
बागलुङ/तमानखोला गाउँपालिकाको आधारभूत अस्पतालमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । बोङगादोभानस्थित आधारभूत अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर आरोग्य केन्द्र चलाइएको हो ।
चालु वर्षको बजेटमा गाउँपालिका र संघीय सरकारको साझेदारीमा झण्डै ७ लाख रुपैयाँमा सामाग्री तथा उपकरण खरिद गरिएको थियो । पालिकाले एक जना कर्मचारीको व्यवस्थापन गरेपछि सेवा संचालनमा आएको अध्यक्ष जोकलाल बुढाले बताए । सेवा संचालन शुरु गर्दा अध्यक्ष आफैले सेवा लिएका थिए ।
यहाँ ढाड तथा कम्मर दुखेको, नसा च्यापिएको जस्ता बिरामीलाई थेरापी सेवा दिइन्छ । आर्युेवेद सम्बन्धी उपचार, स्टिम बाथ सेवा समेत संचालन गरिएको छ । यो सेवाले सो सम्बन्धी समस्या भएकाहरुलाई सहज उपचार गर्न पाइएको स्थानीय राजेन्द्र पुनले बताए ।
पछिल्लो समय एलोपेथिकसँगै आर्युेवेदीक उपचार खोज्नेहरु बढेका छन् । त्यस बाहेक नसा सम्बन्धी रोगका बिरामी ग्रामीण क्षेत्रमा बढेकोले आरोव्य केन्द्रमार्फत थेरापीको सेवा थपिएको हो । गाउँपालिकाले स्वस्थ्य नागरिक बनाउने अभियान नै चलाएको छ । साता आठ वर्ष अघिसम्म तमानखोलामा स्वास्थ्य समस्या बढी थियो । अहिले भने सबै वडामा बर्थिङ सेन्टर, बस्ती तहमा सामुदायिक स्वास्थ्य एकाई लगायतको सेवा संचालनमा छ ।
वडा नं. ६ को भित्रीवन, वडा नं. ५ को ठास्पुरी र वडा नं. ४ को लामेलामा स्वास्थ्य एकाई स्थापनापछि सेवा प्रवाह गुणस्तरीय भएको स्वास्थ्य शाखाका प्रमुख तिलक छन्त्यालले बताए । त्यस बाहेक आधारभूत अस्पतालको रुपमा बोङगादोभान स्वास्थ्य चौकीलाई विकास गरिएकोले अन्य सेवा पनि बिस्तार भएको उनको भनाइ छ ।




