बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लिबर्टीको मौन सुस्केरा

लिबर्टीको मौन सुस्केरा


  • शिव प्रसाद पाण्डे
  • असार २३ २०८३, मंगलबार

अमेरिकाको न्युयोर्कमा उभिएको यो स्टाचु अप लिबर्टीको विशाल आकृति केवल तामा र फलामको ढाँचा मात्र होइन रहेछ । जब म त्यस भव्य मूर्तिको अगाडि उभिएर एउटा तस्बिरमा कैद भइरहेको थिएँ, मेरो भित्री मनमा भने इतिहासको एउटा गहिरो कम्पन चलिरहेको थियो । आँखाले कलाको उचाइ हेरिरहेको थियो, तर अन्तरमनले त्यसभित्र लुकेको श्रम, पसिना र मानवताको सुस्केरा सुनिरहेको थियो ।

यो कुनै सम्राटको आदेशमा वा राज्यको ढुकुटीबाट ठडिएको दम्भको प्रतीक होइन रहेछ । यसको नशा नशामा फ्रान्स र अमेरिकाका श्रमजीवी जनताको पवित्र पसिना मिसिएको रहेछ । फ्रान्सका गरिब मजदुर र स्कुले बालबालिकाले थोरै थोरै रकम सङ्कलन गरेर यो मूर्ति निर्माण गरी अमेरिकालाई उपहार दिएका रहेछन् । सर्तअनुसार यसको जग अमेरिकाले निर्माण गर्नुपर्ने थियो । तर अमेरिकी सरकार र धनी वर्गले आलटाल गरेछन् । अन्ततः अमेरिकामा पनि मजदुर र सामान्य नागरिकहरूले एक–एक सेन्ट जुटाएर यसको जग निर्माण गरेका रहेछन् ।

प्रथमतः यो मूर्तिको बाहिरी रूप र प्रतीकात्मक अर्थतिर लागौँ । यो मूर्ति रोमन स्वतन्त्रताकी देवी ‘लिबर्टास’बाट प्रभावित छवि रहेछ । मूर्तिको दाहिने हातमा बलिरहेको मशाल छ । यो स्वतन्त्रताको ज्योति हो । मूर्तिको देब्रे हातमा एउटा पाटी छ, जसमा रोमन अक्षरमा अमेरिका स्वतन्त्रता घोषणा भएको मिति जुलाई ४, १७७६ लेखिएको छ । मूर्तिको मुकुटमा सातवटा तिखा कोणहरू छन् । यी कोणहरूले संसारका सात महाद्वीप र सातवटै महासागरको प्रतिनिधित्व गर्छन् । मूर्तिको खुट्टामा चुँडिएका साङ्ला र नेल छन् । जेहोस्, यो मूर्तिले स्वतन्त्रताको सन्देश विश्वभर फैलाउनुका साथै अत्याचार, दमन र दासताबाट मुक्ति पाउनुपर्ने सन्देश समेत दिइरहेको छ । यो मूर्ति सुरुमा तामाको रङको भए पनि वर्षौँसम्म भएको रासायनिक प्रक्रियाका कारण बिस्तारै हरियो रङमा परिणत भएको रहेछ । यो मूर्ति विश्व सम्पदा सूचीमा सूचीकृत छ ।

सन् १८६५ तिर यो मूर्तिको परिकल्पना फ्रान्सेली राजनीतिक विचारक तथा दासप्रथा उन्मूलनका अभियन्ता एडुआर्ड लाबुलेको मनमा उब्जेको थियो । उनले अमेरिका स्वतन्त्र भएको शताब्दी वर्ष तथा दासप्रथाको अन्त्य भएको खुसीयालीमा एउटा प्रतीकात्मक मूर्ति उपहार दिन चाहन्थे । तर त्यतिबेला फ्रान्समा नेपोलियन तृतीयले सत्ता कब्जा गरी आफूलाई सम्राट घोषणा गरेका थिए । सुरुमा उनी तानाशाह बनेका थिए, तर पछि केही उदार बने । यही उदारतालाई इतिहासमा ‘उदार साम्राज्य’ का नामले समेत चिनिन्छ । यही उदार वातावरणका कारण जनस्तरबाट यस्तो गरिमामय मूर्ति निर्माण गरी अमेरिकालाई उपहार दिन सक्ने अवस्था बनेको थियो । त्यसबेला फ्रान्समा शोषणका विभिन्न रूप विद्यमान थिए । अनुबन्धित श्रमिक, उपनिवेशवाद र जबर्जस्ती श्रमको प्रभाव त्यहाँ व्यापक थियो ।

एडुआर्ड लाबुलेले लेखेको व्यङ्ग्यात्मक उपन्यास ‘पेरिस इन अमेरिका’ निकै लोकप्रिय भएको थियो । यही प्राज्ञिक र सामाजिक हैसियतका कारण उनले फ्रान्सका राजनीतिज्ञ, बुद्धिजीवी र कलाकारहरूलाई एकै ठाउँमा ल्याउन सफल भएका रहेछन् । त्यसैले यस्तो मूर्ति निर्माण गरी अमेरिकालाई उपहार दिने अभियान सम्भव भएछ ।

जब यो मूर्ति अमेरिका आइपुग्यो, त्यसको जग निर्माण गर्ने विषयमा समस्या देखा प¥यो । अमेरिकी सरकार र धनी वर्गले मूर्ति स्थापनाप्रति उदासीनता देखाए र समय घर्काउँदै लगे । त्यसपछि अमेरिकी प्रसिद्ध अखबार ‘द वल्र्ड’ का प्रकाशक जोसेफ पुलित्जरले आफ्नो पत्रिकामार्फत मूर्तिको जग निर्माणका लागि चन्दा सङ्कलन अभियान चलाए । त्यसरी आवश्यक रकम जुटेपछि यसको जग निर्माण भयो । त्यसैले यो मूर्तिलाई नागरिकस्तरबाट निर्माण भएको एउटा अभूतपूर्व ऐतिहासिक सम्पदाका रूपमा पनि लिइन्छ ।

