पोखरा / नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनीले ब्राजिलको फिफा विश्वकप २०२६ को यात्रा सकिएको छ । आइतबार राती नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
हालान्डले नर्वेका लागि लगातार १४औं खेलमा गोल गर्दै आफ्नो प्रभावशाली फर्मलाई कायम राखे। उता ब्राजिलका कप्तान नेयमारले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलमा अतिरिक्त समयमा पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो सान्त्वना गोल मात्र बन्यो। यसअघि पहिलो हाफमा ब्राजिलले पाएको पेनाल्टीमा ब्रुनो गुइमाराएसले गोल गर्न असफल भएका थिए।
खेलको सुरुवातमै नर्वेले अग्रता लिएको जस्तो देखिएको थियो, जब प्याट्रिक बर्गले अलेक्जान्डर सोर्लोथको पासमा गोल गरेका थिए। तर सोर्लोथ अफसाइडमा रहेको ठहर भएपछि गोल रद्द गरियो। त्यसपछि ब्राजिललाई अग्रता लिने राम्रो अवसर मिलेको थियो, जब म्याथियस कुँहालाई पेनाल्टी क्षेत्रमा फाउल गरिएको थियो। भिडियो असिस्टेन्ट रेफ्री ९ भिएआर० समीक्षा पछि रेफ्रीले पेनाल्टी दिए पनि गुइमाराएसको प्रयास नर्वेका गोलकिपर ओर्जान न्यालान्डले बचाए।
न्यालान्डले खेलभर उत्कृष्ट प्रदर्शन गर्दै ग्याब्रियल मार्टिनेली र भिनिसियस जुनियरका प्रहारहरू पनि विफल बनाए। दोस्रो हाफमा प्रशिक्षक कार्लो एन्सेलोटीले एन्ड्रिकलाई मैदानमा उतारे पनि उनले राम्रो अवसर गुमाए। खेलको ७९औं मिनेटमा हालान्डले एन्ड्रियास शेल्डेरुपको क्रसमा उत्कृष्ट हेडरमार्फत नर्वेलाई अग्रता दिलाए। त्यसपछि ब्राजिलले बराबरीको प्रयास गरे पनि सफल हुन सकेन।

इन्जुरी समयमा हालान्डले पुनः गोल गर्दै नर्वेको जित सुनिश्चित गरे। उनले टाढाबाट प्रहार गरेको शक्तिशाली सट ब्राजिलका गोलकिपर एलिसनलाई छलाउँदै जालमा पुगेको थियो। अन्तिम समयमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि नर्वेले आफ्नो अग्रता जोगाउँदै ऐतिहासिक जित हासिल गर्यो।
यस जितसँगै नर्वेले प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्दै आफ्नो उत्कृष्ट यात्रालाई निरन्तरता दिएको छ। फिफा विश्वकपमा यी दुई टोलीबीचको यो दोस्रो भेट हो । यस अघि यि दुई टोली सन् १९९८ मा फ्रान्समा भएको विश्वकपको समूह चरणमा यि दुई टोली भेट भएका थिए । उक्त खेलमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै विश्व फुटबललाई स्तब्ध पारेको थियो ।
रोचक कुरा के छ भने यि दुई टोली हालसम्म चार पटक आम्नेसाम्ने भएका छन् र चारपटकसम्म ब्राजिलले नर्वेलाई हराउन सकेको छैन । चारपटकको भेटमा नर्वेले २ पटक जित हासिल गरेको छ भने २ खेल बराबरीमै रोकिएको छ । १९९७ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलमाथि नर्वेले ४–२ को जित हात पारेको थियो । यस्तै १९८८ र २००६ मा भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकिएको थियो ।
यश पटक समेत ब्राजिल नर्वेसामु निरीह बन्न पुगेको छ ।





