बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पत्रपत्रिकाको भविष्य र बजारको खोजी

पत्रपत्रिकाको भविष्य र बजारको खोजी


  • झलक शर्मा
  • असार २९ २०८३, सोमबार

लामो इतिहास बोकेको नेपाली छापामाध्यमको पत्रकारिता अहिले अस्तित्वको खोजीमा छ । वि.स. १९५८ सालमा गोरखापत्रको उत्पतिबाट शुरु भएको छापापत्रकारिताले निकै आरोह अवरोह व्यहोरेको छ । मुलुकमा भएको राजनीतिक, प्रशासनिक र सामाजिक परिवर्तनको एक साँक्षीको रुपमा छापामाध्यमहरु रहेका छन् । शासकको स्वेच्छाचारिता चरम् उत्कर्षमा पुग्दा यस क्षेत्रलाई बेलाबेलामा अंकुश र बन्देज पनि लगाइयो तर छापामाध्यमहरु कहिल्यै विचलित भएनन् । झन् निरङ्कुश शासन विरुद्ध बारम्बार जनताको आवाज बुलन्द गर्न तम्सिरहे । पत्रपत्रिका नागरिकको एक अभिन्न अङ्गको रुपमा उभिदै गयो । पत्रपत्रिकामार्फत नै नेपाली जनता स्वतन्तत्रताको सास फेरेको महशुस गरेको पाइन्छ । पत्रपत्रिकामा छापिने सम्पादकिय, समाचार र अन्य विचारहरु प्रति शासकहरु तर्सिन्थे । राणाशासन, निर्दलिय पञ्चायत र नेकपा माओवादीको दश वर्षे सशस्त्र द्धन्द्धकालमा छापापत्रकारिता भूमिगतरुपमा पनि जनतालाई सुसुचित गर्न अडिग रह्यो । २०६१ साल माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले कू गरेपछि अर्थात शाहीघोषणा गरेपछि पत्रपत्रिका, एफएम रेडियो, टिभिहरुमा समाचार प्रकाशन तथा प्रसारणमा रोक लगाइयो । त्यतिबेला नागरिकहरुले आम् सञ्चारमाध्यमहरुको खोजी गरिरहे । समाज अध्यारोतर्फ मोडियो । नागरिकहरुमा सत्य, तथ्य सूचना प्रवाहका लागी अडीग रहेको सञ्चारमाध्यमहरुको संघर्ष अभूतपूर्व छ । निकै आरोह अवरोह व्यहोरेका लोकप्रिय पत्रपत्रिकाहरु आजभोली बजारमा देखिन छाडेका छन् । पाठकहरु पनि घटदै गएका छन् ।

सूचना प्रविधिको क्षेत्रमा भएको तिव्र विकासले पत्रपत्रिकाको बजार साँगुरिदै गएको छ । तथाफी सूचना प्रवाहको जिम्मेवारी र दायित्व भने झन् झन् बढ्दै गएको छ । यस्तो विषम परिस्थिति खेपेका पत्रपत्रिकाहरुले आफ्नो विरासतलाई जोगाउन रणनीतिक तवरबाट अगाडी बढ्नु पर्दछ । सामाजिक सञ्जालकोरुपमा विकास भएका फेसबुक, टिकटक, युवटुब, टुइटर, इस्टाग्रामहरु मार्फत क्षणभरमा नै विश्व सामू सूचना, सन्देश पस्कन सक्ने व्यवस्था सृजना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफूमा लागेको विचार पोख्न, भन्न सहजै पाउछन् । सामाजिक सञ्जाललाई नै आधार बनाएर अनलाइन सञ्चारमाध्यमहरु पनि स्थापना भएका छन् । यसले आफ्नो लक्षितवर्गलाई छिटो छरिदोरुपमा सूचना प्रवाह गराई रहेका छन् । आम नागरिक सामाजिक सञ्जालकै सेरोफेरोमा रमाइ रहेका छन् भने सूचना र समाचारप्रति पहुँच ह्वातै बढेको छ । जुन समाजका लागी निकै सकारात्मक पक्ष रह्यो । तर अनलाइन सञ्चार माध्यमप्रति राज्यको नियमन कमजोर हुदा नागरिकले गलत सूचना र समाचार ग्रहण गर्नुपर्ने अवस्था छ । सामाजिक सञ्जालको दुरुपयोगले सत्य, तथ्य समाचार छुट्याउन मुश्किल बनि रहेको छ । भ्रमित समाचारबाट जनता आजित बनेका छन् । झन् पछिल्लो समयमा विकास भएको एआई(आर्टिफिसियत इन्टिलिजेन्स) आर्थात कृत्रिम बौद्धिकताले समाचार, विचार र सूचना प्राप्त गर्न सहजता बनाएको छ भने मानिसले गलत अपवाहको समाचार, विचार प्राप्त गर्दै गर्दा सृजनात्मक क्षमता कमजोर बन्दै जानेमा दुई मत हुन सक्दैन । डिप लर्निङको सट्टा डिप फेकका भिडोयो सामग्रीले मानिसलाई आजित बनाउदै गएको छ । प्रविधिले पत्रपत्रिकाको बजार विस्थापन गरी अनलाइन मिडियाको विकास ग¥यो तर तिनिहरुप्रति विश्वसनियता भने प्रकट गर्न सकेन ।

