शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अझै कोलीफर्म भेटिन्छ खानेपानीमा

अझै कोलीफर्म भेटिन्छ खानेपानीमा


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८३, शुक्रबार

बागलुङ/खानेपानीका मुहानमा कोलीफर्म भेटिने क्रम रोकिएको छैन । अघिल्लो वर्षको तुलनामा घटेपनि कोलीफर्मको समस्या र त्यसबाट सिर्जित रोगको समस्या पनि उत्तिकै छ ।

जिल्ला खानेपानी गुणस्तर निगरानी समितिले पनि यो समस्याबारे खोजी गरेर समाधानको उपायमा लागेको अध्यक्ष तथा जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए । कोलीफर्मको समस्या देखिएको स्थानमा खानेपानी उपभोक्ता संस्था, वडा र स्थानीय तहमा समेत जानकारी गराउने र सचेतीकरणका कार्यक्रम संचालन गरेको शर्माले बताए ।

‘हामीले तत्काल जानकारी त गराएका छौं, त्यहाँ सरसफाइ गर्न, पानी शुद्विकरणका उपाय खोज्न र घरघरमा पानी उमालेर खान सल्लाह दिएका छौं’ शर्माले भने, ‘जनचेतना अभावले अझै पनि मानिसहरु पानीकै कारण बिरामी भैरहेका छन् ।’

गत आथिक वर्ष ३ सय ४१ स्थानमा पानी परीक्षण भएकोमा १ सय २५ स्थानमा कोलीफर्म देखिएको थियो । चालु वर्ष ३ सय ६९ मा गरिएको परीक्षणमा ७७ स्थानमा कोलीफर्म देखिएको हो । आर्थिक बर्ष २०८०÷०८१ मा भने २ सय ८ स्थानको पानी परीक्षण गर्दा ७३ स्थानमा कोलीफर्म देखिएको थियो ।

गत महिना बागलुङ नगरपालिका–७ मुलपानीमा यो समस्या टड्कारो देखिएको थियो । एकै दिन ७ जना बिरामीमा जण्डिस भेटिएपछि खोजी गर्दा उनीहरु मुलपानीका थिए । तत्काल समितिले खोजी गरेर गाउँ पुग्दा उनीहरुले उपभोग गर्ने पानीको मुहानमा समस्या देखिएको थियो । कुवाबाट पानी खाएकाहरुले सरसफाइमा समेत ध्यान नदिएको भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब प्रमुख डिल्ली आचार्यले बताए ।

मानव वा अन्य जनावरको दिशा तथा अन्य फोहोरबाट कोलीफर्म देखिने गरेको हो । कोलीफर्मयुक्त पानीका कारण टाइफाइट, मलेरिया र जण्डिस जस्ता रोग देखापर्न सक्ने खतरा शर्माले औल्याए । त्यसका लागि पानी निर्मलीकरण वा उमालेर खानुपर्ने सुझाव दिइएको छ ।

पानीको शुद्दिकरण नाप्नकालागि पनि जिल्लाको ल्याब मात्र संभव नभएपछि पालिका स्तरमा पनि मेसिन खरिद गर्न आग्रह गरि समितिले सुझाव पठएकोमा बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाले मात्र खरिद गरेको छ । हरेक पालिकास्तरमा एक÷एकवटा परीक्षण मेसिन खरिद गर्न सकेमा स्वास्थ्य शाखाले पनि कोलीफर्म भेटाएर तत्काल सुझाव दिन सक्नेछ ।

पछिल्लो समय खानेपानीका ट्रिटमेन्ट प्लान्ट सहितका योजना बनाउने क्रम शुरु भएपनि कोलीफर्मबारे अझै चेतना बढाउन नसकिएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए । ‘हामीले वर्षमा ३ सय योजनामा काम गरिरहेका छौं, सबैलाई यो जानकारी गराइरहेका छौं’ उनले भने, ‘आफ्नो स्वास्थ्यबारे उपभोक्ताहरु सचेत बन्नुपर्छ ।’ समितिले प्रतिनिधिमुलक रुपमा समितिका पदाधिकारीलाई जनचेतना जगाउने काम भने गराएको छ ।

सदरमुकाममा ल्याइएको खानेपानीमा पनि कोलीफर्म भेटिने गरेको छ । यो वर्ष पनि त्यस्तो समस्या भेटिएपछि समितिले तत्काल आयोजनामा जानकारी गराएर शुद्दिकरण गर्न लगाएको थियो । वितरण ट्यांकीमा ब्लिचिङ पाउडर राखेर ३० मीनेटपछि मात्र पानी पठाएमा केही मात्रामा शुद्दिकरण हुने र कोलीफर्म नभेटिने आचार्यको भनाइ छ । समितिले हरेक महिना पानीका श्रोतमा शुद्दिकरण, सफाइ र आवस्यक परेमा ब्लिचिङ पाउडर समेत प्रयोग गर्न सुझाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->