शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाड आधारभूत अस्पतालमा डायलायसिस सेवा

बडिगाड आधारभूत अस्पतालमा डायलायसिस सेवा


  • ढाेरपाटन संवाददाता
  • असार १७ २०८३, बुधबार

तस्विर : तिलक घर्ति मगर
बागलुङ/पश्चिम बागलुङका मृगौला रोगीलाई हेमो डायलायसिस सेवा दिनेगरी बडिगाड आधारभूत अस्पतालमा डायलायसिस सेवा शुरु भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बडिगाड आधारभूत अस्पतालको नवनिर्मित भवन तथा हेमो डायलाइसिस सेवाको शुभारम्भ गरेका हुन् । सोमबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले स्थानीय तहमै हेमो डायलायसिस सेवा सञ्चालन हुँदा ग्रामिण क्षेत्रका जनताले ठूलो राहतको महशुश गर्ने बताए ।

पर्याप्त उपकरण र बेड अभावमा डायलायसिस गर्ने बिरामीले लामो समय पालो कुर्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा प्रदेश सरकार लागिपरेको उल्लेख गर्दै पाण्डेले बडिगाडमा सेवा सञ्चालन हुँदा पश्चिम बागलुङका नागरिक लाभान्वित हुने बताए ।

१७ करोड १८ लाख ५३ हजार ८२ रुपियाँको लागतमा १५ शैयाको बडिगाड अस्पतालको भवन निर्माण गरिएको हो । हेमो डायलाइसिस सेवा शुरु भएसंगै बडिगाड गाउँपालिकाका करिब ८५ जना बिरामीसहित छिमेकी पालिका र जिल्लाका नागरिकलाई सहज हुने गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् ।

डायलसिस सेवा शुरु गर्न गाउँपालिकाले नर्सलाई ‘डायलायसिस नर्सिङ’ तालिम लिन काठमाडौं पठाएर दक्ष बनाएको छ । अस्पतालको सेवा विस्तार गर्न दुई जना मेडिकल अधिकृत समेत पदपूर्ति गरिएको अध्यक्ष अधिकारी जानकारी दिइन् ।

नजिकमा डायलसिस सेवा नहुँदा बिरामीहरुले बागलुङ, पोखरा, नारायणघाट र बुटवलका अस्पतालबाट डायलायसिस गराइरहेका छन् । ‘‘यो क्षेत्रमा डायलायसिस सेवा नहुँदा टाढाका अस्पतालमा जानुपर्ने बाध्यता र आर्थिक बोझका साथसाथै हैरानी खेप्नुपर्ने परिस्थितीको अन्त्य हुने विश्वास छ’’ अध्यक्ष थापाले भनिन् ।

डायलसिस सेवा चलाउन अध्यक्ष अधिकारी, उपाध्यक्ष भीमसेन वन र स्वास्थ्य संयोजक विपेन्द्र केसीसहितको टोलीले विभिन्न अस्पतालमा पुगेर सेवाबारे अध्ययन गरेको थियो । ‘‘डायलायसिस मेशिन जडानको काम अन्तिम चरणमा पुगेको छ, व्यवस्थापकीय काम सकिएलगत्तै सेवा शुरु गर्दैछौं’’ जनस्वास्थ्य निरीक्षक हेमबहादुर पुनले भने ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत बडिगाड अस्पताललाई १ करोड १ लाख ४४ हजार ८ सय रुपियाँ बराबरका ५ वटा डायलाइसिस मेसिन उपलब्ध गराइएको थियो । डायलायसिस सेवालाई प्रभावकारी बनाउन थप नर्स र डाक्टरलाई तालिम पठाउने गाउँपालिकाको योजना अध्यक्ष अधिकारीले सुनाइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->