पत्रपत्रिकाकै समाचार हुबहु सारेर अनलाइन मिडियाले प्रकाशन तथा प्रसारण गरेको पाइन्छ । समाचार लेख्न, सिक्न, विचार ग्रहण र अन्य सामाग्रीहरु उत्पादन गर्न पत्रपत्रिकाको आड चाहिने तर पत्रपत्रिकाको बजार भने नचाहिने विडम्बना बनेको छ । विपद्को बेला तथा कुनै अप्ठ्यारो परिस्थितिमा पत्रपत्रिका नै सबैको हातहातमा पुग्न सक्छ । पत्रपत्रिकाले सबैको विचारलाई समेट्न सक्छ । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भुकम्प र त्यस पछिको पराकम्पका कारण कतिपय स्थानमा विद्युत विच्छेदन हुँदा डिजिटल तथा विद्युतिय संचारमाध्यमप्रतिको पहुँचबाट नागरिक विमूख भए तर पत्रपत्रिकाहरुले भने आफ्नो समाचार सामाग्री दुरदराजसम्म पु¥याए । मुलुकहरु विच भएका सन्धि, सम्झौताका समाचारको अभिलेखहरु पत्रपत्रिकासँग नै संग्रहित छन् । चाहेको बखत विस्तृत समाचारहरु निहाल्न सकिन्छ । खोज अनुसन्धानकर्ताका लागि पनि अखबारको समाचारनै बढि उपयोगि छ । देशलाई दुखेको बेला पत्रपत्रिका चाहिन्छ, देशले जितेकोबेला पत्रपत्रिकामा हेडलाइन चाहिन्छ तर वर्तमानमा पाठकको साथ किन पाएनन् भन्ने एउटा प्रश्न उठ्छ । समाजले पत्रपत्रिका खोजेको छ, पत्रपत्रिकाले समाज र व्यक्तिलाई खोजेको छ ।

पत्रपत्रिकाको साँघुरिदै गएको बजारलाई विस्तार गर्न समयमा झन् नेपाल सरकारले निजी क्षेत्रको पत्रपत्रिकामाथि झन् कठिन परिस्थिति निर्माण गरेको आभाष गराएको छ । सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरुपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरुको प्रवद्र्धन गर्नका लागि सरकारी विज्ञापन, सूचना तथा सन्देशहरु सरकारी सञ्चार माध्यमहरुबाट मात्रै गर्ने निर्णय गरेको छ । यो निर्णयले निजी क्षेत्रका सञ्चार माध्यमहरु धरासायी पर्ने देखिएको छ । पत्रपत्रिकालाई श्रमजीवी पत्रकारको हकहितको संरक्षण गर्दै पत्रिकाको भावि कार्ययोजना तय गर्नु पर्ने देखिन्छ । सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चार माध्यमलाई रोक लगाउदा निजी सञ्चार माध्यमको सञ्चालनमा बाधा पुग्ने र घाटा सहेर समाचार पस्कनु पर्ने बाध्यता सृजना हुने देखिन्छ ।

निजी पत्रपत्रिकाहरुले प्रविधिको परिवर्तनसँग जुध्न प्रतिस्पर्धी र गतिशिलतामा ध्यान जानु जरुरी छ । हुन त पत्रपत्रिकाले समयसापेक्ष आफूलाई परिमार्जन नगरेका भने छैनन् । बजारमा देखिने छापा पत्रपत्रिकाहरुले आफ्नो प्रत्येक अंक डिजिटल माध्यममा वेभसाइट तथा सामाजिक सञ्जालमा राख्ने गरेका छन् । पत्रपत्रिकाप्रति लगाव राख्ने पाठकवर्गले इन्टरनेटमा राखिएका प्रत्येक अंक, समाचार सामाग्री निशुल्क अध्ययन गर्न पाउछन् । तर यथार्थ के छ भने यस्ता विश्वसनिय पत्रपत्रिकाको सामाग्रीप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले ध्यान कम जान्छ । क्षणिकरुपमा भ्यिुज बटुलि चर्चा कमाउन तल्लिन अनाधिकृत अनलाइन पेजहरुले स्वच्छ पत्रकारितालाई धमिलो बनाइ रहेका छन् । पत्रपकारिताको मूल्य, मान्यता तथा आचारसंहितालाई पन्छाउदै समाजमा पितपत्रकारिता बढ्दै छ । अहिलेको वर्तमान परिस्थितिमा पत्रपत्रिकाका सामाग्रीप्रति पाठकको रुचि भएको तर पत्रिकाको कागजप्रति आकर्षण नभएको अवस्था छ । अर्थात् पाठकवर्गले आफ्नै हातमा भएको मोबाइल डिभाइसबाट निशुल्करुपमा अध्ययन गर्न रुचाउछन् ।

