बागलुङ/सूर्तीजन्य तथा मदिराजन्य पदार्थ नियमन र नियन्त्रणकालागि सबैको चासो र अभियानमा साथ चाहिएको सरोकारवालाले बताएका छन् ।
बागलुङ नगरपालिका, नगर स्वास्थ्य शाखाको आयोजनामा भएको नियमन तथा नियनत्रणका लागि बैठक, अनुगमनको जानकारी सहितको संचार कार्यक्रममा सहभागिले सुर्तीजन्य बस्तुको सेवनले मानव स्वास्थ्यमा घातक असर गर्ने बताए । साथै आर्थिक रुपमा समस्या, स्वास्थ्यमा जटिलता र मानसिक रुपमा समेत बिक्षिप्त बनाउन सक्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकका उपप्रमुख राजु खड्काले यो सामाजिक समस्या भएकोले सबै मिलेर युवाहरुलाई यसको कुलतबाट बचाउनु पर्ने बताए । साथै उनले नागरिकको स्वास्थ्यमा ख्याल गरियो भने मात्र बिकासको अर्थ रहने पनि बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले सुर्तीजन्य र मदिराजन्य बस्तुलाई आँफू सेवन नगरेर मात्र नपुग्ने भन्दै युवा पुस्तालाई यो कुलतबाट बचाउन आवस्यक भएको बताए । बिद्यालय र कलेज क्षेत्रमा यो कुलत बढी भएकोले तत्काल ती क्षेत्र अनुगमन गरी नियमन पनि गरिने बताए ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले अस्पताल, बिद्यालय, कलेज र होटल क्षेत्रमा गरिएको अनुगमनले जथाभावी सुर्तीजन्य बस्तु बिक्री गर्ने काम कम भएको पाइएको बताए । कतिपय स्थानमा अझै पनि खुला रुपमा चुरोट बेच्ने चलन रहेको भेटिएको, इलेक्ट्रीक पसलमा बिद्युतीय चुरोट भेप र हुक्का बेचिएको भेटिएको, सार्वजनिक स्थानमा जथाभावी चुरोट र सुर्ती सेवन गर्ने चलन अझै नहटेको भेटाएको बताए ।
साथै कतिपय स्थानमा आनीवानी सुधार्ने, नो स्मोकिङ जस्तै आवस्यक स्थानमा स्मोकिङ जोन राख्नुपर्ने जस्ता सुझाव पनि दिएको शर्माले जानकारी दिए । शर्मा नेतृत्वको टोलीले विभिन्न स्थानमा अनुगमन गर्दा भेटेका अबस्था बारे अनुभव पनि सहभागिलाई जानकारी गराएका थिए । कार्यक्रममा क्रियाशिल पत्रकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका समेतको सहभागिता थियो ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत गोबिन्द गौतम, नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल लगायतले पनि स्वास्थ्य जीवनकालागि मदिरा र सुर्तीजन्य बस्तुको उपयोग र सेवामा रोक लगाउने, हरेक नागरिक सचेत बनेर सेवनबाट बच्ने, दुव्र्यसनमा परेकाहरुलाई पनि बिस्तारै कम बनाइ लैजाने काममा सहयोग गर्नुपर्ने बताएका थिए ।




