कार पाएको खुशीयालीमा संस्मरणहरु लेख्न पाउने आशा राख्न चाहान्छु । एक दुई बालबालिकाहरु मात्र नभै हजारौं बालबालिकाहरुले असल आनीबानी सिकुन र बुझुन भन्ने सत्प्रयास गर्न सक्छु ।

अन्तमा मलाई भकुण्डे गाउँका ति बालबालिका जस्तै थुप्रै बालबालिकाले सम्मान, अनुशासित, पठन संस्कृतिमा टेवा दिनेहरुको बढवा होओस् । अरु गाउँ बस्तीका बालबालिकाले अनुशरण नियमित रुपमा गरुन् भन्ने कामना गर्दछु । अर्को पटक अर्को लेख गाउँ बस्तीहरु धेरै धैरै भन्दा बालबालिकाहरु अनुशासित, अध्ययनशिल र सम्मान गर्नेहरुको बढोस् मात्र भन्न चाहान्छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->