पत्रपत्रिकाको भविष्य दिगो, टिकाउ र प्रभावकारी बनाउन पाठकको मागलाई सम्बोधन गरी आधिकारिक पाठकको मन जित्नु आवश्यक हुन्छ । बजारमा च्याउसरी उम्रेका अनलाइन मिडियासँग प्रतिस्पर्धा गर्नु अर्को चुनौती थपिएको छ । पत्रकार आचारसंहिता पालना गर्नु, श्रमजीवि पत्रकारको हक पुरा गर्नु पर्ने दायित्व पनि पत्रपत्रिकालाई नै छ । त्यसैले पत्रपत्रिकाको व्यवसायिक क्षमता अभिवृद्धि गर्नु अनिवार्य छ । पत्रपत्रिकाको बजार विश्लेषण गर्ने, पाठक खोज्ने, पत्रपत्रिकाका छापिने सामाग्रीको अनुगमन, निरिक्षण र मूल्याङ्कन गर्ने काम सम्बन्धित पक्षकै हो । यस क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई निराकरण गर्दै स्वच्छ, स्वतन्त्र, सक्षम पत्रकारिताको प्रवद्र्धन गर्नु बढि प्रभावकारी हुन्छ । पत्रपत्रिकाको अभिलेख राख्न पत्रपत्रिका वितरण सम्परीक्षणलाई व्यवहारिक बनाउदै लैजानु पर्दछ । पत्रपत्रिकालाई दुरदराजका जनतामा पहुँच पु¥याउने र नविनतम प्रविधिको अंगिकार गर्दै खोज तथा अनुसन्धानमुलक समाचार प्रकाशन तथा वितरण गर्नु पर्दछ । अहिले नेपाली पत्रकारितामा खोजमूलक समाचार पाउन मुश्किल छ । सामाजिक सञ्जालमा जसले समाचार राख्यो त्यसैलाई मोडेर, हुवहु वा बढाएर समाचार बनाउने प्रवृत्ति छ । समाचारमा ताजापन र पृथकपन भेटिदैन । एउटै समाचार धेरैचोटी दोहोरिने तर बास्तविक समाचार भने ओझेलमा परेको स्थिति छ । यि प्रवृत्ति पत्रकारिता जगतमा रहिरहे नेपाली जनताले यथार्थ विश्वसनीय र बास्तविक समाचार ग्रहण गर्नबाट बञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ।

आजसम्म नेपाली संचारमाध्यमहरुले जे–जति विश्वसनियता आर्जन गरेका छन् त्यसको आधारशिला नै पत्रपत्रिका हुन् । नेपाली पत्रपत्रिकाको उपलब्धिलाई संस्थागत गर्नु आजको अनिवार्य सर्त हो । त्यसमा पनि पत्रपत्रिकाको अस्तित्व रक्षा गर्नु प्राथमिक विषय बनेको छ । पत्रपत्रिकाको बजार हिस्सा बढाउन सञ्चारविज्ञ, सरोकारवाला, नागरिक समाज तथा अन्य संचारमाध्यमहरुसँगको छलफल, सहकार्य गर्नु आवश्यक छ । पाठक तथा विज्ञापनदाताको खोजी गर्ने, सल्लाह सुझाव बटुल्ने, समाजलाई आवश्यक पर्ने गहकिला विषयवस्तुको उठान गर्ने, सबै वर्गको विचारलाई स्थान दिने हो भने पत्रपत्रिकाको बजार फष्टाउन सक्छ । लोककल्याण्कारी विज्ञापन र जनचेतनामूलक प्रचार सामग्री उपलब्ध गराउने कार्यलाई निष्पक्ष, पारदर्शी व्यवस्थित गरी निजीको पत्रपत्रिकाको संरक्षण गर्ने नीति सरकारले ल्याउने हो भने पत्रपत्रिका अस्तित्वमा रहने प्रष्ट छ ।

पत्रपत्रिका समाज परिवर्तनका बाहक हुन् । समाजमा सचेतना अभिवृद्धि गर्ने, राज्यलाई खवरदारी गर्ने, सहि सूचना प्रवाह गर्ने , विचार संम्प्रेषण गर्ने प्रमुख दायित्व बोकेको संयन्त्र नै पत्रपत्रिका नै हुन् । आम् सञ्चार माध्यमलाई स्वतन्त्र, मर्यादित र जिम्मेवार बनाई विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चारको हकलाई थप प्रभावकारी बनाउने विषयमा पत्रपत्रिकाको भूमिका महत्वपूर्ण रहन्छ । तसर्थ कानुनी, इतिहास, राजनीतिक र प्रशासनिक मौलिक ज्ञान सहित परम्परागत पत्रिकाको स्तरोन्नती तथा व्यवसायीकरण गरी पत्रपत्रिका प्रकाशनमा प्रोत्साहन गर्नुपर्दछ । समाजको ऐनाको रुपमा रहेका पत्रपत्रिकाको भविष्य जोगाइ राख्नु हामी सबैको दायित्व हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->