यो मूर्ति रहेको सानो टापु अमेरिकामा सबैभन्दा बढी फोटो खिचिने स्थानमध्ये एकका रूपमा पनि चिनिदो रहेछ । यसको मुख्य कारण यसको अन्तरकथा र यसले दिन खोजेको सन्देश नै हो । सहायक कारणका रूपमा यहाँसम्मको सहज पहुँच र न्युयोर्क सहरको भव्यता पनि जोड्न सकिन्छ । उन्नाइसौँ र बीसौँ शताब्दीको सुरुआती समयमा पानीजहाज चढेर अमेरिका आउने आप्रवासीहरूका लागि यही मूर्ति अमेरिकाको पहिलो झलक हुन्थ्यो । त्यसैले यो नयाँ आशाको प्रतीक पनि बनेको रहेछ ।

यो मूर्तिले फ्रान्सेली दार्शनिक जिँ–ज्याक रुसोले भनेका कुरा सम्झाउँछ – “मानिस स्वतन्त्र जन्मिन्छ, तर सर्वत्र ऊ साङ्लाहरूले बाँधिएको हुन्छ ।” स्ट्याच्यु अफ लिबर्टीले तिनै साङ्लाहरू चुँडाल्ने साहसको वकालत गर्छ । यो मानवताको पक्षमा र विभेदको विपक्षमा उभिएको एउटा सार्वभौम प्रकाशस्तम्भ बन्न गएको छ ।

अहिले दासताका पुराना रूपहरू बदलिएका छन्, तर मानव र मानवबीचको आर्थिक तथा सामाजिक खाडल पुरिनुको सट्टा झन् गहिरिँदै र फराकिला हुँदै गएका छन् । प्रविधिको उचाइ र आधुनिकताको चमकभित्र आज पनि मानिस नवदासता, विभेद र गरिबीका अदृश्य साङ्लाहरूमा जकडिएको छ । भनिन्छ, “जहाँसुकै भएको अन्यायले सर्वत्रको न्यायलाई संकटमा पार्छ ।” नेन्सल मन्डेलाले भनेका छन् – “स्वतन्त्र हुनु भनेको आफ्नो साङ्लो फुकाल्नु मात्र होइन, अरूको स्वतन्त्रतालाई सम्मान र प्रवद्र्धन गर्ने गरी जिउनु हो ।”

संयोगले अमेरिका स्वतन्त्र भएको २५० वर्ष हुनै लाग्दा मैले यो मूर्तिको अगाडि उभिएर फोटो खिच्ने अवसर पाए । संसारबाट अत्याचार, गरिबी र शोषणको अन्त्य गर्नका लागि मानव चेतनाका यस्ता कैयौँ मूर्तिहरू अझै हामीले आफ्ना मनहरूमा र समाजका चोक–चोकमा ठड्याउन बाँकी नै छ ।

यो मूर्तिको सामु उभिँदा लाग्यो– हरेक यात्रु अन्ततः आफ्नै देशमा फर्किन्छः शरीरले होइन, स्मृतिले । मेरो मन पनि नेपालतिरै फर्कियो । राजनीति सम्झियो । सामाजिक न्याय सम्झियो । आन्दोलनका नारा सम्झियो । नेताहरूका भाषण सम्झियो । आशा र निराशाका असंख्य दृश्यहरू एकैपटक मानसपटलमा उत्रिए ।

मानिसको भीड देख्दा नेपालका मालपोत र यातायात कार्यालयहरू सम्झिए । जहाँ सेवाग्राहीभन्दा प्रणालीलाई नै चुस्ने प्रवृत्तिको भीड धेरै देखिन्थ्यो । अहिले त्यो अवस्था केही सुधारिँदै गएको खबरले आशा जगाउँछ । तर समाज अझै शब्दका युद्धले थाकेको छ । कसैले असहमतिलाई देशद्रोह देख्छ, कसैले प्रवासलाई शङ्काको दृष्टिले हेर्छ । विभाजनका बीउ रोप्न सजिलो हुन्छ, विश्वासको बगैँचा हुर्काउन कठिन हुन्छ ।

सायद त्यसैले आज फुटेका हातहरू फेरि जोडिन खोज्दै छन् । त्यो जोडाइ भष्ट्राचार लुकाउनको लागि नहोस्, देश र जनताको हितको लागि होस् । इतिहासले सिकाएको सबैभन्दा ठूलो पाठ यही हो– घृणाले राष्ट्र बन्दैन, सहकार्यले बन्छ ।

यो मूर्ति अमेरिकाको मात्र सम्पदा जस्तो लागेन । यो त स्वतन्त्र चेतनाको विश्वव्यापी प्रतीक हो । यसले सम्झायो – साङ्ला फलामका मात्र हुँदैनन्ः पूर्वाग्रह, असमानता, गरिबी र घृणाका पनि हुन्छन् । ती चुँडाल्न कानूनभन्दा पहिले चेतना बदलिनुपर्छ ।

अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा यही कामना छ – स्वतन्त्रता केवल राष्ट्रको नहोस्, नागरिकको पनि होस्ः केवल सीमाको नहोस्, चेतनाको पनि होस् । संसारका सबै देशहरूमा न्याय, समानता र मानवताको मशाल अझ उज्यालो बनिरहोस् । सबैमा हार्दिक शुभकामना !

(पूर्व प्रधानाचार्य लेखक पाण्डे हाल संयुक्त राज्य अमेरिकामा छन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->