बागलुङ/बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । सबै पालिका घोषणापछि जिल्ला स्तरीय सभा गरेर सो घोषणा भएको हो ।
शनिबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणहादुर पाण्डेले सार्वजनिक समारोहमा पुर्ण खोप सुनिश्चित भएको घोषणा गर्दै प्र्रतिवद्दतामा पनि हस्ताक्षर गरे ।
उनले सबै नागरिकलाई स्व्चस्थ्य राख्न हरेक वर्ष खोप पुरा गर्ने र दिगोपना दिने काम गर्न सबैलाई सुझाए । मन्त्री पाण्डेले यो अभियानमा साथ दिएका पालिकाका प्रमुख, स्वास्थ्य शाखाका प्रमुख र महिला स्वास्थय स्वयंसेविकालाई सम्मान पनि गरेका थिए ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माका अनुसार, जन्मेदेखि १५ महिना भित्रका ३ हजार २ सय ७८ जना र १६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ९ सय ७९ बालबालिकाले खोप पाएका हुन् । बागलुङका १४ हजार २ सय ५७ जना बालबालिकालाई आवस्यक पर्ने सबै खोप लगाएर जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता र दिगोपना भएको घोषणा गरिएको हो ।
खोप लगाउने उमेर समूहमा पनि यो वर्ष सदरमुकामभन्दा धेरै ढोरपाटनमा खोप लगाइएको छ । ढोरपाटनमा १५ महिना भित्रका ६ सय २२ जना र १६ महिना देखि ५९ महिना भित्रका २ हजार १६ गरी २ हजार ६ सय ३८ जना बालबालिकाले खोप लगाएका छन् । सबैभन्दा थोरै ताराखोला गाउँपालिकामा ४५ जना बालबालिकाले खोप लगाएका छन् ।
जेठ तेस्रो साता जैमिनी नगरपालिका बालमैत्री घोषणा भएको छ भने असार पहिलो साता नै बागलुङको बडिगाड गाउँपालिका पोषणमैत्री घोषणा भएको छ । ती घोषणाले पनि पालिकाहरुमा खोपको मात्रा पुर्ण भैरहेको जनाएको गण्डकी प्रदेशका स्वास्थ्य सचिव युवानीधि बसौलाले बताए ।
खोपलाई पुर्णता दिन महिला स्वास्थ्य स्वयंसेविकादेखि स्वास्थ्यकर्मीहरु वडा र टोल टोलमा खटिएका थिए । नागरिकलाई स्वस्थ्य राख्न समयमा खोप लगाउने अभियानले पुर्णता र दिगो रुप पाएकोले सरुवा रोगको महामारी कम भएको र राज्यको अर्बौ लगानी जोगिएको पनि शर्माले बताए ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष अमर थापाको अध्यक्षता, जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेको संचालन र जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका सचिव युवानीधि बसौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल सरकारले २०३४ सालमा बिफर रोग उन्मुलन गरेको थियो । त्यसपछि बालमृत्युदर घटेको, सहश्राब्दी विकास लक्ष्य हसिल गर्न सहज भएको, सन् २००५ देखि मातृ तथा नवशिशुमा धनुस्टंकार रोग निवारण भएको, सन् २०१० देखि पोलियो रोग शुन्य भएको सन् २०१८ देखि रुवेला तथा सिआरएस निवरण भएको, हाल दादुरा निवारणको काम शुरु भएको छ । हेपाटाइटिस बि, महिलाको पाठेघरको मुखको क्यान्सर रोग निको पार्न पनि एचपिभी खोप लगाइएको छ ।




