शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नियमित औषधि सेवनबाट घट्न थाल्यो कुष्ठरोगको दाग

नियमित औषधि सेवनबाट घट्न थाल्यो कुष्ठरोगको दाग

शंका लाग्ने वित्तिकै खेल्न, पढ्न समेत जान समस्या परिसकेको उनलाई उपचारपछि रोग निको बन्दै गएको र बिस्तारै समाज र विद्यालयमा पनि सहज वातावरण बन्दै गएको छ ।


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८३, बुधबार

बागलुङ/उनी अहिले भर्खरै बागलुङ सदरमुकामको एक विद्यालयमा कक्षा १२ मा पढ्दैछन् । उमेरले पनि भर्खर १७ वर्षका भए । केही समयदेखि उनको हातको पाखुरामा सेतो दाग आएको थियो । गाउँघरका मानिसले दुवी होला भनेर सिमी टिपेर लगाउन भनेका थिए । उनले पनि त्यसै गरे । तर, विस्तारै पाखुराको दाग बढ्दै गयो । उक्त दाग वरिपरिको छाला फुस्रो र लाटो बन्यो ।

तर पनि उनको परिवारमा खासै चासो थिएन । सञ्चो भैहाल्छ भनेर परिवारले हेलचक्र्याई गरिरहेको थियो । संयोगबस केही महिना अघि बागलुङ नगरपालिका वडा नं. ७ मा फेयरमेड फाउण्डेसन र नेपालगाजा डेभलपमेन्ट फाउण्डेसनले संचालन गरेको सम्बोधन परियोजनामार्फत छाला रोग शिविर संचालन भएको थियो । हरियोखर्क अस्पतालको सहयोगमा गरिएको शिविरमा ती बालकको पनि समस्या छ भन्ने सामाजिक परिचालकको पहिचान पछि परीक्षणमा ल्याइयो ।

शिविरमा केही अन्य व्यक्ति पनि शंकास्पद थिए । सोही लहरमा ती बालकको पनि शंकास्पद देखियो । चिकित्सकले नमूना परीक्षणका लागि छालाको नमूना निकालेर पठाए । यसरी परीक्षण गर्न नमूना पठाएको थाहा पाएपछि समाजमा उनीविरुद्व भेदभाव सुरु भयो । यो भेदभावले उनको परिवारमा मानसिक असर प¥यो । परिवारसँगै उनलाई पनि विद्यालयमा पढ्न जाने नजाने भन्ने दोधारेपना बनायो । साथीभाइले के भन्छन् ? परिवार र छिमेकीले के भन्छन् भन्ने शंकै–शंकामा उनको पढाइमा समेत समस्या बन्न थाल्यो ।

परीक्षण पछि उनको उपचारका लागि पोखरा बोलाइएपछि त झनै छिमेकीले शंकाको दृष्टीले हेर्न थाले । समाजमा अहिले पनि कुष्ठरोगलाई सामाजिक समस्याको रुपमा लिने गरिएको छ । त्यतिमात्र होइन, पूर्वजन्मको पाप भनेर हेलाहा होचो गरिने, घरमा राख्न नखोज्ने गरिन्छ । त्यो समस्या उनको परिवारमा पनि देखियो । यद्यपी उनको पोखरामा उपचार भयो । औषधि सेवनका लागि दिइयो । औषधि सेवन गर्न थालेपछि त यो रोग सर्ने संभावना छैन भन्छन् चिकित्सकहरु ।

यो हावाबाट अर्थात् श्वासप्रश्वासबाट सर्ने रोग हो । त्यसैले उनको प्रत्यक्ष सम्पर्कमा रहेका मानिसको पनि स्वास्थ्य परीक्षण गर्नुपर्छ । तत्काल नदेखिए पनि तीन महिनाको फरकमा उनीहरुलाई परीक्षण गर्नुपर्ने बाध्यता बाँकी नै छ । अहिले त ती बालकले दुई महिनादेखि नियमित औषधी सेवन गरिरहेका छन् । यो औषधी सेवनसँगै उनको दाग सानो भएको छ । अहिले त आँखा चिम्लेर उनको दागमा छोयो भने थाहा पाउने भैसकेका छन् । उनले कम्तिमा ६ महिना नियमित औषधी सेवन गर्नुपर्नेछ । त्यसपछि उनको रोग निको हुने उपचारमा लागेका हरियोखर्क अस्पतालका चिकित्सकले बताएका छन् ।

बरु हरेक महिना उनलाई औषधिको खोजी गर्दै पोखरासम्म जाने समस्या बढेको छ । त्यसैले सम्बोधन परियोजनामार्फत स्थानीय स्वास्थ्य चौकीमै औषधी सेवन गर्ने व्यवस्था मिलाइएको छ । यो कार्यका लागि परियोजनाको आग्रहमा स्वास्थ्य चौकीका प्रमुख महेन्द्र शर्माले गोपनीयता कायम गरेर ती बालकलाई औषधि दिने व्यवस्था मिलाएको बताएका छन् । उनी विद्यालयमा पढ्ने भएकोले उनको उपचार शुरु भैसकेकोले सर्ने समस्या हुँदैन । त्यसैले गोपनीयता कायम गरेर औषधी दिंदा उनलाई सहज हुनेछ ।

ती बालकको उपचार, पोखरा आउने जाने खर्च र समाजमा गोपनीयता कायम गर्दै औषधी सेवन गर्न प्रेरित गरिएको छ । साथै उनलाई परियोजनाले शैक्षिक तथा अन्य सहयोग पनि गरेको छ । अहिले त उनी खुसी बन्दैछन् । उनले रोग निको भएपछि कुष्ठरोगबारे समाजमा जनचेतना फैलाउने काममा लाग्ने बताएका छन् । कुष्ठरोगलगायतका समस्याको लक्षण देखिने बित्तिकै परीक्षणमा जान, उपचार गराउन र आम नागरिकलाई सरसफाइमा ध्यान दिन समेत उनले आग्रह गर्ने बताएका छन् । भविष्यमा उनले सामाजिक अभियानको रुपमा काम गर्ने पनि चाहना राखेका छन् ।

समयमा परीक्षण गरेर उपचारमा नगएको भए घाउ बढेर अपांगता हुने, हातखुट्टा कुँजिने खतरा बढ्ने थियो । यो कुरा अहिले उनले बुझ्न थालेका छन् । शंका लाग्ने वित्तिकै खेल्न, पढ्न समेत जान समस्या परिसकेको उनलाई उपचारपछि रोग निको बन्दै गएको र बिस्तारै समाज र विद्यालयमा पनि सहज वातावरण बन्दै गएको छ । उनी निको भएपनि अझै ३ देखि ४ वर्ष परिवारमा ख्याल गर्नुपर्ने छ । परिवारका अन्य सदस्यमा पनि यो समस्या देखिन सक्छ । तर लक्षण देखिएको शुरुवातमै उपचारमा ल्याइयो भने निको पनि हुने र सर्ने खतरा हुँदैन । त्यसका लागि ती बालकलाई पनि परियोजनामार्फत राम्रोसँग सम्झाइ–बुझाइ गरिएको छ । अहिले त उनी घरदेखि नियमित रुपमा बजार झरेर पढ्ने गरेका छन् । भविष्यमा राम्रो अंकले पास गरेर जनचेतनाको क्षेत्रमा का मगर्ने उनले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->