पोखरा/यू–१६ छात्र/छात्रा जुनियर ह्यान्डबल प्रतियोगिताअन्तर्गत छात्रतर्फ गुरुकुल विद्यासदन र छात्रातर्फ गण्डकी बोर्डिङ स्कूल विजेता बनेका छन् ।
फाइनल खेलमा गुरुकुलले पोखरा एकेडेमीलाई १२–१० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पोखरा लर्नस तेस्रो स्थान हासिल ग¥यो ।
त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल आवासीय मावि ‘ए’ टिमले प्रगति माध्यमिक विद्यालयलाई ३–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो । तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी बोर्डिङ ‘बी’ टिमले पोखरा एकेडेमीलाई ७–३ गोल अन्तरले हरायो ।
प्रतियोगिताका विजेता टोलीले समान २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता टोलीले १५ हजार तथा तेस्रो स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ छात्रमा गुरुकुलका दिव्य गुरुङ सर्वाधिक गोलकर्ता घोषित भए । छात्रातर्फ गण्डकी बोर्डिङ स्कुलकी सुस्मिता कुमारी जैसी सर्वाधिक गोलकर्ता बनिन् ।
उत्कृष्ट गोलरक्षकको उपाधि छात्रतर्फ पोखरा एकेडेमीका अनिक परियार र छात्रातर्फ गुरुकुलकी रबिना चेपाङ ले प्राप्त गरे । उत्कृष्ट खेलाडी छात्रतर्फ प्रगति माध्यमिक विद्यालयकी दिप्ती बानियाँ र पोखरा एकेडेमीका अशेर कुमाल घोषित भए ।
व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्ताले जनही ३ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजनामा, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना भएको हो ।
दुई जुनियर प्रशिक्षक सम्मानित
गण्डकी प्रदेश ह्यान्डबल संघले प्रतियोगिताको समापन अवसरमा जुनियर ह्यान्डबल प्रशिक्षकद्वय विशाल बस्नेत र दिनेश श्रेष्ठ लाई सम्मान गरेको छ ।
सन् २०२५ मा भारतमा सम्पन्न तथा सन् २०२६ मा बंगलादेशमा आयोजना भएको आईएचएफ ट्रफी प्रतियोगितामा यू–१८ पुरुष राष्ट्रिय टोलीलाई कांस्य पदक जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै दुवै प्रशिक्षकलाई सम्मान गरिएको हो ।
उनीहरूलाई गण्डकी प्रदेश सरकारका मन्त्री गोविन्दबहादुर नेपाली, राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।असार २६ गतेबाट सञ्चालन भएको प्रतियोगिता छात्रातर्फ ९ र छात्रतर्फ १३ गरी २२ टिमको सहभागिता रहेको थियो ।





