
बागलुङ/बागलुङका बालबालिका र किशोरीहरुमा कुपोषण तथा रक्तअल्पताको समस्या देखिएको छ । उनीहरुमध्ये कतिपयलाई कडा खालको समस्या पनि देखिएकोले अस्पतालमै भर्ना गर्ने अवस्था छ ।
बागलुङ नगरपालिका स्वास्थ्य शाखाले नगरभित्रका सबै विद्यालयमा रक्तअल्पता र केही सामुदायिक विद्यालयमा कुषोषण लगायतको परीक्षण र अध्ययन गरेको थियो । ती अध्ययनले समाजमा बढेको पत्रुखानाको कारण बालबालिकामा समस्या देखिएको पत्ता लागेको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
विशेषगरी अत्याधिक कुपोषण, पत्रुखानको प्रयोग, जन्मंदा आमाको दूध खान नपाएका तथा विद्यालय जाँदा पनि नियमित खाना नपाउनेहरुमा यो गम्भिर समस्या देखिएको हो । मध्यम रक्तअल्पता हुनेमा पनि मजदुरी गर्नेहरुका बालबालिका बढी छन् । ‘अभिभावक बिहानै काममा जाने, बालबालिकाहरु खाना नखाइ विद्यालय जानेहरु पनि कतिपय भेटिए’ खनालले भने, ‘सन्तुलित खाना नपाएकाहरुलाई रक्तअल्पता बढी हुन्छ ।’ एकादुइमा पारिवारिक रुपमा यो समस्या रहेकोमा अधिकांसमा पौष्टिक आहारको कमी भएको उनले बताए ।
नगरपालिकाले ६ हजार १ सय ९२ बालिकामा रक्तअल्पता पनि परीक्षण गरेको थियो । उक्त परीक्षणमा ४ हजार ८ सय ३० जनामा सामान्य रक्तअल्पताको अवस्था देखिएको हो भने त्यसबाहेक १ हजार ३ सय ३४ बालिकामा मध्यमखालको रक्तअल्पता भएको हो । उनीहरुको खानपान व्यवस्थापन गर्ने र नियमित पौष्टिक आहार बढाउने सुझाव दिइएको छ भने २८ जना बालिकालाई अस्पताल भर्ना गरेर रगत चढाउने, नियमित औषधी सेवन गर्ने र निगरानीमा राख्ने सुझाव दिइएको हो ।
बालकहरुमा पनि यो समस्या हुने गरेको छ । तर महिनाबारी हुने उमेर समूहका बालिका र किशोरीमा त झनै बढी समस्या देखिने भएकोले नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमै पुगेर रक्तअल्पता परीक्षण गरेको हो ।
यस्तै, २ हजार २ सय २० बालबालिकाको परीक्षणमा २ सयबढी बालबालिकामा कुपोषण पनि देखिएको हो । ती मध्ये ५१ जना गम्भिर प्रकारको देखिएको हो । वडा नं. १२ मा मात्रै १० बालबालिकामा कडा कुपोषण देखिएको थियो ।
बालबालिकामा आइपरेका यस्ता समस्यासँगै नगरपालिकाले १ हजार ४७ बालबालिकाको दन्तसेवा परीक्षण गर्दा १ सय ४७ को उपचार नै गर्नुपर्ने अवस्था भेटिएको हो भने १ हजार ३ सय ४५ को आँखा परीक्षण गर्दा ५१ जनामा नजिकको दृष्टी कम भएको भेटिएको हो ।
प्रजनन् रुग्णता परीक्षण गरिएका किशोरीमध्ये ८८ जनामा समस्या देखिएको थियो । रगतमा हेमोग्लोबिनको मात्रा परीक्षण गर्दा पनि कतिपय बालबालिकामा समस्या भेटिएको थियो । जन्मेका बालबालिका र आमाको दुध नखाएकालाई समस्या देखिएको जनस्वास्थ्य अधिकृत गोबिन्द गौतमले बताए । ती समस्या समाधानका लागि नगरपालिकाले दिवा खाजामा पोषणमैत्री बनाउन सुझाएको छ ।




